Comments Add Comment

पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

१६ चैत, काठमाडाैं । पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधन भएको पुष्टि गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै शर्माले भने, ‘उहाँकाे पार्थिव शरीरलार्इ नेपाल ल्याउने भन्ने बारे पार्टी र परिवारबीच कुराकानी भइरहेको छ ।’

उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए ।

मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो ।

उनको स्वास्थ्य स्थितिप्रति गम्भीर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।

को हुन् खुमबहादुर खड्का ?

दाङबाट राजनीति गरेका खड्का प्रस्ट बिचार र अडान राख्ने निडर र हठी स्वभावका थिए । त्यसैले उनी कांग्रेस राजनीतिमा केन्द्रदेखि तल्लो तहसम्म शक्तिशाली र लोकप्रिय बनिरहे ।

नेपालमा प्रजातन्त्र र लोकतन्त्र स्थापनामा सक्रिय भूमिका निर्वाह गरेका खड्काले लामो समय जेलमा र प्रवासमा जीवन व्यतित गरेका थिए । २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका वीपी कोइरालाको टोलीमा खुमबहादुर खड्का पनि थिए ।

खड्का कहिले कोइराला त कहिले देउवा पक्षमा लागेर शक्तिशाली लाभको पदमा रहिरहे । २०४८ सालमा गिरिजा प्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषदको सदस्यमा खुमबहादुर खड्का र शेरबहादुर देउवा पनि थिए ।

२०५२ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा पनि खुमबहादुर खड्का मन्त्री बने । धेरैपटक मन्त्री हुने व्यक्तिको सूचीमा पर्छन् उनी । ०५८ अघिका प्रायः हरेक सरकारमा उनले प्रभाव जमाइराखे । त्यसैले उनको पछिल्तिर कांग्रेस कार्यकर्ताको एउटा पंक्ति छ । पटकपटक गृहमन्त्री हुँदा उनले थुप्रै कार्यकर्ता र शुभचिन्तकलाई जागिर लगाइदिए ।

भनिन्छ, गृह प्रशासन र कर्मचारी प्रशासनमा अझै पनि खुमबहादुरको कुरा काट्न नसक्नेहरु छन् ।

कांग्रेस बिभाजन हुँदा खड्का शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा लागे । दुई कांग्रेस एक भएपछि उनी पुनः संस्थापन पक्षमा फर्किए । तर, दुई वर्षअघि भएको कांग्रेसको १३ औं महाधिवेशनमा खड्का देउवा प्यानलको प्रमुख योजनाकारका रुपमा उदाए । कांग्रेस नेताहरु भन्छन्- खुमबहादुरले साथ नदिएको भए शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुन सक्दैनथे ।

माओवादीको खरो आलोचना गर्दथे खड्का । त्यसैले उनी माओवादीको निशानामा परे । दाङ देउखुरीको सतबरीयास्थित उनको घरजग्गा माओवादीले कब्जा गरेपछि उनी सपरिवार ललितपुरको सानेपास्थित घरमा बस्न थालेका थिए ।

२०५९ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि पनि उनको लोकपि्रयता घटेन । २०६३ सालमा विशेषले सफाइदियो । खुमबहादुरविरुद्धको सो मुद्दा सर्वोच्चमा पुग्यो । सर्वोच्चले विशेष अदालतको फैसला त्रुटीपूर्ण रहेको ठहर गर्दै खड्कालाई डेढ बर्ष जेल सजायँ समेत सुनायो । उनी डिल्लीबजार कारागारबाट रिहा हुँदा उनका सयौं समर्थकहरुले विशाल र्‍याली नै निकालेका थिए ।

त्यसपछि कांग्रेस नेता खड्का न सरकारमा रहे, न पार्टीको शक्तिशाली पदमा । तर उनको ओज भने घटेन । मन्त्री चयन गर्दा होस् या चुनावमा टिकट वितरण गर्दा होस्, खुमबहादुरकै बोली बिक्थ्यो । जिल्ला अधिवेशनबाट पनि खुमबहादुर खड्का पक्षका नेताहरु चुनिन थाले । गृहजिल्ला दाङमा त उनको एकछत्र राज चल्यो । तर, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा खुमबहादुर दाङ क्षेत्रनम्बर १ बाट पराजित भए ।

खुमबहादुर नेपाललाई धर्मनिरपेक्ष घोषणाको विपक्षमा थिए । कांग्रेसले धर्म निरपेक्षतामा समर्थन जनाएकोमा उनी खुल्ला विरोध गर्दथे । पार्टी नेतृत्वले गलत निर्णय लिएकाले कांग्रेस कमजोर हुँदै गएको बताउने खुमबहादुरले हिन्दु राज्य पुनःस्थापनाको अभियानसमेत चलाए ।

तर, मिर्गौला प्रत्यारोपण गरेका खुमबहादुर उमेर ढल्किएसँगै गल्दै गएका थिए । स्वास्थ्यकै कारण उनी पार्टीका आन्तरिक र सार्वजनिक कार्यक्रमहरुमा कम देखिन थाले । र, पार्टीभित्रै संघर्ष गर्दागर्दै उनी विदा भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment