Comments Add Comment

देशकै पहिलो सहकारी संस्थालाई संग्रहालय बनाउने तयारी

२० चैत, चितवन । स्थापनाको ६ दशक पार गरेको बखान सहकारी संस्थाले आज ६१ औं स्थापना दिवस मनाइरहँदा देशभरका ३६ हजारभन्दा बढी सहकारीहरुले ‘राष्ट्रिय सहकारी दिवस’ मनाइरहेका छन् ।

चितवन जिल्लाको शारदानगरमा नेपालकै पहिलो बखान बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएको थियो ।

२०१३ साल चैत २० गते स्थापना भएको यो सहकारी संस्थाको दर्ता नम्बर १ हो । नेपालका सहकारी संस्थाहरुको अभिभावक पनि हो यो ।

तत्कालिन कृषिमन्त्री बखानसिंह गुरूङको पहलमा स्थापना भएको बखान सहकारी संस्थाको स्थापना दिवसलाई सहकारी दिवसको रुपमा मनाउँदै आइएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा रहेको यो सहकारी भरतपुरको चौविसकोठीबाट करीव १५ किलोमिटर पश्चिम गएपछि शारदानगर टाउनबाट फेरि ५ सय मिटर उत्तरतिर पर्दछ ।

सहकारीमा अहिले ३६२ जना शेयर सदस्य छन् । बीचमा केही समय शेयर सदस्य कम रहेको भएपनि अहिले बढ्ने क्रममा रहेको अध्यक्ष मोहनसिंह लामाले जानकारी दिए । बखानलाई सहकारी अध्ययन केन्द्र पाठशालाको रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष लामा बताउँछन् ।

सहकारीमा ७३ जिल्लाका मानिसहरु भ्रमणका लागि आइसकेका छन् । सरकारी विदा र शनिवारको दिन सहकारी भ्रमण टोली बढी आउने गर्दछन् । महिनामा करीव १५ देखि २० समूह भ्रमणमा आउने गरेको व्यवस्थापक अर्जुन ढकालले जानकारी दिए । अवलोकन भ्रमणमा आउने प्रत्येक समूहसँग १५ सय रुपैयाँ लिने गरिएको छ ।

संस्थामा ५ जना कर्मचारी छन् । प्रतिशेयर मूल्य एक सय रुपैयाँ छ । ५१ कित्तासम्म अधिकतम शेयर दिने गरिएको ढकालले बताए । संस्थाको २७ लाख ७५ हजार ७ सय १० शेयर पूँजी छ भने बचत तर्फ गत महिनासम्म ५७ लाख ७८ हजार ७ सय रुपैयाँ रहेको छ । ६८ लाख ६९ हजार रुपैयाँ लगानी गरिएको छ ।

१२ प्रतिशत ब्याजमा कृषि उत्पादनका लागि मात्रै अधिकतम २ लाखसम्म लगानी गरिएको व्यवस्थापक ढकालले बताए । कृषि उत्पादनका लागि बाहेक अन्य प्रयोजनका लागि ऋण लगानी गरिएको छैन । संस्था आफैले तोरी मिल सञ्चालन गरेको छ । बीउका कार्यक्रम पनि सञ्चालनमा छन् ।  संस्थाको भवन अहिले १० कठ्ठा जग्गामा छ ।

यस्तो छ इतिहास

२०११ साल साउन ११ गते आएको बाढी र पहिरोबाट पीडित जनतालाई चितवनमा स्थापित गराउन बस्ती बसाउन सुरु गरियो । पहाडका कुनाकुनाबाट मानिसहरु आए, जंगल फडानी गरेर बस्ने भनेर । राप्ती दून परियोजनाले प्रतिपरिवार ५ विगाहा जग्गा दिने काम गर्‍यो भने, बखान सिंह गुरूङको पहलमा हलो, कुटो, कोदालो जस्ता कृषि औजारहरु दिने र सामूहिक रुपमा काम गर्ने प्रवन्ध मिलाइयो । पछि धर्म भकारी (सामूहिकरुपमा उत्पादन जम्मा गर्ने र पछि बाँडिचुँडी प्रयोग गर्ने चलन) स्थापना भयो ।

सहकार्य गरेर काम गर्न सकिन्छ भने सहकारी किन स्थापना नगर्ने भनेर बखानसिंह गुरूङसहित ६० जनाबाट प्रतिव्यक्ति १० र मसकद (मसलन्द) खर्च भनेर १ रुपैयाँ थप गरी ११ रुपैयाँ हरेक महिना उठाउन थालियो । सुरुमा ६ सय रुपैयाँ कुल पुँजीबाट बखान सहकारी स्थापना भयो ।

बखानसिंहले नै सहकारीको अवधारणा ल्याएकोले सहकारीको नाम नै ‘बखान सहकारी संस्था’ राखियो । सुरुमा बखान सहकारी संस्था त्यसपछि शारदानगर साझा संस्था हुँदै पुनः बखान सहकारी संस्था भएर हाल ‘बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’का नाममा सञ्चालित छ ।

६० जना संस्थापक सदस्यहरुमध्ये ३ जना हालपनि जीवित नै छन् । जीवित सदस्यमा कृष्णमान गुरूङ, हर्क बहादुर गुरूङ, इन्द्रसिंह गुरूङ रहेका छन् ।

के-के राखिन्छ संग्रहालयमा ?

