Comments Add Comment

‘प्रचण्डको व्यवस्थापन भइसक्यो, अब प्रधानमन्त्रीलाई साथ दिनुपर्छ’

प्रचण्डले भनेको ५०/५० बटमलाइन होइन, समानताको सिद्धान्त हो


१६ चैत, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको क्याबिनेटमा गृहमन्त्री रहेकै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताको प्रस्ताव लिएर जाने नेता हुन् जनार्दन शर्मा । जतिबेला प्रचण्ड र केपी ओली एक अर्काप्रति चरम अविश्वास र आरोप प्रत्यारोपको अवस्थाबाट गुज्रिरहेका थिए, त्यहिबेला एकताको सूत्रधार बन्ने दुस्साहस गरेका थिए एमालेका उपमहासचिव बिष्णु पौडेल र माओवादी नेता शर्माले ।

असम्भव ठानिने एमाले र माओवादीबीच चुनाव तालमेलमात्र होइन, पार्टी एकीकरण नै निष्कर्षमा पुग्न लागेको छ । तर, विद्यार्थीको गोप्य भेलामा प्रचण्डले एमालेसँग ५०/५० को समान हैसियतमा मात्र एकीकरण हुने भनेर दिएको अभिव्यक्तिले थुप्रै संशय पैदा भएको छ ।

यसबारे कुराकानी गर्न जावलाखेलस्थित निवासमा पुग्दा जनार्दन शर्मा कार्यकर्ता र सर्वसाधारणले घेरिएका थिए ।

एमाले माओवादी एकताको सांगठानिक प्रस्ताव र अन्तरिम विधान बनाउने काममा संलग्न रहेका शर्माले अब पार्टी एकता कुनै पनि बहानामा नरोकिने र वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसकै दिन एक हुने ठोकुवा गरे । एमाले र माओवादीबीच चुनावमा ६०/४० को भागबण्डा भए पनि संगठन एकीकरणमा प्रतिशत र अंक नतोकिने उनको दावी छ ।

शर्माले भने, ‘अध्यक्षले भनेको कुरा हाम्रो बटमलाइन होइन तर, एकता समानतामा आधारित हुन्छ ।’

प्रस्तुत छ, शर्मासँग मात्रिका पौडेल र विनोद घिमिरेले गरेको कुराकानीः

एमाले माओवादी एकीकरणमा फेरि आशंका थपिएका हुन् ?

पार्टी एकताको लागि बनेका दुईवटा कार्यदलले आफ्नो काम गरिसकेका छन् । संयोजन समितिमा हामी आ-आफ्ना प्रस्ताव बुझाउने तयारीमा बसेका छौं । एक दुई दिनमा संयोजन समिति बैठक बस्छ र त्यसमा थप छलफल हुन्छ । हामीले तयार पारेको प्रस्तावमा संयोजन समितिले आवश्यक ठानेमा थपघट गर्न सक्छ । तर, हामीले सकभर धेरै तलमाथि नहोस् भनेर निकै मेहनत गरेका छौं ।

निर्वाचन पूर्व एकसाथ चुनावमा जाने, चुनावी तालमेलमात्र होइन कि पार्टी एकता गर्ने निर्णय गरेर गएका हौं । हामीले आम जनता, मतदाता, कार्यकर्ता र नेतासम्म एकैसाथ लग्यौं । त्यसमा कसैको बिरोध र असहमति रहेन । निर्वाचनको एउटा अभियानको क्रममा पार्टी एकताको सन्दर्भमा असहमति थियो भने पनि सहमति नै व्यक्त भयो । तेस्रो कुरा त्यसले परिणाम प्राप्त गरेको छ र त्यो परिणामका आधारमा हामीले सरकार गठन गरेका छौं ।

अब कतै पनि पार्टी एकता नहुनुपर्ने, ठूलै अड्चन आउनुपर्ने र पार्टी एकता पछि हट्ने अवस्था म कुनै कारण र तर्क देख्दिनँ ।

तर प्रचण्डले ५०/५० समान हैसियतमा मात्र एकीकरण हुने भनेपछि तरंग त ल्यायो नि ?

नेपाली राजनीतिमा तरंग ल्याइएन भने मोनोटोनस जस्तो हुन्छ क्या । तपाईहरु पनि मान्नु हुन्न नि । विद्यार्थीको कार्यक्रममा अध्यक्ष जानुभएको थियो । कसरी पार्टी एकता हुन्छ भन्ने जिज्ञासा आएपछि समानताको आधारमा एकता हुन्छ भन्ने स्पिरिटको आधारमा उहाँले भन्नुभएको हो । त्यहि एउटा तरंग बन्यो । अहिले सबैको ध्यान पार्टी एकतामा केन्द्रित छ भन्ने कुरा यसले पुष्टि गरेको छ ।

उहाँले भनेको कुरा पार्टी एकताको लागि हो । उहाँको कुराले एकतामा तलमाथि पार्ने कुरा छैन । प्रचण्डले पार्टी एकता विरोधी कुरा उहाँले बोलेको होइन । त्यसको सैद्धान्तिक पाटो भनेको समानताको आधारमा दुई पार्टीको एकता हुन्छ । हामी एक अर्कामा बिलय हुने होइन, दुई मिलेर नेपाल कम्युनिस्ट पार्टी बन्ने हो ।

५०/५० को कुरा बटमलाइन हो कि होइन ?

पार्टी कमिटीहरुको एकता समानताको आधारमा जान्छ, नम्बर र प्रतिशतमा हुँदैन । अर्थात ५०/५० पनि होइन ६०/४० पनि होइन । बराबरी भनेर बुझाउने क्रममा समानताको आधारमा एकता गर्ने भनिएको हो ।

अर्को कुरा, एकतामा बटमलाइन राखेर हुँदैन र अध्यक्षले पनि बटमलाइन भन्नुभएको छैन । अध्यक्षले समानताको आधार भनेर संख्या भन्नु भएको होइन, सैद्धान्तिक आधार भन्नुभएको हो ।

कम्युनिष्टहरुका कतिपय भाषा सर्वसाधारणले बुझ्नै गाह्रो हुन्छ, आम मान्छेले बुझ्ने भाषामा बताइदिनुस्, संगठनको एकीकरण कुन आधारमा हुन्छ ?

प्रतिशतमा बाँडफाँट हुँदैन । दुईटा पार्टीको संगठन र संरचना छन् । हाम्रा विचार र नीति छन् । त्यो भन्दा ठूलो हाम्रो लक्ष्य छ । हाम्रो लक्ष्य समान छ भने त्यो लक्ष्य र सिद्धान्त प्रतिशतमा बाँडिन्छ र ? समान लक्ष्य राखेर हिँडेपछि संगठन मिलाउँदा व्यवहारिक पक्ष, मनोविज्ञान, समानता, जनमत सबैलाई हेरिन्छ । एउटाले जितेको र अर्कोले हारेजस्तो हुँदैन । एउटाले जितेर अर्कोले हारेको जस्तो बनाइयो भने त्यहाँ एकताको स्पिरिट व्यक्त हुँदैन ।

चुनावमा जाने बेला प्रतिशतमा गइयो । अब समानताको आधारमा सबै पक्ष मिलाएर समझदारीका आधारमा हुन्छ ।

यो त आदर्शको कुरा भयो तर, भोलि २९९ सदस्यीय केन्द्रीय कमिटीमा एमालेका कति, माओवादीका कति भनेर त बाँड्नुपर्ला नि ?

यसमा प्रतिशत हुँदैन, समानता हुन्छ । फेरि तपाई २९९ मा किन आउनुहुन्छ । मापदण्ड बन्छ । कमिटीमा आउने बेला तोकिएको संख्या आउने हो । त्यो भन्दा बढी आउँदैन । २९९ अन्तिम पनि होइन । पार्टी एकता संयोजन समितिले परिमार्जन गर्न पनि सक्छ । त्यहाँ संख्या त छ तर, संख्याभन्दा पहिले सहमति प्रधान हुन्छ । सहमति भएपछि संख्या कतिकति गर्ने भन्ने मिल्छ । ठ्याक्कै यति प्रतिशत भनेर हुँदैन ।

ल यो कुरा मानियो, अनि चुनाव चिन्ह सूर्य राख्न माओवादी असहमत भएको र विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्न एमाले असहमत भएको त सत्य हो नि, यो कसरी मिलाउनुहुन्छ ?

हामी असहमत र सहमत दुवै भएका छैनौं । चुनाव चिन्हबार माथि नेताहरुले निर्णय गर्नुहुन्छ भन्यौं, त्यसमा डिबेट गरेनौं । प्रस्तावनामा हिजोको सन्दर्भमा जनयुद्ध जनआन्दोलन आदि इत्यादी हुँदै संघीय गणतन्त्र समावेशी समानुपातिक संविधान बनायौं भनेर लेख्यौं । जनयुद्ध आज गर्ने भनेको होइन । हिजोको सन्दर्भमा इतहिासमा भएको एउटा परिघटना हो भनेर विना विवाद लेखेका छौं । कहाँनेर कसरी राख्ने भन्ने कुरा त मिलाउनुस् भनेका छौं । हिजो जनयुद्ध भएको त हो भन्नेमा विवादको विषय होइन । अलिअलि तपाईहरुजस्तो साथीहरुलाई समाचार बनाउन मन लाग्छ, त्यहि भएको मात्र हो ।

तपाई पार्टी एकता प्रक्रियाको शुरुदेखि नै संलग्न हुनुहुन्छ, अब सबैभन्दा पेचिलो कुन कुरा बन्ने देख्नुहुन्छ ?

सैद्धान्तिक कुरा नै पेचिलो हुने हो । सैद्धान्तिक कुरामा सहमति भएपछि अरु प्राविधिक कुरामा आएर पेचिलो बनाइयो भने त्यो असैद्धान्तिक हुन्छ । मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद, पार्टीको नाम नेकपा हुन्छ भनिसक्यौं । जबज लगायतका विषय पछि टुंगो लगाउने भनिसक्यौं । समाजवादलाई निर्दिष्ट लक्ष्य राख्ने भनिसक्यौं । संविधानले भनेका कुरा मान्ने भनेकै छौं ।

हाम्रोमा भनिन्छ ४० नम्बर धारा लेनिनले भन्नुभएको छ । त्यो भनेको संगठनमा को बस्ने को नबस्ने भन्ने हो । पार्टी एकताको सन्दर्भमा हामीले आआफ्ना कुरा त्यागेर नयाँ ठाउँमा आउँदैछौं । आआफ्ना लिगेसी त्यागेर नयाँ पार्टी बनाउने भनेकाले त्यागको स्पिरिट मान्नुपर्छ । सबैको प्रतिनिधित्व पनि हुनुपर्‍यो । नेतृत्वको टिम बन्छ, कमिटीविहीन हुँदैनौं । केन्द्रीय कमिटी मात्र होइन, प्रदेश कमिटी अझ बलियो छ ।

तर, मान्छेहरुलाई अझै पनि आशंका छ कि प्रचण्डको व्यवस्थापनको सुनिश्चितता नभएसम्म अझै पनि एकीकरण नहुन सक्छ, अहिलेको प्रचण्डको अभिव्यक्ति त्यसको संकेत हो ?

प्रचण्ड आफंै नयाँ पार्टीको एउटा अध्यक्ष हुने निर्णय भइसकेको छ । उहाँको व्यवस्थापन भइसकेको छ ।  एउटा अध्यक्ष केपी ओली र अर्को अध्यक्ष प्रचण्ड हुने त सहमति भइसक्यो । अर्को कुरा प्रचण्डको मात्र व्यवस्थापनले पार्टी एकता हुने होइन । यहाँ अरु नेताहरुको व्यवस्थापन पनि हुन्छ । कार्यकर्ताको पनि व्यवस्थापनको कुरा छ । केपी ओली आफैं अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्छ । प्रचण्ड अर्को अध्यक्ष हुनुहुन्छ ।

(बीचमै) भावी प्रधानमन्त्री पनि..?

भावी प्रधानमन्त्री त भोलि भावी कार्यकारी राष्ट्रपति भने हुन्छ । उहाँहरु नै हाम्रो मुख्य नेता । उहाँहरुलाई हामीले मुख्य मानेका छौं । राष्ट्रपति प्रधानमन्त्री के बन्ने, उहाँहरुले चाहेको हुनुहन्छ । निर्णय गर्ने उहाँहरुले भोलि पनि । उहाँहरुले गर्ने निर्णयमा हामीले किन चिन्ता लिने ? हामीले सैद्धान्तिक र नीतिग कुरा मिलाइसक्यौं, संगठनको पनि मिल्छ ।

प्रचण्डले दुई वर्षभित्र हुने भनिएको महाधिवेशनबाट अध्यक्ष बन्ने कुराको सुनिश्चिता खोजेको हो कि ?

त्यो कुरा तपाई एउटा सञ्चारकर्मीको हिसाबले सोच्न सक्नुहुन्छ । यसमा तपाईहरुलाई स्वतन्त्रता छ । के गर्ने भन्ने कुरा पार्टीले निर्णय गर्छ क्या । पार्टीभन्दा ठूलो न प्रचण्ड, न केपी ओली । भोलि को अध्यक्ष हुन्छ भन्ने अहिले कल्पना गर्न सकिन्न ।

नेताहरुको बरियताक्रम चाहिँ के हुन्छ ?

उहाँहरुको बरियता क्रम आन्दोलनले जनताले निर्धारण गरिदिएको छ त । पार्टी बैठक बस्दा हामीले आलोपालो भनेका छौं । अध्यक्षता गर्ने अध्यक्ष पहिलो बरियतामा हुन्छ । अध्यक्षता नगर्ने अध्यक्ष दोस्रो नम्बरमा हुन्छ । बाँकी बरियता जनताले निर्धारण गरिदिएकै छन् । हामीले निर्धारण गर्नु पर्दैन ।

त्यसो भए पार्टी एकता कहिले हुन्छ ?

बैशाख ९ गते पार्टी एकता हुन्छ । हामी त्यो दिन पार्टी एकताको घोषणा गर्छौं तर फिक्स भइसकेको छैन । यो मेरो कुरा हो । यति ठूलो ऐतिहासिक काम हामी गर्दैछौं, यसको लागि त्यो भन्दा अर्को दिन छैन । इतिहासको एउटा ठूलो उथलपुथलबाट हामी आयौं । इतिहासको कडी फेरि जोड्ने दिन नेपाल कम्युनिस्ट स्थापना दिवसको दिन एकीकरण गर्ने सोच हाम्रो छ । एकता हुन्छ कि हुन्न भन्ने अब प्रश्न नै नगर्नु । वैशाख ९ गते हामी एकताको घोषणा गर्छौं ।

एकता गर्न र नगर्न अन्तर्राष्ट्रिय दबाव त आएकै होला होइन ?

केलाई दबाव मान्ने केलाई नमान्ने भन्ने हुन्छ । तपाईले गरेको प्रश्नलाई मैले दबाव मान्ने कि नमान्ने ? मुख्य कुरा हामीले के गर्दैछौं भन्ने हो । हामो एकता सबैलाई मन परेको होला त ? अहिले के-के रिपोर्ट आए नि त, ती रिपोर्ट सायद यहि एकताले गर्दा आएको होला । हाम्रो संविधानको ब्याख्या गर्ने अधिकार हामीलाई छ नि त । हामी भनेको जनतालाई मात्र अधिकार छ । पार्टी एकता नहोस भन्ने कामना पनि होला उनीहरुको । तर, नेपाली जनताको चाहनाले काम गर्छ । हाम्रो कुरा हामीले गर्ने हो, हामी गर्छौं ।

एकीकरण हुँदै गर्दा केही नेतालाई तपाईहरुले कारवाही गर्नुभयो, कति प्रतिशत हिस्सा एकीकरण बाहिर जाला ?

त्यस्तो छैन । सबैलाई यो कुरा मन पर्छ भन्ने पनि छैन । मुख्य कुरा के हो भने नेपालमा छरिएर रहेको दुई तिहाई भन्दा बढी वाम जनमतलाई एकत्रित गरेर नेपालको सामाजिक आर्थिक रुपान्तरण सहित राष्ट्र बलियो बनाउने अभियानमा हामी गएका हौं ।

यो कुरा बुझ्दै जाँदा बुझाउँदै जाँदा यो अभियानबाट बामपन्थी कम्युनिष्ट प्रगतिशिल चेत भएको कोही पनि अलग हुँदैन ।

तर विप्लवहरु झोला थापेर बसेका त छन् नि ?

ती बहसलाई पनि हामी समेटौंला । विप्लवजीहरुसँग पनि बहस गरौंला । कुरा बुझिसकेपछि सबै समेटिदै जानेछन् ।

प्रधानमन्त्रीले जे कुरा भन्नुभएको छ, उहाँको नेतृत्वमा हामी त्यसलाई लागू गर्न जस्तोसुकै कठिन परिश्रम गर्न तयार छौं । हामी सबैले प्रधानमन्त्री केपी ओलीलाई साथ दिनुपर्छ । जनतालाई पनि हामी आह्वान गरेर यो अभियानमा सामेल गर्नुपर्छ । ५ वर्ष यो सरकारले काम गर्नुपर्छ

मुख्य कुरा, अहिलेको सरकार बनेको छ, प्रधानमन्त्रीले जुन अडान र स्पिरिट राख्नुभएको छ, नेपालको इतिहासमा यो निर्वाचनपछि पहिलो पटक सम्बृद्धि, भ्रष्टाचारबिरुद्ध बहस भयो संसदमा । सबैले भन्न बाध्य भए, अब राष्ट्र सम्बृद्धिको बाटोमा जानुपर्छ, हामी तयार छौं । भ्रष्टाचारका विरुद्ध प्रधानमन्त्रीको अडानमा सबै सहमत भएका छन् । अब यो बहसको निरन्तरता जान्छ ।

