+
+

यात्रा संस्मरणः बुटवलदेखि गुजरातसम्म

सन्दीप पौडेल सन्दीप पौडेल
२०७४ चैत २० गते १०:५४

चैत ४ गतेसम्मको लामो फाइनल परीक्षाको थकाइलाई मेटाउन नपाउँदै ५ गते बाट नै गुजरातका लागि हाम्रो यात्रा करिव एक महिनाअगावै तय भएको थियो । लुम्विनी वाणिज्य क्याम्पस बुटवलले एमबीएका विद्यार्थीका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मस्थान गुजरातसम्मको शैक्षिक भ्रमणको आयोजना गरेको थियो ।

भ्रमणमा लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका एमबीए डाइरेक्टर प्रा. डा. ताराप्रसाद उपाध्याय र क्याम्पस प्रमुख प्रा. डा. ईश्वर गौतमसहित ३१ जना विद्यार्थीसहित जम्मा ३३ जनाको सहभागिता थियो ।

चैत ५ गते रातको १०ः२० बजेको रेलको टिकट कन्र्फम भएकाले हाम्रो टोलीले दिउँसोको करिव १ बजेतिर बुटवलबाट बसमा यात्रा आरम्भ गर्‍यो ।

भैरहवासम्म विद्यार्थीहरु उठाउँदै उठाउँदै जाँदा करिव २ः३० बजे हामी सुनौली पुग्यौं । सुनौलीबाट बस चढेर गोरखपुरतिरको यात्रा तय भयो ।

टोलीमा धेरैजसो विद्यार्थीहरु भारतको पहिलो पटक भ्रमण गर्ने थियौँ र कतिपय पहिलोपटक रेलको यात्रा गर्न पाउने भयौँ भनेर उत्साहित पनि थियाैं । बसमा रमाइलो गर्दै हामी करिव ७ बजेतिर गोरखपुर रेल्वे स्टेशनमा पुग्यौं ।

पहिलो रेल अनुभवलाई कुर्दै गर्दा केही साथीहरु इन्डियन सिम किन्न बाहिर निस्किए । सिम किनेर घरतिर खबर गरिसकेपछि खाना खान होटलतिर प्रस्थान गरियो । होटलमा काम गर्ने एकजना नेपाली नै रहेछन् । हामीलाई केही सहज महसुस भयो नेपाली भेट्न पाउँदा । खाना खाइसकेपछि हामी रेल्वे स्टेसन फर्कियौँ ।

स्टेसनमा आइपुगेपछि थाहा भयो टे्रन डिले छ भन्ने । कुर्ने बाहेक अरु उपाय पनि थिएन । पहिल्यैे रेलको यात्रा गरिसकेका केही साथीहरु आफ्नो अनुभव सुनाउँदै थिए । कोही झोलामा टाउको अड्याएर निदाउन थालिसकेका थिए । कोही सेल्फी खिचेर फेसबुकमा पोस्टाउँदै थिए । स्टेसनमा बसेर आधा केजीजति मच्छर मारिसक्दा पनि टे्रनको कुनै अत्तोपत्तो थिएन ।

६ गते साथी गौरवको बर्थडे परेको हुनाले १२ बजे मनाउने हामीले तयारी गरिरहेका थियौँ । लड्डुको केक बनाएर मनाएको बर्थडेले हाम्रो यात्रालाई अविस्मरणीय बनाउन अझै टेवा गर्‍यो । ४ घण्टा ढिलो गरेर करिव राति २ बजेतिर स्टेसनका एनाउन्स भयो रेल आउँदैछ भनेर । हामी अर्धनिन्द्राबाट उठेर हतारहतार झोलाहरु सम्हाल्न थाल्यौँ ।

पहिलो पटक रेल चढ्न लागेको कतै छुटिने पो हो कि भन्ने डरले निकै सर्तक थियौं हामी । सबैजना आफ्नो सिटमा बसिसकेपछि नयाँ अनुभवको एक नयाँ यात्रा सुरु भो । उत्सुकताले हामीहरुको निन्द्रा हराइसकेको थियो । अन्य यात्रुहरु निदाइरहेका थिए । हामी पनि आफ्नो आफ्नो सिटमा निदाउने सुर गर्दै थियौं । तर, सायद निन्द्रादेवी नेपालमा नै छुटिछन् ।

२०५३ कि.मि को गोरखपुरदेखि राजकोटसम्मको यात्रा निकै रोमाञ्चक बन्यो । दिनभरि यताउता गरिरहने चाय-चाय स्वरले दिक्क बनाएको त थियो, तर बेलाबेलामा साथीहरुवीच हुने गफले र नयाँ नयाँ ठाउँहरुको दृश्यले उर्जा थपिरहेकै थियो । रेल सुरुदेखि नै ढिला चलिरहेको थियो । हामी हाम्रो योजनाभन्दा ढिलो पुग्छौं भन्नेमा विश्वस्त थियौं । ६ र ७ गते हामी पुरै रेलको यात्रामा नै रमायौँ ।

७ गते साँझ ७ बजेतिर राजकोट पुगियो । राजकोटमा हामीलाई रिसिभ गर्न सौराष्ट्र युर्निभसिटीबाट बस आएको थियो । सौराष्ट्र युनिभर्सिटिले हामीलाई बस्ने तथा खाना खाने व्यवस्था गरेको थियो । कतिवेला ठूलाठूला पुलमुनिबाट त कतिवेला ठूलाठूला पुलमाथिबाट गुजरातको भौतिक विकासलाई नियाल्दै हामी युनिभर्सिटी पुग्याैं ।

युनिभर्सिटी पुगिसकेपछि फ्रेस भएर खाना खायौँ । खानाका परिकार पनि निकै नौला नौला थिए । गुजराती खानाको पहिलोपटक स्वाद लियाैं । ड्राई सिटीका रुपमा प्रसिद्ध गुजरातमा मदिरा निषेध गरिएको रहेछ । प्रायजसो गुजरातीहरु साकाहारी नै हुने रहेछन् । हामीलाई पनि साकाहारी भोजनले स्वागत गरे ।

खानामा अत्यधीक चिनीको प्रयोग गरिँदोरहेछ । दाल, तरकारी सवैमा चिनीको प्रयोगले गर्दा हामीलाई अलि के नमिले, के नमिलेजस्तो आभास भैरहेको थियो । तर पनि भोजनभन्दा भोक मीठो भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै पेटको देउतालाई गुलियो खाना अर्पित गरियो ।

खाना खाइसकेपछि सौराष्ट्र युनिभर्सिटीका कुलपति प्रतापसिङ चौहान सहित अन्य प्रोफेसरहरुको टोलीले हामीलाई युनिभर्सिटीको परिक्रमा गराउँदै सामान्य परिचय दिनुभयो । केही क्षणको भ्रमण पश्चात हामी युनिर्भसिटीको गेष्ट हाउसमा अर्को दिन गर्ने पे्रजेन्टेसनको तयारी सकाएर आराम गर्‍यौँ ।

अर्को दिन ८ गते विहानै उठिसकेपछि गुजराती ब्रेकफास्टसँगै हामीलाई १० बजेसम्म बजार घुम्ने अनुमति तारा सरबाट प्राप्त भयो । हामी केटाहरुको टोली बनाएर बजार घुम्न निस्कियौं । अटोमा चढेर एकछिन बजार घुमियो । बजार घुम्ने क्रममा केही गुजराती शब्दहरु पनि सिक्ने अवसर प्राप्त भयो ।

फर्किँदा एउटै अटोमा १२ जना केटाहरु बसेर आउँदाको क्षण अझै अविस्मणीय बन्यो । युनिभर्सिटी आएपछि फ्रेस भएर कन्फ्रनेन्स  हलतिर लाग्यौं । त्यहाँ सौराष्ट्र युनिभर्सिटी र लुम्विनी बाणिज्य क्याम्पसवीच एमओयुमा हस्ताक्षर गर्ने विशेष कार्यक्रम थियो । युनिभर्सिटीको तर्फबाट आयोजना भएको कार्यक्रममा हामीले पनि नयाँ कुरा सिक्ने अवसर प्राप्त गर्‍याैं ।

त्यहाँको स्वागत गर्ने तरिका र कार्यक्रम सञ्चालनको संरचना हामीले गर्दै आएको भन्दा केही भिन्न महसुस गर्‍यौँ । एमओयुको कार्यक्रम सकिएपछि हामीहरु त्यहाँका विद्यार्थीहरुसँग केहीबेर परिचयात्मक कार्यक्रम गर्‍यौँ । सो कार्यक्रमले त्यहाँको पठनपाठन शैली, परीक्षा प्रणाली, शैक्षिक गुणस्तर, भौतिक सुविधा, विषयगत क्रियाकलापहरु, रिसर्च पेपर तथा अन्य समग्र युनिर्भसिटिका बारेमा जान्ने मौका मिल्यो । त्यसपछि हामी खाना खान पुनः बास बसेको स्थानतिर लाग्याैं ।

