Comments Add Comment

रानीपोखरीका कङ्क्रिड हटाइने, पुरातत्वले दोहोरो चरित्र देखाएको मेयरको आरोप

२२ चैत, काठमाडौं । रानीपोखरीभित्र हालसम्म पुनःनिर्माणका क्रममा प्रयोग गरिएका सबै आधुनिक निर्माण सामग्री हटाइने भएको छ ।

परम्परागत शैली मासिएको भनी गुनासो आएपछि भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनः निर्माणको क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाइने निर्णय भएको हो । अबको केही दिनमै रानीपोखरी पुनः निर्माणको क्रममा प्रयोग भएको कङ्क्रिड हटाउन शुरु हुनेछ ।

परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयको दबाबपछि करिब तीन महिनादेखि पोखरी पुनः निर्माणको काम रोकिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले बिहीबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललबीच छलफल गरेका थिए ।

बैठकमा मन्त्री अधिकारीले साझा मत निर्माण गरेर यथाशीघ्र काम थालनी गर्न आग्रह गर्दै अन्य निकायले स्थानीय सरकारको सहयोगी भएर काम गर्नुपर्ने बताए । जसले बनाए पनि सम्पदा व्यवस्थापन स्थानीय सरकारले नै गर्ने भएकाले महानगरको काममा सबै सहयोगी हुनुपर्ने उनको धारणा थियो ।

महानगर प्रमुख शाक्यले पुरातत्व विभागले देखाएको दोहोरो चरित्रका कारण महानगरलाई अनावश्यक दोष आएको बताए । उनले भने, आफ्नो उद्देश्य सम्पदाको संरक्षण गर्ने हो, मापदण्डका विषयमा कुरा गरौं, सहमति गरौं, एउटै मापदण्डका आधारमा पुनः निर्माण सम्पन्न गरौं ।’

विभागका महानिर्देशक दाहालले पोखरीको किनारामा निर्माण गरिएको पर्खाल भत्काउनुपर्ने तर बाल गोपालेश्वर मन्दिरको जगमा विभागले बनाएको कंक्रिटको संरचना भत्काउनुनपर्ने बताए ।

अहिले बाल गोपालेश्वर मन्दिरको पुनःनिर्माण पुरातत्व विभागले गरिरहेको छ । बैठकमा कामपाले विज्ञहरुको प्रतिवेदनअनुरुप काम गर्नुपर्ने धारणा राखेको थियो भने विभागका अधिकारीले परम्परागत शैलीमा निर्माण गर्नुपर्ने जोड थियो ।

रानीपोखरी पुनः निर्माणको क्रममा अहिलेसम्म छेउछेउमा पर्खाल लगाउने काम कामपाले गरिरहेको थियो भने बालगोपालेश्वर मन्दिर पुनः निर्माणको काम पुरातत्व विभागले गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment