+
+
Shares

व्यासका मेयर भन्छन्ः जान्ने-बुझ्ने हुनु पनि दुःख पाउनु रहेछ

'माग्ने र दिने थलोमात्रै होइन स्थानीय सरकार'

अमृत सुवेदी अमृत सुवेदी
२०७४ चैत २१ गते १४:५८

लामो समय आदीकवि भानुभक्त क्यापस प्रमुख बनेका वैकुण्ठ न्यौपाने अहिले व्यास नगरपालिकाको मेयर छन् । कांग्रेस तनहुँका  सभापतिसमेत रहेका न्यौपाने अधिवक्ता पनि हुन् ।

सेती र मादी नदीको संगम तटमा रहेको व्यास र पराशरको तपोभूमि व्यास नगरपालिका २०४८ सालमा नामाकरण गरिएको हो । दमौली प्लानिङ गरेर बनाइएको शहरमध्ये पर्छ । तनहुँको सदरमुकाम बन्दीपुरबाट सारेर दमौली बनाइएपछि यो शहरले गति लिएको हो ।

तनहुँको सदरमुकाम दमौली सहर रहेको व्यास नगरपालिकामा एकेडेमिक व्यक्तिलाई मेयरको रुपमा पाउँदा नगरवासीले खुसी व्यक्त गरेका थिए । तर, अहिले मेयर न्यौपानेले व्यास नगरलाई खासै सुधार गर्न नसकेको भन्दै नगरवासीबाटै गुनासो आउन थालेको छ ।

मेयर न्यौपानेले पाँच वर्षमा व्यास नगरलाई व्यवस्थित, भौतिक पूर्वाधार सम्पन्न, खानेपानी, शिक्षा, स्वास्थ्यमा फड्को मार्ने बताउँछन् । तर, अहिले साधन र स्रोतमै काम नसकिएको उनको गुनासो छ ।

न्यौपाने व्यासमा मेयर भएर आएको झन्डै १ वर्ष बितिसक्यो । व्यासलाई व्यवस्थित सहर बनाउने, तराइ जोड्ने फास्ट ट्रयाक निर्माण, सुरक्षित र व्यवस्थित आवास नीति ल्याउने, उत्पादनमा दोब्बर वृद्धि गर्ने, पर्यटकको आवागमन बढाउन पर्यटकीयस्थलको विकास र निर्माण गर्ने, खानेपानी, शिक्षा, स्वास्थ्य, ढल तथा सडक मापदण्ड कायम गर्ने लगायत प्रतिवद्धता मेयर न्यौपानेले गरेका थिए । तर, नगरपालिका चलाउनभन्दा पार्टी चलाउनतिर ध्यान दिएको, प्रमुख अतिथि र रिबन काट्नतिर बढी लागेको, कार्यालयमा धेरै समय नदिएकोजस्ता गुनासा सेवाग्राहीले अनलाइखबरसँग राखे ।

सेवाग्राहीका गुनासासहित यो बीचमा नगरमा उनले के सुधार ल्याए ? के कारणले आफ्नै प्रतिवद्धता पूरा गर्न सकिएन र अबको योजना के छन् ? अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानीः

लामो समय प्रमुख भएर क्याम्पस चलाउनुभयो । जनताले नगरपालिका चलाउने बनाइदिए । क्याम्पसभन्दा धेरै गाह्रो रहेछ है नगरपालिका चलाउन ? कामै गर्न सक्नुभएन भन्छन्, सेवाग्राही

जनताकै बीचमा खुला रुपमा काम गर्ने मेरो स्वभाव छ । मलाई नगरपालिका चलाउन पनि त्यति समस्या छैन । अहिलेसम्म त्यस्तो समस्या झेल्नु परेको छैन । सबैभन्दा ठूलो समस्या नै साधन र स्रोतको समस्या हो, मेरो समस्या होइन । मान्छेहरुमा बुझाइको समस्या छ । मैले जुन किसिमको काम गर्ने अभिलाशा बनाएको थिएँ, त्यस्तो टिम मैले पाउन सकेको छैन ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पार्क लगायतका चुनावताका गरेका प्रतिवद्धता र घोषणापत्रले आफैंलाई झकझक्याउँदैन ?

मैले आकाश पाताल जोड्ने कुराको प्रतिवद्धता गरेकै थिइनँ । घोषणापत्रमा भएका काम कार्यान्वयनको चरणमा छ । साधन र स्रोतले भ्याउने जति गर्छु भनेको थिएँ । खासगरी शिक्षा, स्वास्थ्य, पार्क लगायतका कुरालाई विशेष रुपमा गर्छु भनेको थिएँ । त्यो सुरुवात भइसकेको छ ।

दमौलीदेखि तराई जोड्ने ट्रयाक छ, मास्ती देवघाट हुँदै गैंडाकोट निस्कने । नगरपालिकाभित्र पर्ने यो ट्रयाक खण्डको निर्माण छिटो छरितो गर्ने काम भइरहेको छ । यो ट्रयाक खुलेपछि ३ घन्टामै गैंडाकोट निस्कन सकिन्छ । म घोषणापत्र र प्रतिवद्धताभन्दा बाहिर छैन ।

यो बीचमा केके गर्नुभयो ? अब के गर्ने योजना छ ?

नगरपालिकामा २८ सयदेखि ९ हजार जनासम्म जनसंख्या भएका वडा छन् । कोही ठूला छन्, कोही साना छन् । कोही भौगोलिक रुपमा साना छन् तर, जनसंख्याका धेरै छन् । कोही वडा भौगोलिक रुपमा ठूला छन् र जनसंख्या थोरै छन् । ती वडामा हामीले १ करोड १५ लाख रुपैयाँ बराबरको वडाले नै विनियोजन गर्न मिल्ने गरी योजना तर्जुमा गरेका छौं ।

खानेपानी, सडक निर्माणका काम भइरहेका छन् । केही नगरपालिकाका गौरवका आयोजना सुरु भएका छन् । जस्तो, कालिका जंगल पार्क ।

दमौली बजारदेखि माथि जंगल पार्क निर्माण भइरहेको छ । यसले यहाँको पर्यटकीय गतिविधि चलाएमान बनाउने छ ।

व्यास नगरभित्र खेलमैदानसँगै अनसन चौतारीहरु थिए । त्यहाँ हामीले व्यवस्थित चौतारीसहितको पार्क निर्माण गर्दैछौं । अर्को दमौलीको खेलमैदानलाई व्यवस्थित गर्दैछौं ।

अर्को विशेष रुपमा वडा पहुँच मार्ग निर्माण भइरहेका छन् । एक वडादेखि अर्को वडासम्म पुग्न समस्या भएकाले वडा पहुँच मार्ग अपरिहार्य आवश्यकता थियो । वडा पहुँच मार्गमा १ करोड रुपैयाँ विनियोजन गरेका छौं ।

विशेष गरी हाम्रो उद्देश्य खानेपानी, विद्युत, बाटो र रोजगारीका अवसर हो । दुध र मासुमा हामी आत्मनिर्भर भइसकेका छौं । तर, तरकारी र आद्यन्नमा हामी आत्मनिर्भर छैनौं । वडावडामा बाँझा जग्गा छन्, त्यसको सदुपयोग नीति बनाएर अगाडि बढ्ने कुरामा म प्रतिवद्ध छु ।

साउन र भदौसम्म पुरानै योजना हुने, त्यसपछि चाडवाड र यसपाली त चुनावले पनि केही समय भुलायो । माघदेखि मात्रै योजना कार्यान्वयनका प्रक्रिया अगाडि बढाएका छौं । अहिले हामीसँग ६ सय ७६ योजना सम्झौता भइसकेका छन् ।

साना योजना त नगरपालिकाको आफ्नै प्रक्रियाले पनि हुन्थे । तपाईँ आइसकेपछि यो कुरा चाहिँ मैले नयाँ ल्याएँ, यो कुरा चाहिँ म नभएको भए हुन्थेन भन्ने के छ ?

कतिपय योजना गएकै वर्ष गर्न सकिन्थ्यो । केही योजना वडास्तरबाटै पनि गर्न सकिन्थ्यो । म नभएको भए यो कुरा हुने थिएन भनेर देखाउने ठाउँ त खासै भइसकेको छैन । मैले भनेका पार्क, खेलकुद, स्वास्थ्य शिक्षा सुधारमा कुरा सायद म नभएको भए हुन्थेन कि । अरु नगरपालिकाभन्दा हामीले छिटो कानुन निर्माण गर्‍यौं, सायद त्यो म नभएको भए यति चाडैं यसले गति पाउने थिएन । म कानुनी क्षेत्रको मान्छे पनि हुँ । कस्तो रहेछ भने, अलिकति जान्नेबुझ्ने हुनु पनि दुख पाउने कुरा रहेछ । अरु साथीहरुले मेयर साबले गरिहाल्नुहुन्छ भन्नुहुन्छ । सायद, म नभएको भए नीति नियम, आन्तरिक सुशासनका कुरा हुने थिएनन् कि ।

यहाँसँग कुरा गर्न आउनु पहिले केही नगरवासीसँग राय लिएको थिएँ । मेयर साब कार्यालयमा कम बस्नुहुन्छ, बाहिर रिबन काट्ने, कुन कार्यक्रममा प्रमुख अतिथि बनेर उद्घाटन गर्ने ध्याउन्न छ, पार्टीका कार्यकर्ताले घेराबन्दी गरेका छन् । सेवा लिनै सास्ती छ भन्ने गनासो थियो । किन यस्तो ?