उही गुलियो खाना खाएर हामी पुनः कन्फ्रेन्स हलमा गयौँ र हामीले तयार गरेको नेपाल परिचयात्मक पे्रजेन्टेसन प्रस्तुत गर्‍यौँ । अरविन्द पाठक, अन्जली पन्थी र गीता न्यौपानेले प्रस्तुत गरेको प्रेजेन्टेसनमा नेपाललाई विश्वमा परिचय दिने हिमाल, लुम्बिनी, पोखरा, बन्जी, र्‍याफ्टिङ, संस्कृति, पशुपतिनाथ जस्ता कुराहरु समावेश गरिएका थिए । साथै लुम्बिनी बाणिज्य क्यामपसका बारेमा सामान्य जानकारी पनि ।
कार्यक्रम सकेपछि हामी सौराष्ट्र युनिभर्सिटीबाट सम्बन्धन प्राप्त हरिवन्दना कलेज पुग्यौं । त्यहाँका शिक्षक तथा विद्यार्थीसँगको अन्तरक्रियापछि त्यसदिनका लागि औपचारिक कार्यक्रम सकिए ।

अब सपिङ गर्नका लागि सरले समय दिनुभयो । सबै साथीहरु राजकोट बजारमा किनमेलका लागि निस्कियौं । म, प्रविन र सुशीला भएर एकछिन बजार घुमिसकेपछि मोबाइल किन्न गयौँ । नेपालमा भन्दा निकै सस्तो बजार भएकाले साथीहरु हांैसिदै थिए । युनिर्भसिटी फर्किँदा ८ बजिसकेको थियो ।

आजको खाना भने अलि भिन्न थियो । खानामा चिनी कम थियो । खाना खाइसकेपछि सबै साथीहरु गफिँदै फोटो खिच्दै बस्दा १२ बजेको पत्तै भएनछ ।

९ गते विहानै उठेर ब्रेकफास्ट गरेपछि भारतीय उद्यमता विकास संस्थान ईडीआईआईको अवलोकन गर्न हामी अहमदावादतर्फ लाग्यांै । करिव ४ घण्टाको बसको यात्रापछि राजकोटबाट अहमदाबाद पुग्यौं । ईडीआईआईको अवलोकनपछि र त्यहाँका शिक्षकहरुको अन्तरक्रियाबाट हामीले धेरै कुरा सिक्ने अवसर पायाैं ।

भारतीय सरकारले शिक्षामा गरेको लगानी र त्यसबाट उत्पादित जनशक्तिले देशमा पुर्‍याउने योगदानका बारेमा पनि बुझ्ने मौका मिल्यो ।

ईडीआईआईले विशेषतः आइडिया भएका तर अवसर नपाएका व्यक्तिहरुलाई उचित अवसर सिर्जना गरी उद्यमी बन्न सहयोग गर्ने रहेछ ।

ईडीआईआईले हामीलाई त्यसदिनको खानाको व्यवस्था पनि गरेको थियो । निकै भव्य क्यान्टिनमा हामीलाई लगेर पूर्ण सत्कारका साथ खाना खाने व्यवस्था थियो । यहाँको खाना राजकोटको जस्तो गुलियो नभएर नेपाली पाराको थियो । सबै साथीहरुले खानाको प्रशंसा गरे । खाना खाएर त्यहाँबाट हामी अहमदावाद म्यानेजमेन्ट एशोसिएसन एएमएतिर लाग्यौं । त्यहाँ केहीबेरको अन्तरक्रिया तथा लाईव्रेरी अवलोकनपछि हामीले औपचारिक शैक्षिक कार्यक्रम सकायौं ।

त्यसपछि हामीहरु गुजरातको पश्चिमपट्टी रहेको हिन्दुहरुको पवित्र धार्मिक स्थल सोमनाथको दर्शन गर्न नाइटबसमा प्रस्थान गर्‍यौं ।