देशका ३६ हजार सहकारी संस्थाहरुमध्ये पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी संग्रहालय निर्माणको काम अघि बढाउने भएको छ । सहकारी राष्ट्रिय संग्रहालयको शिलान्यास पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमार्फत् गराउने योजना छ ।

४ विगाहा जग्गा संग्रहालयको लागि छुट्टाइएको छ । अहिले पाँच कठ्ठा जग्गामा २ तले भवन बनाइने अध्यक्ष मोहनसिंह लामाले जानकारी दिए । त्यसका लागि ५ करोड १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

भवनको डीपीआर इष्टवेस्ट इन्जिनियरिङ कल्सल्टेन्सीले तयार पारेको छ ।  भवन २ वर्षभित्र बनाइसक्ने लक्ष्य छ । भवन निर्माणका लागि आगामी बैशाख २ गते ग्लोबल टेण्डर खोलिने छ ।

सहकारी संग्रहालयमा संस्थापक अध्यक्षको हातबाट लेखिएको तमसुक, २०११ सालमा राप्तीदून परियोजनाका लागि ढड्डी फाँड्न प्रयोग गरिएका औजार, ऐतिहासिक पुराना पैसाहरु र अन्य बहमूल्य समानहरु राखिने छ । संग्रहालयमा देशभरका ३६ हजार सहकारीको पहिचान हुने गरी केही सामाग्रीहरु पनि राखिने अध्यक्ष लामाले जानकारी दिए ।

भ्रमणका लागि आउने समूहहरुलाई आवासको व्यवस्था, तालिम हल, भोजनालय, शहीद पार्क बनाउने र सांस्कृतिक पहिचान झल्कने बस्तुहरु राख्ने योजना पनि छ । यो प्रोजेक्टको कुल लागत ९ करोड ४५ लाख छ ।

‘अहिले ५ करोड १५ लाख दुई वर्षमा दिने एस्योर भएको छ, बाँकी पैसा अन्य निकायसँग माग गर्ने योजना छ,’ अध्यक्ष मोहनसिंह लामाले भने, ‘१० वर्ष अघिबाट नै पहल गर्दा बल्ल यति भयो, राष्ट्रिय महत्वको विषयमा सरोकारवाला गम्भिर भएको पाइएन ।’

अहिलेका कतिपय सहकारी संस्थाहरु सहकारीको मूल्य र मान्यताभन्दा बाहिर गएर काम गरिरहेको संस्थाका अध्यक्ष लामाको गुनासो छ । शेयर सदस्य धेरै बनाउने नाममा अस्वस्थ प्रतिस्पर्धा गरिएको उनले बताए । ‘खै त हाम्रो कुनै तडकभडक छैन, अहिले नाम मात्रैका सहकारी धेरै भए,’ अध्यक्ष लामाले भने, ‘शेयर सदस्य नभएकाहरुसँग पनि रकम संकलन गर्ने, ब्याजको दाउ हेरेर सहकारी चलाउने, लोभ देखाउने, भाग्ने अवस्थामा आयो यो राम्रो होइन ।’

भरतपुर महानगरले दिएन रकम

तत्कालीन सहकारी तथा गरीवी निवारण मन्त्रालयले राष्ट्रिय सहकारी संग्रहालय निर्माणका लागि ७५ लाख रुपैयाँ भरतपुर महानगरपालिकाको खातामा पठाएको छ । तर, बखान बहुउद्देश्यीय सहकारी संस्थाको नाममा नै आएको रकम दिन महानगरपालिकाले आनाकानी गर्दै आएको गुनासो बखान सहकारी संस्थाको छ ।

गत भदौ १३ गते नै भरतपुर  महानगरपालिकाको खातामा आएको रकम अहिलेसम्म नदिइएको व्यवस्थापक अर्जुन ढकालले जानकारी दिए । पटक-पटक रकम लिन जाँदा दिन नमिल्ने जवाफ दिइएको भन्दै व्यवस्थापक ढकालले भने, ‘हाम्रो नाममा आएको रकम दिन जाँदा ऋण माग्न गएजस्तो गरियो ।’

७५ लाख रकम आएपछि निर्माणको काम अघि बढाउने भनिए पनि रकम नदिइएको उनको गुनासो छ । तर, भरतपुर महानगरपालिकाका अधिकारीले भने प्रक्रिया पूरा नगरेकाले दिन नसकिएको बताए ।

भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ आर्यालले रकम महानगरको खातामा आएको स्वीकार गर्दै भने, ‘उहाँहरुले प्रकृया पूरा गरेर आएपछि पाउनुहुन्छ । हाम्रो खातामा राख्ने कुनै सोच छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment