+
+
Shares

सवारी साधनलाई गीतको रोयल्टी तिराउनु कति जायज ?

व्यवसायी भन्छन्ः अब हामी कलाकारसँग पैसा लिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २२ गते १४:१२

सार्वजनिक सवारीसाधनले नेपाली गीत बजाएवापत रोयल्टी तिर्नुपर्ने नियम बनाइएपछि सबैको चिन्ता छ, अब गाडीहरुमा नेपालीको साटो हिन्दी गीत घन्किए भए । यस्तो कार्यले नेपाली गीत-संगीत धराशयी हुने कतिपयले बताइरहेका छन् ।

हामीले यही कुरा संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषसामु राख्यौं । के नेपाली गीत बजाएवापत पैसा तिराउने कार्य आत्मघाति त हुँदैन ?
उनी यसमा सहमत भएनन् । अरुको सिर्जना -गीत-संगीत) बजाएवापत रोयल्टी तिर्नु अन्तर्राष्ट्रिय प्रचलन भएको बताए उनले ।

‘नेपालभन्दा पहिला धेरै देशहरुले यस्तो अभ्यास गरिरहेका छन्,’ उनले भने । तर, यातायात व्यवसायी महासंघले निर्णय नै गरिसकेको छ, रोयल्टी तिरेर गीत नबजाउने । त्यसबारे उनी के भन्छन् ?

‘बस व्यवसायीहरुले अज्ञानताको कारण अहिले हामी रोयल्टी तिर्दैनौ भनिरहनु भएको छ । उहाँहरुले थोरै अध्ययन गर्न जरुरी छ,’ अध्यक्ष शेषले भने ।

उनको भनाईमा ‘म पैसा तिरेर गीत बजाउँदिनँ’ भन्नु भनेको ‘म भात खान्न’ भने जस्तै हो । अहिले कायम गरिएको रोयल्टीको दररेट आफैंमा न्युन भएको अध्यक्ष शेषको जिकिर छ । नेपाली गीत-संगीतको प्रवर्द्धन गर्नुको साथै स्रष्टालाई सम्मानजनक जीवनयापनका लागि पनि रोयल्टीले केही सघाउ पुर्‍याउने उनी बताउँछन् ।

नेपालीको साटो हिन्दी वा अरु भाषाका गीत बज्न सक्ने सम्भावनाका बारेमा उनले भने, ‘नेपाली गीतले आफ्नो बजार आफैंले बनाएकाले अरु भाषाका गीत बज्दैमा असर पर्दैन ।’

साथै नियमानुसार रोयल्टी नतिरी अन्य गीत पनि बजाउन नपाइने उनी बताउँछन् । संगीत रोयल्टीसम्बन्धी अन्तर्राष्ट्रिये पारस्परिक सम्झौतामा नेपालले हस्ताक्षर गरेको छ । यसरी हस्ताक्षर गर्नेहरुमा अहिलेसम्म विश्वका २५ भन्दा बढी मुलुक छन् । ती कुनै पनि मुलुकका गीत-संगीत रोयल्टी नतिरी बजाउन पाइने छैन ।

काठमाडौं यातायात ब्यबस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा संशोधन गर्दै गीत-संगीत प्रयोग गरेका सार्वजनिक यातायातले तोकिएको रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नै यो व्यवस्था तत्काल गर्न विभागलाई निर्देशन दिएपछि वस व्यवसायी तनावमा छन् । सरकारको विभिन्न आदेशलाई पटक-पटक अटेर गर्दै आएका व्यवसायीले उल्टै गीत बजाएवापत आफुले शुल्क लिने बताए ।

राष्ट्रिय यातायात व्यवसायी महासंघमा महासचिव सरोज सिटौला भन्छन्, ‘हामीले सार्वजनिक सवारी साधनमा नेपाली गीत बजाएर प्रचार गरिदिएका छौं, अब हामी गीत बजाएवापत पारिश्रमिक माग्छौं ।

संगीतकार राजराज शिवाकोटीलाई व्यवसायीको कुरा जायज लाग्दैन । ‘गीत-संगीत बिनाको यात्रा सम्भव होला र ?’ उनले प्रश्न गरे । गीत सुन्दै उकाली ओरालीहरुका घुम्तीमा यात्रा गर्नुको छुट्टै मज्जा हुने शिवाकोटीको भनाई छ ।

नेपाली गीत संगीतलाई नेपाली हावापानी र माटोसंग तुलना गर्दै शिवाकोटी भन्छन् ‘कसैले पनि म मेरो माटो स्वीकार्दिन भन्न पाउदैन ।’
व्यवसायीहरुले रोयल्टीको नियम नमान्ने अडान राख्दै आएका छन् । महासचिव सिटौला भन्छन्, ‘हामीसंग कुनै सल्लाह नगरी बनाएको नियम हामी मान्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?