म दमौलीको मेयरमात्रै होइन, कांग्रेस तनहुँको सभापति हुँ । तर पार्टीको जिम्मेवारी जीतप्रकाश आलेलाई दिएको छु । अब त्यताको काम उहाँले नै गर्नुहुन्छ । एक महिनाअघि म त्यता पनि बढी हिँडे हुँला । अर्को कुरा म स्वास्थ्य र शिक्षाको कार्यक्रममा म गएको छु । स्कुलहरुमा बढी रिबन काट्न पुगें । स्थानीय तहमा विवाद भएका छन् भने त्यहाँ पुगेको छु । नगरपालिकाभित्र मात्रै बसिरहँदा निवेदन गर्ने, माग गर्ने, सानातिना कुरामा गुनासा गर्ने, गन्थन गर्ने जुन प्रवृति छ । कार्यालयबाट बाहिर निस्केर स्कुल, स्वास्थ्यका कार्यक्रममा गएँ भने जनताका यथार्थ समस्या बुझ्न पाइन्छ । अध्ययनकै शिलशिलामा म बाहिर निस्कन्छु । प्रमुख अतिथि बन्ने, रिबन काट्ने लोभले होइन । म काठमाडौं नगएकै ४ महिना बढी बितिसक्यो । नगरपालिकाको दायराभित्रै छु । पार्टीको काम मैले कम गरिसकें । ठिक छ, सेवाग्राहीका गुनासा म मान्छु । तर, भेट हुँदा पनि खाली माग्ने, दिने, गुनासो गर्नेमात्रै नगरौं । माग्ने र दिने थलोमात्रै होइन नगरपालिका ।

पहिले विकास नहुनाका पछाडि आउने उत्तर हुन्थ्यो, स्थायी सरकार भएन, स्थानीय तह जनप्रतिनिधिबिहीन भए । विकासका प्राथमिकीकरण नगरी पैसा छर्ने काममात्रै भयो । अब ५ वर्षलाई स्थानीय सरकारमा आउनुभएको छ । विकासका प्राथमिकीकरण कसरी गर्नुभाछ ?

ब्यास नगरपालिका पाँच वर्षमा कस्तो हुनेछ भनेर मैले योजना बनाएको छु । यहाँका धार्मिक पर्यटकीय स्थलको व्यवस्थापन हुनेछ । अधिकांश मूल बाटो नाला, ढल निकाससहित पिच हुनेछ । ग्राभलिङ हुने छ । खाद्यन्य र कृषि तथा पहुपालनको क्षेत्रमा लाग्नेहरुले नगरपालिकको सहयोगमा हामीले प्रगति गर्न सक्यौं भन्ने अनुभूति गर्न पाउनेछन् । तरकारीमा आत्मनिर्भर बनाउने योजनामै छु । थुप्रैले रोजगारी पाउने छन् । सबै वडामा स्वास्थ्य संस्था र नगरवासी स्वास्थ्यको क्षेत्रमा आएको परिवर्तलाई महसुस गर्नेछन् । मादी भ्याली, सांगे खोला, रिस्ती खोला, बुल्दी खोलाका उपत्यकामा व्यवस्थित बस्तीसँगै बाटो, बिजुली, खानेपानीको पहुँच हुने छ ।

नगरपालिकाभित्र केही जग्गा, जस्तै पतेनीटार, सिसाघाट लगायतका विभिन्न वडामा उपयुक्त जग्गामा उपत्यका विकास योजना लागु गर्दैछौं ।

प्राथमिक शिक्षाले फड्को मार्नेछ । पाँच वर्षमा हामीले छोडेर जाँदा खानेपानीको समस्या हट्ने छ । बिजुलीका पोल फेर्नेदेखि व्यवस्थित हुने छ । पूर्वाधारयुक्त नगरपालिका बनाउने सपना बनाएको छु ।

कुराभन्दा र सुन्दा त हो है भन्ने लाग्ने तर काम चाहिँ नहुने हामीले देख्दै आएको कुरा हो । यहाँले ती काम पूरा गर्ने आधार चाहिँ के हो ?

हामी एक्लै मिलेर, २ जना छिपेर कुरा गरेर त्यो लुक्नेवाला छैन । अहिले खुला समाज छ । हामीले सुशासन र जनताका सेवालाई प्रभावकारी बनाइरहेका छौं । कर्मचारी र नगरवासीको साथ पाएँ भने गर्न नसक्ने भन्ने छैन । हामीले कानुन तयार पारेका छौं, त्यही विधि, नियममाथि टेकेर काम गर्ने हो । काम गर्ने ईच्छाशक्ति छ भने विधि र प्रक्रियाअनुसारै काम हुन्छ । धेरै कुरा गर्नै पर्दैन । नियम कानुन पहिले बनाउने, त्यसलाई फलो गर्ने, त्यसलाई पारदर्शी ढंगले कार्यान्वयन गर्ने र सबैलाई उत्तरदायी तथा जिम्मेवार बनाउने, कोही छल्न र भाग नपाउने बनाउनेबित्तिकै धेरै कुरा गर्न सकिन्छ, गछौं ।

धेरै स्थानीय तहका मेयर, उपमेयरले कर्मचारीतन्त्रका कारण काम गर्न सकिएन भन्ने गुनासो आइरहेको छ । यहाँ के छ, कसरी मिलाउनुभएको छ ?

कर्मचारी र जनप्रतिनिधि मिलेर नगइ सुखै छैन । कसैलाई जिस्क्याएर, भड्काएर कामै छैन । कतिपय कर्मचारीलाई हिजोदेखि खाइखेली आएको, काम गर्ने शैली र शक्तिबाट बिमुख हुनुपर्दा निराशा र कुन्ठा होला । हिजो के भयो भन्ने छाडेर अब सुधि्रएर जाने हो । जनप्रतिनिधिले कर्मचारीलाई दोष दिने, कर्मचारीले जनप्रतिनिधिले व्यवस्थापन गरेनन् भनेर हुँदैन ।

दमौली प्लानिङ गरेर बनेको व्यवस्थित सहरको रुपमा चिनिन्छ । तर, अहिले यहाँ हेर्ने हो भने मादी किनारमा डम्पिङ साइड छ, सार्वजनिक जग्गा र मापदण्ड मिचेर भवन बनिरहेका छन्, बसपार्क नहुँदा सडक किनारको साँगुरो जग्गाबाट धुलो उडाउँदै गाडी गुडेका छन् । खानीपानीको सधैं समस्या छ । जनताले यहाँको कामबाट उही व्यवस्थित सहर कहिले पाउँछन् ?

पहिलो कुरा त सडकको मापदण्ड मिचेर घर बनाउनेलाई हामीले बिल्कुल रोकेका छौं । जसले मापदण्ड मिचेर घर बनाएरका छन्, उनीहरुलाई जरिवाना हुन्छ । नयाँ मापदण्ड बनाएका छौं । मापदण्ड मिच्ने र मिचेर भवन बनाउने कसैले छुट पाउँदैनन्, नगरवासी ढुक्क भए हुन्छ । नयाँ वसपार्क, चिल्डेन पार्क र खेलकुद मैदानका लागि योजना अगाडि बढिसकेको छ । १ नम्बर वडाको करङकाठ भन्ने ठाउँमा बसपार्क बनिरहेको छ । जुन डम्पिङ साइडको कुरा छ, अहिले फोहोरमैलाको नयाँ प्रविधि आएको छ । कुहिनी र नकुहिनी छुट्याएर व्यवस्थापन गर्ने, त्यसमा फेरि काम लाग्ने र काम नलाग्ने छुट्याउँछौं । अहिले हामीले नदी किनारमा डम्पिङ गरिरहेका छौं । तर हेर्दा नदी किनारजस्तो देखिए पनि नदीमा जान दिएका छैनौं । वडा नम्बर ५ मा जग्गा पनि खोजिरहेका छौं । दिशापिशाव फाल्ने ठाउँको खोजि हुँदैछ । व्यवस्थित बधशाला बनाउने काम अगाडि बढ्दैछ । यहाँ अत्यन्त ठूला समाजसेवी भन्नेबाट पनि यहाँ सडक अतिक्रमण भएको साँचो हो । यसका विषयमा सर्वोच्चमा मुद्धा चलिरहेको छ । सडक चार लेन बनाउन सडक डिभिजनले योजना पनि बनाइरहेको छ ।

आफैं नीति नियम बनाउ, राजस्व संकलनको स्रोत खोज, खर्च गर भनेर स्थानीय तहलाई सरकारले नै भनेको छ । राजस्वको दायरा बढाउने र व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

गएको वर्षभन्दा यो वर्ष राजस्वमा वृद्धि भइसकेको छ । एकिकृत सम्पति कर, व्यवसाय करको दायरा बढाउँदै लगेका छौं । ढुंगा, गिटी बालुवाबाट ३ करोडभन्दा बढी पैसा उठ्छ । घरबाहल कर र व्यवसाय करलाई अझ व्यवस्थि तगर्न खोजिरहेका छौं । हाम्रा थुप्रै जग्गा र त्यसमा बनेका व्यावसायिक भवनबाट डेढ करोड जति रकम उठ्छ । सरकारले अहिले योयो कुराको जिम्मा लिने र स्रोत नदेखाइदिने गरेको छ । कतिपय कुरा त सरकारले नै हामीलाई खुम्च्याइदिएको छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?