बहसले मात्र हुँदैन, प्राक्टिसमा पनि जानुपर्छ । प्रधानमन्त्रीले जे कुरा भन्नुभएको छ, उहाँको नेतृत्वमा हामी त्यसलाई लागू गर्न जस्तोसुकै कठिन परिश्रम गर्न तयार छौं । हामी सबैले प्रधानमन्त्री केपी ओलीलाई साथ दिनुपर्छ । जनतालाई पनि हामी आह्वान गरेर यो अभियानमा सामेल गर्नुपर्छ । ५ वर्ष यो सरकारले काम गर्नुपर्छ ।

५ वर्षको बीचमा काँध फेरिने सम्भावना छ कि छैन ?

काँध फेरिने नफेरिने कुरा हावा लाग्छ कि लाग्दैन रुख ढल्छ कि ढल्दैन भन्ने कुरा जस्तो हो । ५ वर्ष यो सरकारले आफ्नो नीति र योजना लागू गर्छ । प्रतिपक्षले पनि सम्बृद्धिमा साथ दिन्छौं भनेको छ । अब राजनीतकि नेताहरुलाई भाषण गर्ने र काम नगर्ने छुट कति पनि छैन । भाषणको आधारमा नेता हुने समय सिद्धियो ।

हामी विप्लवको कुरा गर्दैथियौं, उनका गतिबिधिलाई अब कसरी डिल गर्नुहुन्छ, राज्यको नजरमा विप्लवको पार्टी के हो ?

राज्यको नजरमा विप्लव के हुन् राज्ययलाई सोध्नुस् । म गृहमन्त्री भएको बेला सोधेको भए जवाफ दिन्थेँ र दिएको पनि थिएँ । मेरो कुरा भन्नुहुन्छ भने विप्लवले राजनीतिक रुपमा एकीकृत जनक्रान्ति भन्नुभएको छ । मैले उहाँलाई तपाईले भनेको कुरा अधूरो छ भनेको छु । हामीसँग मिलेर मात्र त्यो पूरा हुन्छ । विप्लवजीसँग राजनीतिक रुपले व्यवहार गर्ने हो, उहाँसँग सहकार्य गर्ने र उहाँलाई पनि एकीकृत गरेर जाने हो । त्यो व्यवहार हुनेछ । उहाँहरुका गतिबिधिको बारेमा सरकारलाई थाहा होला । म राजनीतकि रुपमा त्यो कुरालाई समाधान गर्न चाहान्छु, सरकारले आफ्नो काम गर्छ ।

निकै मेहनत गरेर केपी प्रचण्ड मिलाउनुभयो, फेरि पार्टी एकतापछि ओली र प्रचण्डको अलग अलग गुट हुने होला होइन ?

हरेक व्यक्तिका आफ्ना क्षमता, सोच र दृष्टिकोण हुन्छन् । राजनीतिको परिभाषा मैले अचेल यसरी भनेको छु । राजनीति भनेको सामुहिक म्याराथन दौड हो । व्यक्तिले जित्ने म्याराथन होइन । हजारौं लाखौं मान्छे एकैसाथ दौडिरहेका हुन्छन् र कुन व्यक्ति अघि पुग्यो भन्ने अर्थ हुँदैन । सबैभन्दा पछिल्लो पंक्ति पुग्यो कि पुगेन भन्ने अर्थले त्यसको सफलता र असफलतालाई निर्धारण गर्छ । म एक्लै बलियो छु भनेर दौडिएर राजनीतिको खेलाडी बन्न सकिँदैन । पछिल्लो पंक्तिलाई ठीक ठाउँमा पुर्‍याउने दायित्व नेतृत्वमा हुन्छ ।

पार्टी एउटै भएपछि मुख्य इस्युमा एकता हुन्छ । समाज जस्तो छ, पार्टी पनि त्यस्तै हुने हो । तर, त्यसको समाधान हामी विधिले गर्छौं । अभिव्यक्तिको स्वतन्त्रता काम कारवाहीमा एकरुपता भन्ने हाम्रो पार्टी सञ्चालनको सिद्धान्त हो । कमिटी हुन्छ, गुट पनि होला तर, विधिले हल गरिन्छ । नेता पार्टी सदस्यद्धारा निर्देशित हुन्छ । पार्टी सदस्य सार्वभौम छन् । नेताहरु त्यसप्रति उत्तरदायी हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment