१६ चैत, काठमाडौं । स्कुल पढ्दाताका अन्जल निरौलालाई घरमा आएका आफन्तजन सोध्थे, ‘बाबु ठूलो भएपछि के बन्ने ? डाक्टर, इन्जिनियर या पाइलट ?’
धेरैजसो विद्यार्थीसँग हुने जवाफ या सपना अन्जलसँग भने थिएन । ती दिनहरुमा सपना देख्ने या भविश्यको योजना बुन्ने त उनको बानी नै थिएन ।
२०६६ सालमा बिदेशबाट पढाइ सकेर त्रिभुवन विमानस्थलमा ओर्लदासमेत उनीसँग अब के गर्ने भन्ने योजना थिएन ।
जब बत्ती गयो…
अन्जल नेपाल फर्केकै साँझ घरमा झ्याप्प बत्ती गयो । जर्मनीको ज्याकोब्स बिश्वबिद्यालयबाट इलेक्टि्रकल एण्ड कम्प्युटर इन्जिनियरिङ गरेका अन्जल कम्प्युटर चलाउन नपाउँदा निकै छटपटाए ।
स्वदेशमै केही नयाँ काम गर्ने सोच र जाँगर त उनमा थियो, तर योजना थिएन । उनी नयाँ योजनाका आइडिया खोज्दै गुगलमा केही सर्च गर्न खोज्थे, झयाप्पै बिजुलीको लाइन गइहाल्थ्यो । लोडसेडिङका कारण अन्जलले चाहेको बेलामा कम्प्युटर चलाउनै पाएनन् । र लोडसेडिङको समस्या तत्काल टर्ने कुनै छाँटकाट पनि थिएन ।
यस्तो अवस्थामा कसरी चलाउने त कम्प्युटर ? अन्जलले लोडसेडिङमा कम्प्युटर चलाउने अनेक उपाय खोज्न थाले । एकदिन उनको दिमागमा विचारको झिल्को बल्यो, सोलारबाट पो कम्प्युटर चलाउने कि ?
इलेक्टि्रकल एण्ड कम्प्युटर इन्जिनियरिङ पढेका कारण यसै विषयमा लेखिएका ब्लग, लेख र समाचारमा उनको चासो हुने नै भयो । यस्ता धेरै ब्लगरहरु थिए । तर उनलाई ब्लगर सन्दीप गिरी (घाम पावरका संस्थापक) बिशेष मन पर्थ्यो । सोलारका बारेमा गिरीले लेखेका ब्लगहरु पढेपछि उनलाई नभेटि बस्नै सकेनन् ।
एकदिन भेटेरै छाडे । दुवैको भेटघाट बाक्लिँदै गयो । एकअर्काका समस्या आदानप्रदान हुँदै गए । दुबैको समस्या साझा थियो, लोडसेडिङमा कसरी कम्प्युटर चलाउने ।
हिउँद लाग्दै गएपछि लोडसेडिङ बढ्दै जान्थ्यो ।
‘होटलमा चिया खाँदै बसेका थियौं, दाइ (सन्दीप) ले सोलारबाटै पो कम्प्युटर चलाउने कि भन्नुभयो, कम्प्युटर चलाउन मिल्ने सोलार खोज्दै गयौं, तर कहिँ पाइएन’, बिगत सम्झँदै अन्जल भन्छन् ।
घमाइलो आइडिया
कम्प्युटर चलाउन मिल्ने सोलार फेला नपारेपछि एक दिन सन्दिपले अन्जलसँग भने, ‘अब यसकै ब्यापार गर्ने हो कि ?’
स्वदेशमा नयाँ कामको आइडिया खोजिरहेका अन्जललाई सन्दिपको त्यो वाक्य प्रेरणास्रोत बन्यो । त्यो आइडिया नै अन्जललाई फोर्ब्सको सूचीमा पार्ने बलियो ‘सूत्र’ बन्न पुग्यो ।
फोर्ब्सले हालैमात्रै एसियाको दिगो भविष्यका लागि लम्किँदै गरेका तीस वर्ष मुनिका तीस युवामा अन्जलको नाम पनि सूचिकृत गरेको छ ।
‘फोर्ब्सको सूचीमा पर्छु होला भनेर कहिल्यै सोचेको थिइनँ । छनौटमा परेछु, खुशीसँगै अचम्मित छु,’ निरौला भन्छन्, ‘मैले अझै धेरै काम गर्नै बाँकी छ ।’
स्वदेशमा नयाँ कामको आइडिया खोजिरहेका अन्जललाई सन्दिपको त्यो आइडिया नै फोब्र्सको सूचीमा पार्ने बलियो ‘सूत्र’ बन्न पुग्यो ।
नेपालमा अहिले ३० प्रतिशत मानिस विद्युतको पहुँचभन्दा टाढा छन् । यस्ता जनतालाई विद्युतको पहुँचमा जोड्दै आय आर्जनतर्फ अग्रसर गराउन भूमिका निर्वाह गरेकै कारण अन्जल फोर्ब्सको सूचीमा परेका हुन् ।
अन्जल अहिले ‘घाम पावर नेपाल प्राली’का महाप्रवन्धक छन् । घाम पावरका बोर्ड अध्यक्ष तथा संस्थापक सन्दिप गिरी देश बाहिरै भएकाले यसको व्यवस्थापन उनकै काँधमा छ । अहिले ६५ जिल्लाका २ हजारभन्दा बढी स्थानमा सोलार जडान गरेको छ, घाम पावरले । २ हजार सोलार प्रोजेक्टबाट २.५ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।
सोलार ब्यापारीभन्दा के फरक ?
‘सोलार ब्यापारीले पैसा भएका ग्राहकको घरमा सोलार जोड्छन् । पैसा लिन्छन् जान्छन्,’ अन्जल भन्छन्, ‘हामी त्यसो गर्दैनौं । बरु, सोलार जडान गर्न नसक्नेहरुका लागि फाइनान्स जुटाइदिन्छौं ।’
सोलार जडान गर्न नसकेका कैयनलाई ऋण र अनुदानमा सोलार जडान गरिदिने गरेको छ, घामपावरले । उत्पादित बिजुली आय आर्जनका लागि कसरी उद्योगमा प्रयोग गर्न सकिन्छ भनेरसमेत पत्ता लगाउने गरेको छ ।
सोलार बत्ती बाल्ने मात्रै होइन जनताका लागि पैसा कमाउने साधन पनि बन्नुपर्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर काम गरिरहेको अन्जल बताउँछन् ।
‘सोलार जडानका लागि रकम पनि जुटाइदिन्छौं र उक्त बिजुली पैसा कमाउनका लागि केमा प्रयोग गर्ने भनेर आइडियासमेत दिन्छौं’, उनी भन्छन्, ‘विभिन्न उद्यमका लागि तालिमसमेत दिइरहेका छौं ।’
स्थानीयले विद्युत खपत गरेबापत घामपावरलाई पैसा तिर्दै जान्छन् । घाम पावरले भने यसको लगानीकर्तालाई पैसा तिर्छ । बैंकबाट लगानी जुटाएको हो भने घामपावरले बैंकहरुलाई पैसा तिर्दै जान्छ । र, ऋण सकिएपछि स्थानीयलाई नै आयोजना हस्तान्तरण गरिदिन्छ ।
‘लगानी गरेका ९५ प्रतिशत प्रोजेक्टबाट पैसा फिर्ता आउने गरेको छ, त्यसैले हामी उत्साहित छौ’, अन्जल भन्छन्, ‘अहिले तराई क्षेत्रमा सोलारबाट सिँचाइ गर्ने र कृषकको आम्दानी बढाउने योजनाका साथ काम गरिरहेका छौं ।’
अब ‘प्रोजेक्ट डेभलपर’
आयोजनाका लागि लगानीकर्ता खोज्नु अचेल घाम पावरको मुख्य काम हो ।
‘सुरुमा हामी सोलार डेभलपर थियौं, अहिले प्रोजेक्ट डेभलपर बनेका छौं’, अन्जल भन्छन्, ‘अहिले हामी प्रोजेक्ट बनाउन र त्यसमा लगानीकर्ता खोज्नमै ब्यस्त छौं ।’
खोटाङको च्यास्मीटार, कदुवा गाउँ र ओखलढुंगाको हर्कपुरमा अहिले घामपावरले जडान गरेको सोलारबाटै बत्ती बलेको छ । यी स्थानमा बत्ती मात्रै बलेको छैन, गाउँलेले सोलारबाट उत्पादित विद्युत व्यवसायमा पनि प्रयोग गरेका छन् । शहरमा भने कैयौं बैंक, अस्पताल र पम्पमा यसले विद्युत सोलार जडान गरेको छ ।
प्रतिक्रिया 4