Comments Add Comment

सपनाबाट ब्यूँझिनुपर्छ अष्ट्रेलिया क्रिकेट

प्रशिक्षक मिकी आर्थर डेभिड वार्नरसँग ।

दुर्भाग्यवश, अन्त्य सधैँ यसैगरी हुने गर्छ ।

अष्ट्रेलियन क्रिकेट र राष्ट्रिय टिमले गएको धेरै वर्षदेखि क्रिकेट संस्कार र टिम सुधारमा खासै चासो देखाएको पाइँदैन । यस्तो तरिकाले एउटै मात्र नतिजा सम्भव थियो ।

त्यो हो, विस्फोटन ।

एउटा स्तर गिरावटको परिणाम यति खराब, यति नराम्रो भयो । यसले समर्थक, प्रायोजक, प्रसारकको विश्वासका लागि नेतृत्व वर्गलाई संस्कार परिवर्तनमा देखिने गरी काम गर्न दवाव उत्पन्न गरेको छ ।

मलाई यसो भनिरहँदा खुशी मिलेको छैन । वास्तवमा, सन् २०११ देखि २०१३ सम्म त्यो मेरो पनि काम थियो । आवश्यक परिवर्तनका लागि मैले पनि काम गर्नुपर्ने थियो । किनकी म अस्ट्रेलियाको राष्ट्रिय टिमको प्रशिक्षक थिएँ ।

मैले त्यसमा सोचेजसरी काम गर्न सकिनँ । त्यसले मलाई निराश बनाउँछ । मैले भन्न खोजेको होइन कि म निर्दोष छु । यस्ता केही निर्णयहरु छन्, यदि फेरि मैले समय पाएँ भने त्यो परिवर्तन गर्थें । तर त्यसमा असर गर्ने अन्य कुराहरु पनि छन् । त्यस्ता कुराहरु जसले अष्ट्रेलियन क्रिकेटलाई लामो समयदेखि असर गरिराखेको छ ।

सीमारेखाको एउटा समस्या

तीन खेलाडी बल टेम्परिङमा जोडिनु दुःखद रहृयो । तर, यसले अस्ट्रेलियन क्रिकेटको भविष्य सुधार गर्न, राम्रो बाटोमा क्रिकेटलाई लैजान सकारात्मक भूमिका खेल्ने छ ।

अहिलेकै अवस्थामा राम्ररी अगाडि बढ्न सक्ने स्थिति थिएन ।

केही वर्षदेखिको अष्ट्रेलियन क्रिकेट हेरेर म एकदमै निराश थिएँ । अशिष्ट र अभिमानी व्यवहारहरु देखिएको थियो । क्रिकेटलाई लिएर उनीहरु जसरी अघि बढ्दै थिए त्यो राम्रो थिएन ।

अष्ट्रेलियासँग झण्डै दुई वर्षअघि पाकिस्तानी खेलाडीले कस्तो अवस्थाको सामना गर्नुपरेको थियो मलाई अझै याद छ । अर्को एसेज खेलको समयमा पनि बेलायती खेलाडीले भनेको केही कुराहरु मलाई थाहा छ । यो भयानक छ । अनि त्यहीँ मैले धेरैपटक नाथन लायनले एबी डीभिलियर्सलाई बलले हानेको देखेको छु ।

अष्ट्रेलियन खेलाडीले यसरी खेल्नुपर्ने कुनै आवश्यकता छैन ।

उनीहरु निकै राम्रा क्रिकेटर हुन् । उनीहरु जितका लागि त्यस्तो हर्कतमा जानुपर्ने कुनै कारण छैन । विपक्षीलाई अन्य कुराले कमजोर पार्ने, धम्काउने गर्न आवश्यक छैन । आफ्नै खुबी, मेहनतले नै उनीहरु खेल जित्न सक्छन् ।

उनीहरुले जे गरिरहेका थिए, त्यसले क्रिकेट जस्तो संयम र भद्र खेललाई कमजोर पारेर प्रस्तुत गरिरहेको थियो ।

अष्ट्रेलियन टिमसँग मिकी आर्थर

अनि यो ‘सीमा रेखा’ को बारेमा कुरा गरिरहनुपर्दा मलाई नराम्रो लागेको छ । के हो यो सीमा ? कसले बनाउँछ ? यो कसरी लागु गर्ने भन्ने कसले निर्धारण गर्छ ? यो स्थानअनुसार फरक-फरक छ । तर अस्ट्रेलियन यो सीमा तय गर्ने अभिभारा आफूमा भएजस्तो सोच्छन् है ?

कुनै एक देशको व्यक्तिलाई अर्को देशमा तर्साउनु के ठीक हो ? अनि के उनीहरु त्यस्तै व्यवहारपछि साथी बनेर रहन सक्छन् ? बकवास ।

त्यो सीमा अरुले मिच्दा उनीहरु प्रभावितको रुपमा देखा पर्थे । जब उनीहरु प्रभुत्व जमाउने अवस्थामा थिए र नराम्रो व्यवहार गर्थे सबै कुरा ठीकै थियो । किनभने त्यो सीमाको तय उनीहरु नै गर्थे ।

एउटा सीमा, यो जे सुकै होस् । त्यो निर्धारण नीति निर्माणका आधारमा आईसीसीले गर्नुपर्छ । यो लायनले टाउकोमा ताकेर हान्न पाउनका लागि हुनु हुँदैन ।

अष्ट्रेलियन टिमभित्रको व्यक्तिगत जिम्मेवारीका आधारमा मैले भित्रबाट सूक्ष्म रुपमा हेर्न पाएको छु । क्यामरुन बेनक्राˆट र स्टिभ स्मिथले पत्रकार सम्मेलनकै बेलामा आफूहरुले के गरेको हो स्वीकारिसकेका छन् ।

किनभने उनीहरुसँग अर्को विकल्प पनि थिएन । उनीहरु रंगे हात पक्राउ परेका थिए । त्यस्तोमा पनि उनीहरु अझै पूर्ण रुपमा प्रस्तुत भने भएनन् ।

बल टेम्परिङमा उनीहरुले टाँसिने एक प्रकारको टेपको प्रयोग गरेको बताएका थिए । तर, अस्ट्रेलियन क्रिकेटको अनुसन्धानले उनीहरुले खस्रो प्रकारको कागज प्रयोग गरेको निष्कर्ष निकालेको थियो ।

टेष्ट क्रिकेट खेल्ने अरु सबै देशहरुले उनीहरुमाथि विचार गरिदिनुपर्ने धारणा राखेका थिए । उनीहरुमाथि अलि बढी नै नराम्रो व्यवहार गरेको बताएका थिए । तर म उनीहरुमध्ये दुई जनालाई प्रशिक्षण दिएको आधारमा पनि यसो भन्दै छु ।

उनीहरुको त्यस्तो व्यवहार अस्ट्रेलियन क्रिकेटमा धेरै पैसा भएर हो वा किन हो मलाई थाहा छैन । उनीहरुमध्ये केहीले एउटा टेष्ट खेलमा जति कमाउँछन् त्यो धेरै पाकिस्तानी खेलाडीले एक वर्षमा कमाउने रकम हो ।

वा उनीहरुको त्यस्तो व्यवहार आफूलाई अरुभन्दा राम्रो क्रिकेटर सोच्ने भएर हो कि ! वा उनीहरु सुन्दर र सुविधायुक्त देशको बासिन्दा भएर ।
जे सुकै कारण होस्, यो अफसोसको कुरा हो ।

घटनापछि बेलायतको एउटा दैनिक पत्रिकाले ठूलो अक्षरमा समाचार लेखेेको थियो, ‘डेभिड वार्नर विश्वकै सबैभन्दा घृणा गरिने टिमका सबैभन्दा घृणा गरिने खेलाडी ।’ जुन अहिले पूर्ण सत्य बनेको छ । यो वास्तवमा दयालाग्दो अवस्था हो । अहिले धेरैले अष्ट्रेलियन क्रिकेटप्रति उतिसारो सहानुभूति राखेका छैनन् ।

मैले भन्न खोजेको के भने, अष्ट्रेलियन टिम यस्तो अवस्थामा पुगेको थियो कि उनीहरुमाथि कसैले प्रश्न उठाउनै सक्दैन । यो परिवर्तन गर्न धेरै ठूलो घटना हुन आवश्यक थियो । जुन अहिले भएको छ ।

उनीहरुलाई प्रशिक्षण दिएको आधारमा भन्न सक्छु, वास्तवमा उनीहरु मान्छे असल नै हुन् । वार्नरसँग त अझ मेरो सम्बन्ध निकै राम्रो थियो । एक प्रशिक्षकका लागि प्रशिक्षण दिन उनी पूर्ण खेलाडी थिए । मलाई लागेको थियो, उनी यस्तो अनावश्यक कामभन्दा टाढै छन् ।

स्टिभ स्मिथ त झन् पूर्ण क्रिकेटमा बाँच्थे । खाने, सुत्ने स्वास लिनेसमेत उनको क्रिकेट नै थियो । उनी अष्ट्रेलियन टिमको कप्तान हुन पाउँदा निकै गर्व महसुश गर्थे । क्रिकेट कप्तानी छाड्नुपर्दा उनलाई निकै आघात पुगेकै छ ।

अहिले यस्तो अवस्थामा छौँ जुन निकै पहिले हुनुपर्ने थियो । क्रिकेट संस्कार परिवर्तनको काम योभन्दा पहिले नै हुनुपर्थ्यो । पहिले भएन, त्यसैले अहिले यस्तो धमाकेदार रुपमा भयो । स्मिथ, वार्नर र बेनक्राफ्ट दण्डित हुनुपर्‍यो ।

एउटा नयाँ पाठ

सन् २०११ मा म अस्ट्रेलियन टिमको प्रशिक्षक हुनुभन्दा पहिले पनि त्यहाँको क्रिकेटलाई हेरेको थिएँ । दक्षिण अफ्रिकाको प्रशिक्षक हुँदा र पश्चिम अस्ट्रेलियाको प्रशिक्षक हुँदा त्यहाँको क्रिकेट बुझेको थिएँ ।

राष्ट्रिय टिमभित्रको सांस्कृतिक मुद्दाबारे मलाई थाहा थियो । सुरुका दिनमा दक्षिण अफ्रिकाविरुद्ध उत्रदा त्यो अहिलेसम्मकै उत्कृष्ट दिनहरुमा थियो । उनीहरु दमदार रुपमा प्रस्तुत हुन्थे । जतिबेला उनीहरुलाई जहाँ गए पनि हार्दैनौँ भन्ने थियो ।

सन् २०१०-११ मा उनीहरुले घरेलु मैदानमै एशेजमा हारेपछि मलाई प्रशिक्षकको रुपमा ल्याएका थिए ।

बाहिरबाट आएर अष्ट्रेलियाको टिमलाई प्रशिक्षण गर्ने म पहिलो थिएँ । त्यहाँ मैले क्रिकेट संस्कार र अनुशासन परिवर्तन गर्ने मेरो मुख्य जिम्मेवारी बनाएको थिएँ ।

मिकी आर्थर अष्ट्रेलियन कप्तान स्टिभ स्मिथसँग हात मिलाउँदै ।

अन्त्यमा मैले त्यो कुरा पूरा गर्न सकिनँ । उनीहरुको संस्कार र अनुशासन परिवर्तन गर्न सकिन । यहाँ मैले आफैलाई आरोप लगाएको होइन ।

मैले अवस्थालाई भिन्न रुपमा लिएर काम गर्न सक्थेँ भन्ने हो । त्यही पनि घरभित्रै केही कुराको सुरुवात गर्ने काम सम्भवत त्यही समयमा धेरै भएको थियो । मैले धेरै मानिसका कुरा सुन्नुपर्ने थियो । सन् २०१३ को एशेजमा निकालिनुअघि मैले त्यस्तो उल्लेख्य केही गर्न भने सकिनँ ।

त्यहाँ भित्री कुराहरु धेरै थिए जसले असर गर्‍यो । मैले भनेको थिएँ, मैले अस्ट्रेलियन तरिका नै राम्ररी बुझिनँ ।

मैले के बुझेँको थिएँ भने, सफल टिम हुन निकै राम्रा खेलाडीहरु चाहिन्छन् । एक एक खेलाडीको भूमिका महत्वपूर्ण हुन्छ । जसमा सबैको बलबुतामा एउटा निश्चित दिशा तय गर्ने छन् र निष्कर्ष सुखद दिनेछन् । हरेक टिममा एक दुईजना खेलाडि नराम्रा हुन सक्छन् । तर एउटा राम्रो प्रणाली भए उनीहरुलाई धेरै टाढा जान दिने छैन । सुध्रन बाध्य हुने छन् ।

अष्ट्रेलियन निकै फरक छ । धेरै आधारमा खेलाडीहरु, आफ्नै लागि आफै नियम बनाउने स्थितिमा थिए । जब मैले क्रिकेट संस्कारको कुरालाई राम्ररी लागु गर्न खोजेँ, मभन्दा माथि रहेकाहरुले मलाई पछि हट्न भने । अनि जब मैले आˆनो सिद्धान्तलाई केही नरम बनाएँ, उनीहरुले मलाई मेहनत बढी गर्न भनेका थिए ।

सीमाहरु कहिले पनि तय भएनन् तर लक्ष्य भने अघि बढिरहेको थियो । अष्ट्रेलियामा क्रिकेट संस्कारका लागि काम गर्नु निकै चुनौतीपूर्ण हो ।

खतराको घण्टी बजेको पहिलेदेखि नै हो । खेलाडीहरुले सहायक कर्मचारीहरुलाई गर्ने अपमान । टिमकै केही प्रतिबद्धतामा पनि ढिलो गरी आउने । गनगन गर्ने । सधैँ गल्ती अरुमा थोपर्ने ।

मैले भन्ने गरेको पनि थिएँ, केटा हो, अब ऐनामा आˆनो अनुहार पनि हेर्ने गर । तिमीहरुलाई जे लाग्छ त्यही मात्र सधैँ सही हुँदैन । अरुको बारेमा केही धारणा बनाउनुअघि विचार गर्ने गर ।

भित्रबाटै केही सुधार्ने त्यो एउटा प्रयास थियो । त्यो प्रयासका लागि भित्रैबाट त्यहाँ कुनै काम भएको थिएन ।

हामीले भारतसँगको दोस्रो टेष्ट खेल गुमायौँ । त्यो समय सबैले भन्ने गरेको तीन कुरा मलाई याद छ, ‘नेट प्राक्टिसमा मलाई धेरै स्पिन बलर दिनुपर्‍यो’ । ‘मैले मेरो स्वीप सटमा अझ मेहनत गर्नुपर्ने देखियो’ वा ‘खस्रो पिचमा बचेर खेल्ने अभ्यास अझै चाहियो ।’

यो सबै कुराहरु त्यो अभ्यासको समयमा आएको कुरा हो जहाँ खेलाडीहरु तेस्रो टेष्टअघि आफूमा के के परिवर्तन गर्नुपर्छ भनेर भन्दै थिए ।

