Comments Add Comment

द्वन्द्वपीडित जानकीको आक्रोशः घाउ कोट्याउन मात्रै नआऊ

प्रदेश एकमा ३ सय ७५ द्वन्द्वकालीन उजुरी

२० चैत, विराटनगर । जानकी पोखरेल आफ्ना दुई सन्तानको खोजीमा भौतारिएको वर्षौं भयो । तर, न सास मिलेको छ न लास ।

विराटनगर ६ रामपुरकी ६२ वर्षीया पोखरेल भक्कानिदै भन्छिन्, ‘राज्यले यतिका वर्षसम्म मेरा दुई सन्तानको खोजखबर दिन सकेन । थरीथरीका मान्छेहरु आएर नानाथरी सोध्छन्, पीडामाथि थप पीडा दिने काम मात्र गर्छन् ।’

जानकीका तीन छोरामध्ये जेठो छोरा परशुरामलाई अपरिचत दुई व्यक्तिले २०५६ सालमा घरबाटै अपहरण गरेका थिए । उनको अबस्था अहिलेसम्म अज्ञात छ ।

कान्छो छोरा काठमाडौंबाट बेपत्ता भएको पनि ८ वर्ष पुरा भएको छ । उनको पनि अहिलेसम्म अत्तोपत्तो छैन । तीन छोरामध्ये माइला छोराको ०४० सालमा जण्डिस लागेर मत्यु भएको थियो । श्रीमानको पनि ०५६ सालमा मृत्यु भयो । त्यसपछि नितान्त एक्ली बनेकी छिन् ।

जानकी भन्छिन्, ‘सरकारले बेपत्ता सन्तानको स्थिति पत्ता लगाउन सक्दैन भने सोधिखोजीका लागि नआएकै बेस् । घाउ मात्रै किन कोट्याउनु ?’

मोरङ गोबिन्दपुर केरैजाकी लिलादेवी तामाङको पीडा पनि कम छैन । सशस्त्र द्वन्द्वका क्रममा श्रीमान् बेपता भएपछिे उनको संसार पनि भताभुंग भयो ।

लिलादेवी सम्झिन्छिन्, ‘उहाँ घरबाट निस्किएर केरैजा चोक जानु भएको थियो, त्यहाँबाट सेनाले लिएर गएछन् ।’

श्रीमानलाई लगेको खवर पाएपछि उनी पछि-पछि दौडिइन् । तर, एकै छिनमा पठाइदिन्छौं भनेर फर्काए । तर, त्यसयता फेरि उनले श्रीमानको अनुहार देख्न पाएकी छैनन् । ‘श्रीमान बेपत्ता पारेर मारेको हो भने पनि लास नपाउँदा सद्गत गर्न सकेको छैन,’ पीडा पोख्दै भक्कानिन्छिन् उनी ।

श्रीमान नहुँदा तीन छोरीको पठनपाठन गर्ने जिम्मेवारी उनीमाथि आएको छ । घर चलाउन त धौधौ पर्ने नै भयो । ‘श्रीमान बेपत्ता बनाएको बदलामा मलाई के दिन सक्छन् र ? तर, जीवनयापनका लागि थारै सहज वातावरण बनाइदिए जिउन सजिलो हुन्थ्यो,’ उनी भन्छिन् ।

मोरङ इटहराका तुलसी आपागाईको पीडा पनि उस्तै छ । उनले छोरा गुमाएको १३ वर्ष भयो । तत्कालीन विद्रोही पक्षले एकछिन भनेर उनका छोरालाई घरबाटै लिएर गए तर, त्यसपछि अत्तोपत्तो छैन । वेपत्ता बनाउनुको कारण उनले कति खोजिन् तर, पाउन सकेकी छैनन् ।

यी त सशस्त्रद्वन्द्वकालमा भएका वेपत्तासम्वन्धी केही प्रतिनिधि घटना मात्र हुन् । सबैले अहिलेसम्म न्याय र क्षतिपूर्ति समेत पाउन नसकेको गुनासो राखेका थिए ।

विराटनगरमा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले वेपत्ता परिवारको अवस्था बुझन राखेको अन्तक्रिया कार्यक्रममा उनीहरुले आफनो पीडा पोखे । उनीहरुले आयोगको काम कारबाहीप्रति असन्तुष्टि पनि जनाए ।

सशस्त्र द्वन्द्वका समयमा ३ हजार ९३ जना बेपता पारिएको भन्दै आयोगमा उजुरी परेको छ ।

प्रदेश १ का १४ वटा जिल्लाबाट सशस्त्र द्वन्द्वका समयमा ३ सय ७५ जनाको उजुरी परेको छ ।

आयोगका सचिव कृष्णजीवी घिमिरेका अनुसार देशभरका २२ सय ९३ उजुरीमाथि विस्तृत अध्ययन भइरहेको छ । आगामी माघ मसान्तसम्म सबै उजुरीको अध्ययन सक्ने लक्ष्यका साथ काम गर्ने सचिव घिमिरेको भनाइ छ ।

उनले भने, ‘विस्तुत अध्ययन सम्पन्न गरेपछि भरणपोषणका लागि सरकार र कारवाहीका लागि महान्यायाधिवक्ताको कार्यालयमा सिफारिस गर्नेहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment