+
+

प्रदेश ४ को नाम र राजधानी सोध्दै जनमत संकलन

अनलाइनमार्फत् पनि भोट गर्न पाइने

अमृत सुवेदी अमृत सुवेदी
२०७४ चैत २२ गते ९:२६


२२ चैत, पोखरा । प्रदेश ४ को नाम के राख्ने होला ? प्रदेश ४ को राजधानी कहाँ बनाउँदा ठीक होला ? प्रदेशका ११ जिल्लामा यही प्रश्नमाथि चासो, चर्चा र बहस छ । यही प्रश्न लिएर सांसदहरु प्रदेश ४ मा पर्ने एघारै जिल्लामा जनमत संकलन गर्न पुग्ने भएका छन् ।

प्रदेशको राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समिति प्रश्नावली लिएर जिल्ला–जिल्लामा जाने भएको छ । समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाको संयोजकत्वमा बुधबार बसेको बैठकले प्रदेश राजधानी र नामाकरणको प्रश्नावलीको फर्म्याट लिएर जिल्ला–जिल्लामा जाने निर्णय गरेको हो ।

बैठकले यही चैत २८ गते कास्कीबाट सुझाव संकलन थाल्ने निर्णय गरेको छ । सुझाव संकलनमा क–कसलाई बोलाउने, कसरी सुझाव संकलन गर्ने भन्ने कुराको टुंगो लगाएर सांसद जिल्ला–जिल्लामा पुगेर जनताको मत लिनेछन् । कुन जिल्लामा कुन–कुन सांसद जाने भन्ने निर्णय पनि भएको समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले जानकारी दिए ।

बैठकले राजधानी तथा नाम सिफारिसको कार्यविधि पनि पारित गरेको छ । विशेष समितिका सदस्यको आचारसंहिता पनि बैठकले तयार पारेको छ । कुनै पनि सार्वजनिक समारोहमा प्रदेशको राजधानी र नामका विषयमा समितिका सदस्य बोल्न नपाइने आचारसंहितामा उल्लेख छ । एघारै वटा जिल्लाबाट सुझाव आएपछि मूल्यांकनका आधारमा राजधानी तथा प्रदेश नामाकरणका विषयमा सिफारिस गरिने छ ।

जिल्ला समन्वय समिति कास्कीको सभाहलमा आउँदो बुधबार हुने सुझाव संकलन कार्यक्रममा सबै राजनीतिक दलका नेता, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, बार एसोसिएसन, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिसस प्रमुख तथा उपप्रमुख, आदिवासी जनजाति महासंघ, अन्तरपार्टी महिला सञ्जाल संयोजक, दलित उत्थान समिति, गैरसरकारी संस्था महासंघलगायत सहभागी हुनेछन् । यीनै संस्था अन्य जिल्लामा पनि सहभागी हुने निर्णय बैठकले गरेको छ ।

कति–कति गते कुन–कुन जिल्लामा सुझाव संकलन गर्ने भन्ने विषयमा २८ गते नै निर्णय गरिने थापाले जानकारी दिए ।

सांसद सावित्रा राना, दीपक कोइराला, कृष्ण थापा र चन्द्रबहादुर बुढा पर्वत, बागलुङ र मुस्ताङ जिल्लामा सुझाव संकलनका लागि जानेछन् । यसैगरी धनञ्जय दवाडी, हरिशरण आचार्य, मधु अधिकारी गुरुङ लमजुङ, गोरखा र मनाङ जानेछन् ।

स्याङ्जा, तनहुँ र नवलपुर जिल्लामा भागवत प्रकाश मल्ल, विन्दुकुमार थापा, मीनप्रसाद गुरुङ र सरिता गुरुङ पुग्ने छन् ।

सामाजिक सञ्जाल पनि सुझाव संकलनका लागि प्रयोग गरिने छ । आधिकारिक वेबसाइट बनाएर भोट गर्न पाइने व्यवस्था मिलाउने थापाले बताए ।

सरकारले प्रदेश ४ को अस्थायी राजधानी कास्कीको पोखरा तोकेको छ । स्थायी राजधानी पनि पोखरा नै हुने निश्चित छ । तर प्रदेशको नाममा बिभिन्न प्रस्तावहरु आइरहेका छन् । गण्डकी, गण्डक, तमुवान–मगरात, अन्नपूर्ण, मुक्तिनाथ, गोरखा, व्यास, धौलागिरि, माछापुच्छे लगायत थुप्रै नाममाथि जनस्तरमै अहिले चर्चा र बहस भइरहेका छन् । जातीय संस्थाहरुले पनि उस्तै माग गरिरहेका छन् ।

हाल प्रदेश ६ लाई मात्रै ‘कर्णाली’ नामाकरण गरिएको छ । बाँकी ६ प्रदेशहरुको नाम र स्थायी राजधानी तोकिन बाँकी छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?