१० गते विहानै लगभग सवा ४ सय किलोमिटरको नाइटबसको यात्रापछि हामी सोमनाथको मन्दिर परिसरमा पुगिसकेका थियाैं । सोमनाथमा भगवान शिवको दर्शन गरिसकेपछि हामीले केहीक्षण समुन्द्रको अवलोकन गरेर ब्रेकफास्ट गर्‍यौँ । त्यसपछि हामी द्धारकामा भगवान कृष्णको मन्दिर दर्शनको लागि प्रस्थान गर्‍याैं । सोमनाथबाट समुन्द्रको तटैतट करिव २३५ किमीको यात्रापछि द्वारका पुग्याैं । बाटोमा पर्ने सुन्दर वीचहरुमा केही समय बस रोकेर समुन्द्रका मनमोहक दृश्यहरुलाई क्यामरामा र मष्तिस्कमा कैद गर्दै हामी अगाडि बढ्दै थियौं ।

समुन्द्रको तटमा ऊँटको सफारीले हाम्रो यात्रालाई धेरै रोमान्चित बनायो । समुन्द्रको तटमा आफ्नो नाम वालुवामा लेख्दै फोटो खिच्दै गर्ने साथीहरुको पनि उत्तिकै भिड थियो । बाटोमा पर्ने विभिन्न मन्दिरहरुको दर्शन गर्दै हामी साँझ ५ बजेतिर द्वारका पुग्यौं । होटल मिरामा बस्ने बन्दोबस्त भयो । हामीलाई बजार घुम्न राति ९ बजेसम्म समय थियो ।

द्वारकाधीश मन्दिरको परिसरमा कयौं अरु मन्दिरहरु पनि थिए । मनमा भक्तिभाव प्रकट गर्दै हामी हरेक मन्दिरमा भगवानको दर्शन गर्दै थियौं । ९ बजेतिर होटल फर्किसकेपछि गुजराति थालीले पेट भरेर निन्द्रादेवीको चरणमा अर्पित भयौँ ।

११ गते विहानै समुन्द्रको नुनिलो पानीले स्नान गरेर हामी फेरि मन्दिरहरु दर्शन गर्नतिर लाग्यौँ । होटलमा २ बजेभित्र चेकआउट गर्नुपर्ने भएकाले हामीलाई १ः३० बजेसम्म समय थियो । ७ बजेतिर मन्दिरको दर्शन गरेर समुन्द्र तटमा गयौँ । केही समय समुन्द्रमा प्रवीनको नयाँ मोवाइलबाट फोटोसेसन गरिसकेपछि होटलतिर लाग्याैं । होटलमा पुगेर खाना खाईवरि हामीहरु पुनः राजकोटको यात्रा गर्‍याैं । राजकोटमा साँझको खाना खाइसकेपछि रेलको प्रतिक्षामा बस्यौंँ । रातको २ बजेको टिकट थियो । रेल चढ्याैं । फर्किँदाको रेल यात्रा अझ रोमाञ्चित बन्यो ।

साथीहरुसँगको रमाईलो गफ अनि बेलाबेलामा तारा सर र ईश्वर सरले सुनाउने आफ्ना अनुभवहरुले यात्रालाई उपलब्धिमूलक बनाउँदै थियो ।

लक्ष्मण ‘राजा’ले बेलाबेलामा लगाउने ‘च्याप्प-चिरिप्प’ गफले माहोल तताउँदै थियो । धेरैजसो साथीहरु आफ्नो आफ्नो धुनमा रेलयात्राको मनोरञ्जन लिँदै थिए । हामी केही साथी तारा सर र ईश्वर सरसँग राजनैतिक, वैचारिक, ग्रामीण, समसामयिक आदि कुराहरु गर्दैगर्दै समय गुजार्दै थियौँ । १२ र १३ गते पुरै रेलको यात्रामा बित्यो । समयमै छुटेको भएता पनि हामीलाई ७ घण्टा ढिलो गरी रेलले १४ गते बिहान ३ः३० बजेतिर गोरखपुर रेल्वे स्टेसनमा पुर्‍यायो । गोरखपुरबाट बस चढेर नेपाल छिरियो ।

सुनौलीमा आइपुगेपछि दशगजाको वीचतिरसम्म गुड्ने झोला गुडाउँदै आएका हामी दशगजाको वीचबाट जुरुक्क उचालेर काँधमा राखी आफ्नै प्यारो देश प्रवेश गरियो । १० दिन पछि देश आएको हुँदा देशको माटोले हामीहरुलाई फूल लिएर स्वागत गरेझैँ लागिरहेको थियो । हिमालको देशबाट समुन्द्रसम्मको यात्रा अविस्मरणीय बन्यो ।

(पौडेल लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा एमबीए अध्ययनरत विद्यार्थी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?