तीमध्ये चार जनाले त आफूमा के सुधार हुनुपर्छ भनेर पनि उत्तर बुझाएका थिएनन् । उनीहरुलाई निलम्बन गर्नु सायद कठोर काम हो । दण्ड उनीहरुको गल्तीअनुसार मिलेको थिएन । ठीक त्यही समयमा म क्रिकेटमा संस्कार, व्यवहार, व्यावसायिकताबारे बोल्दा बोल्दा थाकेको थिएँ ।

म मुख्य प्रशिक्षक भएका हिसाबले ती चार खेलाडीलाई गुमाएर खेल्ने जोखिम उठाएको थिएँ । केही सहायक कर्मचारी र कप्तानले भनेका थिए, यो घटनामा हामीले एउटा निर्णयमा अडिग रहनुपर्छ । अन्ततः मैले निर्णय लिएँ । यसैले यदि फेरि मैले त्यो समय पाउने भए, म त्योभन्दा फरक निर्णय लिने थिएँ ।

मैले यी कुरा बाहिर ल्याउनुको अर्थ त्यो टिमको दृष्टिकोण र संस्कारलाई परिवर्तन गर्ने प्रयास हो । ‘हाम्रो टिम ठीक लयमा आउने छ । नेटमा खरो अभ्यास गर्नेछौँ र हामी सही हुने छौँ । हामी अष्ट्रेलियन टिम पो हौँ त ।’ … हो यही कुराले हामीलाई तल तल लगिरहेको थियो । जुन परिवर्तन हुनुपर्ने थियो ।

मिकी आर्थर माइकल क्लार्कसँग ।

मेरो लागि यो समस्या अष्ट्रेलियन टिमभित्र अहिलेसम्म रहेको सुक्ष्म समस्याहरुमध्येको एउटा हो, खेलाडीबीचमा अधिकारको भावना ।

क्षतिको पूर्ति

अष्ट्रेलियामा मेरो कार्यकालको अन्त्यतिर भएको एउटा घटना, डेभिड वार्नरले जोय रुटलाई मुक्का हानेका थिए । च्याम्पियन्स ट्रफीको दौरान भएको त्यो घटनाबारे मलाई दुई दिन भैसक्दा पनि किन हो थाहा थिएन । दुई खेलाडीले आफूहरुमाथि भएको जरीवानमा चित्त नबुझाउँदा बल्ल मलाई त्यसबारे थाहा भयो ।

म त्यो घटनाबारे फेरि या सबै भनिरहँदिन । किनभने, त्यसबारे पत्रपत्रिकामै धेरै कुरा आइसकेको छ । जे होस्, घटनाबारे बुझ्न र कुराकानी गर्न मैले जेम्स सथरल्याण्ड (अष्ट्रेलियन क्रिकेटका सिइओ) लाई त्यसै रात फोन गरेको थिएँ ।

घटनाबारे पहिले नै जानकारी नराखेको भनेर उनले मेरो आलोचना गरेका थिए । त्यसबेला मलाई लाग्यो, कस्तो जे पायो कुरा गरेको होला । कसैले नभनिकन त मलाई पनि कसरी पो थाहा हुन्छ र ? राति १ बजे म सबैलाई हेर्दै हिँडिरहके पनि त थिइनँ ।

दिक्क भएर मैले भनेको थिएँ, ‘तपाइँ के चाहनुहुन्छ ? यस्तोमा म उनीहरुलाई साथ दिउँ कि उनीहरुविरुद्ध केही कदम उठाउँ ?’
त्यसपछि म मेरो जागिरबाट निकालिएँ ।

त्यो घटनालाई जसरी लिइयो, जसरी त्यसलाई समाधान गरियो त्यसबाट म खुशी थिइनँ । तर त्यसपछि भने म शान्तीमा छु । अहिले त कहिले काहीँ जेम्स र अर्का साथी प्याट हावार्ड (पूर्व रग्वी खेलाडी) सँगै बसिरहेका हुन्छौँ ।

मपछि अष्ट्रेलियाको प्रशिक्षक ड्यारेन लेम्यान भएका हुन् । ड्यारेनप्रति मेरो एकदम आदर भावना छ । उनी सबै कुरामा पोख्त प्रशिक्षक हुन् ।

तर उनीहरुले ड्यारेनलाई क्रिकेट संस्कार सुधारका लागि ल्याएका थिएनन् । जे चलिरहेको छ त्यही चलाइरहन अस्ट्रेलियाकै प्रशिक्षक राखेका थिए । उही बेलुका ६ बजेपछि मनपरी बोल्दै बियरमा मस्त हुने, बितेको वर्षको कथाहरु भन्ने, गोलो बनेर आगो बाल्दै बस्ने, मजाले हाँस्ने अनि खुशी भएर ओछ्यानमा जाने ।

त्यस्तो वातावरणमा केही परिवर्तन गर्नु भनेको निकै कठीन काम हो ।

बल टेम्पिरिङको घटनाबारे टेलिभिजनमा हेरिरहँदा म एकदमै निराश थिएँ । फेरि ती केटाहरु मान्छे असल नै हुन् ।

उनीहरु खलनायक होइनन् । टिमभित्र जस्तो संस्कार हाबी भएको थियो, त्यसले उनीहरुले जे गरे त्यो यति धेरै खराब काम हो भन्ने उनीहरुले ठानेनन् । यस्तो गर्नु अस्वीकार्य हो भन्ने ज्ञान पाएको भए उनीहरुले गर्ने थिएनन् ।

मैले जति पनि टिमहरुसँग काम गरेको छु उनीहरु बल रिभर्स स्वीङ गर्ने प्रयास गर्छन् । मान्य रुपमा उनीहरु बल रिभर्स स्वीङ गराउन सक्षम पनि भएका छन् । त्यसपछि म पाकिस्तानी खेलाडीहरुको त्यो क्षमता देखेर चकित भएको छु ।

बलमा साइन गर्नु र बल टेम्पिरिङ गर्नुमा भिन्नता निकै छ । मैले क्रिकेट मैदानमा त्यस्तो बस्तु कहिल्यै देखिनँ जुन अवस्था परिवर्तन गर्न प्रयोग होस् । यसले धेरै टाढाको बाटोमा लैजान्छ ।

अष्ट्रेलियाको टिमले त्यसो गर्नु आवश्यक थिएन । तर, उनीहरुले गरे । यो त्यसको नतिजा हो, जुन कुरा धेरैअघि नै सुधार गर्न आवश्यक थियो ।

अन्त्य जहिले पनि यसैगरी हुने गर्छ । यस्ता घटनाहरु हुन आवश्यक पनि छ, जसले एउटा चलिरहेको र मान्य मानिएको गलत संस्कार परिवर्तन गर्न मद्धत पुर्‍याउँछ ।

अष्ट्रेलियन क्रिकेट धेरै अघिदेखि सपनाको दुनियामा थियो । सपनाबाट ब्यूँझिएर उनीहरुले केही देखिने निर्णायक काम गर्न आवश्यक भएको छ । यदि यसपछि पनि त्यस्तो केही काम नभएमा अर्को यस्तै घटना घट्ने छ । र त्यसपछि पनि पछुताउनुपर्ने छ ।

उनीहरुले गर्नुपर्ने त्यति ठूलो केही होइन, विश्वभर क्रिकेटलाई जति शान्त र संयमपूर्ण रुपमा खेलिन्छ उनीहरुले पनि त्यति मात्र गरे पुग्छ ।

(मिकी आर्थर पूर्व दक्षिण अफ्रिकी खेलाडी हुन् । अहिले पाकिस्तानी राष्ट्रिय टिमका प्रशिक्षक रहेका उनी सन् २०११ देखि २०१३ सम्म अष्ट्रेलियाका प्रशिक्षक थिए । उनको यो लेख ‘प्लेयर्स भ्वाइस’ बाट अनुवाद गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment