Comments Add Comment

टुरमा ‘ट्रेकिङ’

अन्य आम दिनभन्दा निकै शान्तिको अनुभव भइरहेको थियो । त्यो दिन म कुनै कथा बुन्ने मुडमा थिइनँ । तर, पनि साँझ मैले उनीहरुलाई सम्झें ।

डेभिड र जुलियासँग म अपरान्ह चार बजे छुटि्टएँको थिएँ । त्यसअघि पशुपतिनाथबाट ठमेलसम्म आइपुग्दा हामी केही बोलेका थिएनौं । म बोल्दाबोल्दै थोकेकोले नबोलेको थिएँ । सायद उनीहरु सुन्दासुन्दै थाकेकोले नबोलेका थिए । त्यो दिन सुरुदेखि नै मेलै उनीहरुलाई नेपालको भुगोल, संस्कृति र जनजीवनका अनेक विविधताबारे विविध ढंगले व्याख्या गरेको थिएँ । म जति भन्दै जान्थें, उनीहरु अझ बढी सुन्न खोजे झैं गर्थे ।

यदि तपाईं बोल्दै हुनुहुन्छ र सुन्नेले निकै ध्यानपुर्वक सुनिरहेको छ भने तपाई आफुलाई रोक्नु हुन्न, बरु भएभरको उर्जा, जानकारी, ज्ञान र कला मिसाएर अझै बोलिरहनु हुन्छ । म त्यो दिन त्यस्तै गरिरहेको थिएँ । बालिरहेको थिएँ । तर, म बोलिरहेका थिएँ भन्नुको अर्थ उनीहरु पुरै चुपचाप थिए भन्ने पनि होइन । उनीहरुले मसँग उनीहरुको जीवनको छोटो चर्चा पनि गरेका थिए ।

‘हामी बाह्र बर्षदेखि सँगै बस्दै आएका छौं’, जुलियाले भनेकी थिई । त्यो मेरो लागि अप्रत्याशित उत्तर थियो । तर, मैले त्यसलाई सामान्य उत्तर ठाने झैं गरेको अभिनय गरें ।

‘हामीले एक अर्कालाई चालीस बर्षदेखि देखे-चिनेका हौं । त्यसको धेरै बर्षपछि मात्र सँगै बस्न थाल्यौं’, उमेरले सत्तरीमाथिको देखिने डेभिडले भनेको थियो । यद्यपि जुलियाको जीउडाल र हालचाल हेर्दा ऊ डेभिडभन्दा निकै जवान देखिन्थी । तर, उनीहरुको रसायनमा त्यसले कुनै असजिलो घोलेको मैले देखिनँ । हो, देख्नेेबित्तिकै थोरै असहज नलागेको होइन मलाई । तर, समझदारी र प्रेम मिसिएको सम्बन्धको त्यो रसायन एकै छिनमा निकै सरल, सहज र गहिरो लाग्यो ।

पशुपति पुग्दा एक छिन उनीहरु मौन रहे । त्यसपछि एक-अर्कामा निकै नजिकिएर गफिए । जुलिया डेभिडलाई भन्दै थिई, ‘कत्ति फरक Û हामीकहाँ हामी अन्त्येष्टीलाई लुकाउँछौं । अत्यन्त व्यक्तिगत ठान्छौं । यहाँ ठिक विपरित । होइन त डेभिड ?’

‘यस्’, डेभिड सहमतिको स्वर निकाल्दै थियो ।

उनीहरुले भावुक भएर त्यहाँ निकै बेर कुरा गरे । पशुपति त्यस्तो स्थान वा तस्विर हो, जहाँ मृत्यु र जीवन सँगै देख्न सकिन्छ, । त्यस्तो खास ठाउँमा नितान्त व्यक्तिगत क्षणको अनुभव गरुन् भनेर उनीहरुभन्दा केही पर अडिएँ म । जलिरहेका शवहरु बरु चल थिएँ । म अचल रहें । मन पनि एउटा स्थिरतामा पुगे जस्तो भयो मलाई । पशुपति पुग्दा प्रायः मलाई त्यस्तो हुने गर्छ । शवछेउ उभिएका धेरै-थोरै मान्छे,, यताउता गरिरहेका अनेक बाँदरहरु, आहारा खोजिरहेका परेवाहरु, अलमलिएका गाइहर्रु, बिना काममा हिंडिरहेका कुकुर र मन्दिरको एउटा भागमा बजिरहने संगीत आदिले त्यहाँको वातावरण जीवन्त र फराकिलो लाग्छ । त्यो वातावरणमा उनीहरु जीवनको कुन समय सम्झँदै थिए होला ?

उनीहरु सानो स्वरमा बोल्थे । मैले उनीहरुको कुरा बुझ्न निकै ध्यान दिएर सुन्नु पथ्र्यो । तर, मेरो स्वर चर्कै थियो । मैले बोलेपछि मेरो अभिव्यक्तिलाई उनीहरु प्रशंसा गर्थे । विषयवस्तुमाथि अझ स्पस्ट हुन केही तर निकै छोटा प्रश्न गर्न पनि छुटाउँदैन थिए । प्रशंसा गर्दै त्यसबारे थोरै थप प्रश्न गर्नु उनीहरुको आदत नै भइसकेको रहेछ । बिस्तारै हिंड्नु र प्रत्येक पाइलामा केही न केही खोज्नु र केही न केही देख्नु पनि उनीहरुको अर्को आदत रहेछ । खासमा यात्रा त्यसैको लागि त हो, जो उनीहरुले गरिरहेका थिए । म उनीहरुको यात्रा शैलीलाई अवलोकन मात्र गर्दै थिइनँ, त्यसबाट प्रभावित पनि भइरहेको थिएँ ।

त्यसरी नै उनीहरुले बौद्ध परिक्रमा गरे । त्यहाँबाट फर्किनुअघि मैले उनीहरुलाई सोधें, ‘कस्तो लाग्दैछ ?’

‘आश्चर्यजनक । जीवन्त’, उनीहरुले भने ।

त्यसअघि पाटन घुमिसकेपछि सोधेको थिएँ, ‘कस्तो लाग्यो ?’

त्यति बेला पनि उनीहरुले उही उत्तर दिएका थिए, ‘आश्चर्यजनक । जीवन्त ।’

त्यस्तै स्वयम्भु घुमिसकेपछि पनि उही प्रश्न सोधेको थिएँ, ‘कस्तो लाग्यो ?’

‘आश्चर्यजनक । जीवन्त’, उनीहरुको उत्तर उही थियो ।

उनीहरु दुवैको निष्कर्ष थियो, ‘जीवनको यस्तो चलायामान चित्र हामीकहाँ उहिल्यै मरिसक्यो । नेपाल यस्तो ठाउँ रहेछ जहाँ जीवन नामको चलचित्र हेर्न र महसुस गर्नु सकिन्छ ।’ जुलिया र डेभिडले फेरि एक छेउमा उभिएर सल्लाह गरे झैं गरे, ‘नेपालबाट विश्वले सिक्ने धेरै कुरा रहेछन् । मुख्य कुरा त धार्मिक मिलन र सहिष्णुता ।’ स्वयम्भुमा बौद्ध र हिन्दु मिलनका अनेक उदाहरण देखेपछि उनीहरुले त्यसो भनेका थिए ।

इङ्ल्यान्डबाट नेपाल आएको यो जोडी फेसबुक चलाउँदैनन् । तर, उनीहरु इमेल चलाउँछन् । उनीहरु दुवैको इमेल आइडी एउटै रहेछ । साझा आइडी हुनु उनीहरुबीच केही पनि गोप्य र व्यक्तिगत छैन भन्ने प्रमाण हो । त्यसरी एकाकार रहेछन् उनीहरु ।

उनीहरुले म विवाहित कि अविवाहित भनेर सोधे । ‘म विवाहित हुँ र मेरी दश बर्षकी छोरी छिन्’, मैले भनें तर उनीहरुको बच्चाबच्ची छ कि छैन भनेर सोधिनँ । यद्यपि मेरो मनमा उनीहरुको व्यक्तिगत जीवनबारे अनुमानहरु नआए होइनन् ।

के यिनीहरुको यो पहिलो बिहे थियो ?

के यिनीहरु आ-आफ्ना श्रीमान र श्रीमती छाडेर यसरी जोडिएका हुन् ?

के यिनीहरुका पुराना परिवारबाट सन्तान छन् ?

के यिनीहरुका पुराना परिवार थिए ?

यद्यपि यी प्रश्नहरुलाई मैले मनबाट मुखमा ल्याइनँ ।

स्वयम्भुमा जब मैले आफ्नो गाइडिङ कर्तव्य अनुसार त्यहाँको विवरण बताउँदै थिएँ, जुलिया र मलाई निकै नजिक्याएर डेभिड अल पर गयो । र, भटाभट जुलिया र मेरो संयुक्त फोटो खिच्यो । त्यसपछि जुलिया पनि के कम ? जहाँ पनि म केही बताउन लाग्थें, डेभिड र म दुवै अटाउने गरी फटाफट फोटो खिचिहाल्थी । मैले डेभिडलाई केही बताइरहेको अनेक फोटा जुलियाको क्यामरामा कैद भए ।

पशुपतिमा जब डेभिड त्यहाँ जीवन्त झैं लाग्ने गरी भइरहेको अन्त्येष्टीको भिडियो खिच्दै थियो, जुलियाले नखिच भनी । उसले पनि तत्काल क्यामरा बन्द गरिहाल्यो । क्यामरा बन्द गरे पनि आँखा र मनका आँखाले पशुपतिका अनेक दृश्यलाई उनीहरुले निकै बेर हेरे ।

डेभिड डेन्टल सर्जन रहेछ । जुलिया उसकी असिस्टेन्ट् । अर्थात् नर्स । उनीहरुले धेरै बर्ष त्यसरी सँगै काम गरेका रहेछन् । तर, अहिले दुवै रिटायर्ड् भइसकेछन् । ‘रिटार्यड हुनै लाग्दा मात्र तिमीहरुले जीवनको असाध्यै महत्वपूर्ण निणर्य लिएछौ’, मैले हाँस्दै भनें ।

उनीहरुले पनि हाँसेरै हो भने ।

‘अर्को एउटा राम्रो निणर्य पनि लिएछौ’, मैले थपें ।

‘के ?’, उनीहरु उत्सुक देखिए ।

‘नेपाल आउने निणर्य’, मैले हाँस्दै भनें ।

नेपाल आउनुको कारण हिमाल भएको बताउँदै ट्रेकिङमा खास रुचि रहेको उनीहरुले सुनाए । ‘तर, हामी यस पटक ट्रेकिङ जाँदै छैनौं । हामी केवल टुर गर्दैछौं’, जुलियाले भनी ।

‘नेपालमा टुर गर्दा पनि ट्रेकिङको अनुभव गर्न सकिन्छ । तिमीहरु भोलि पोखरा जाँदैछौ । र, पोखरा जाँदा सडकबाट जता हेर्दा पनि पहाडहरु देखिन्छन् । त्यसैले तिमीहरु पहाड छिचोल्दै नेपालको यात्रा गर्नेछौ । त्यसैले ट्रेकिङजस्तो भनेको’, मैले भनें ।

‘काठमान्डुमै पनि तिमी जता फर्किन्छौ, पहाड नै देख्छौ । सबैतिरबाट पहाडले घेरिएको काठमान्डु टुर गर्नु पनि आफैमा ट्रेकिङजस्तो हो । ट्रेकिङ भनेको पहाड चढ्नुमात्र होइन, पहाडलाई अनुभुत गर्नु पनि हो । तिमीहरु काठमान्डु टुरमा समेत पहाडलाई अनुभुत गर्न सक्छौ’, मैले थपें ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment