+
+

पञ्चवर्षीय योजना बनाउँदै मादी गाउँपालिका, यस्ता छन् विज्ञका सुझाव

अमृत सुवेदी अमृत सुवेदी
२०७४ चैत २६ गते ९:२०
वेदबहादुर गुरुङ,अध्यक्ष, मादी गाउँपालिका

२६ चैत, पोखरा । मादी गाउँपालिकामा अध्यक्ष वेदबहादुर गुरुङ आएलगत्तै केबलकारको महत्वकांक्षी योजना सार्वजनिक गरे । पर्यटकीय गाउँ सिक्लेसदेखि अन्नपूर्ण हिमालको फेदी कोरीसम्म केबलकार चलाएर हिउँ खेल्न पुर्‍याउने उनको सपनाले चर्चा बटुल्यो ।

एक वडाबाट अर्को वडामा पुग्न पोखरा आउनुपर्ने वाध्यता भोगेका मादीवासीलाई गुरुङले सान्त्वना दिए, ‘प्रत्येक वडालाई सडक सञ्जालले जोड्ने छु ।’

गुरुङको अर्को प्रतिवद्धताले पनि धेरैको ध्यान खिच्यो, ‘जमिन बाँझो राख्न पाइँदैन र बाँझो राख्नेलाई कारबाही हुन्छ ।’

घरघरमा खानेपानी, गाउँमै बिजुली उत्पादन, चौबीसै घन्टा गाउँपालिकामा गाडी चलाउने लगायतका योजना उनका थिए । इन्टरनेट सेवा सुरु गर्ने, सिँचाइ, शिक्षा, स्वास्थ्य, लगायतका क्षेत्रमा गाउँपालिकाले फड्को मार्ने उनको प्रतिवद्धता थियो ।

एक वर्षपछि सुझाव संकलन

गुरुङले गाउँपालिका प्रमुखको पदभार सम्हालेको झन्डै १ वर्ष पुग्नै आँट्यो । तर, नागरिकले घरआँगनै आएको सरकारको अनुभूति गर्न नपाएको गुनासो अझै आइरहेका छन् । कानुन, स्रोत र साधन तथा गुरुयोजना नहुँदा काम गर्न नसकेको अन्य प्रतिनिधिकोजस्तै गुरुङको पनि ‘रेडिमेट’ गुनासो हो ।

गाउँमै रोजगार र सुविधा पुर्‍याएर रित्तिँदै गएको गाउँलाई चलायमान बनाउने गुरुङको सपना कहिले पूरा हुन्छ ? त्यो उनी आफैंलाई थाहा छैन । तर, त्यसको तयारी भने थालेको अध्यक्ष गुरुङ बताउँछन् । ‘अहिले आफैंले गरेका प्रतिवद्धता पूरा गर्न र गाउँपालिकाका सम्भावना बुझेर योजना बनाउने कामको सुरुआत गरेको छु,’ अध्यक्ष गुरुङले भने ।

असारमा प्रस्तुत हुने बजेटमा गाउँपालिकाका सम्भावना र चुनौतिलाई बुझेर पञ्चर्वषीय योजना बनाउन गाउँपालिकाले विज्ञसँग छलफल र सुझाव मागेको छ । ‘पञ्चवर्षीय आवधिक योजना बनाउन कार्यविधि तयार भएर सुझाव लिने र छलफल चलाउने गरिरहेका छौं,’ अध्यक्ष गुरुङले अनलाइनखबरसँग भने, ‘मादीको सम्भाव्यता अध्ययन र गुरुयोजनामा सघाउन परामर्शदाता कम्पनी जियोनेटलाई जिम्मा दिएका छौं ।’

गाउँपालिकाले आइतबार पोखरामा विभिन्न क्षेत्रका विषय विज्ञ र मादीवासीलाई बोलाएर सुझाव र राय लिएको थियो । योजना आयोगका पूर्वउपाध्यक्ष पीताम्बर शर्मा, सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य बनेका खगराज अधिकारी, प्रदेशसभा सदस्य मनबहादुर गुरुङले मादीका सम्भावना र बजेटमा समावेस गर्नुपर्ने विषयमा सुझाव दिए ।

प्रदेश ४ का प्रमुख सचिव लक्ष्मण अर्याल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, संघीय मन्त्रालयका सहसचिव रामकृष्ण सापकोटालगायतले पञ्चवर्षीय आवधिक योजना समावेस गरेर बजेट बनाउँदा ख्याल गर्नुपर्ने कुरा र गाउँपालिकाले अबको बाटो कस्तो लिने भन्नेबारे प्रशिक्षण दिए ।

पर्यटकीय प्रख्यात गन्तव्यको विकास र सम्भावना, जलविद्युतको प्रचुर उत्पादन, प्रसस्त प्राकृतिक स्रोत र साधन रहेको मादीलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर अध्यक्ष गुरुङले सुझाव लिएका थिए ।

गुरुयोजना तर्जुमा गर्दा एकीकृत विकास योजनाको दूरदृष्टि, अवधारणाको प्रारम्भिक खाका तयार पारेर जान योजना आयोगका पूर्वउपाध्यक्ष पीताम्बर शर्माले सुझाव दिए । प्रारम्भिक विश्लेषण र अन्तक्रिर्याका आधारमा क्षेत्रगत मापदण्ड, अल्प, मध्य र दीर्घकालीन लक्ष्य तथा सिद्धान्त तयार गर्नुपर्ने उनको भनाइ थियो ।

सामाजिक तथा आर्थिक विकासमा लाभका क्षेत्र र आवश्यक पूर्वाधारको पहिचान गर्न उनले आग्रह गरे । शर्माले आवधिक आयोजनाको छनोट र बजेट तयार तयार पार्दा केके कुरामा ध्यान दिने भन्ने अवधारणापत्र गाउँपालिकालाई दिएका थिए ।

साहसिक पर्यटनलाई बजेटमा समेट्नुपर्छः अधिकारी

प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले पञ्चवर्षीय योजना बनाउँदा सबैभन्दा पहिले चुनावमा गरेका घोषणापत्रलाई आधार बनाउन आग्रह गरे । मादीमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेकाले त्यसलाई बजेटमा समेट्न अधिकारीले आग्रह गरे ।

मध्यपहाडी लोकमार्ग, मादी करिडोर यही क्षेत्र हुँदै जाने भएकाले त्यसलाई कसरी पर्यटन, क्षेत्र, उद्योगसँग जोड्न सकिन्छ र आसपासका गाउँपालिकासँग कसरी समन्वय गर्न सकिन्छ भनेर योजना तयार पार्नुपर्ने अधिकारीले बताए । मादीको पानीबाटै पनि गाउँपालिकाले धेरै कुरामा फाइदा लिनसक्ने भएकाले बिजुली, सिँचाइसँगै जलासययुक्त आयोजना निर्माणमा पनि ध्यान दिन अधिकारीले आग्रह गरे ।

प्रदेशसभा सदस्य मनबहादुर गुरुङले स्रोत र साधन नभएको अवस्थामा कसरी पहिचान गर्ने र साझा अधिकारलाई कसरी प्रयोग गर्ने भन्ने योजना तयार पार्नुपर्ने बताए ।

प्रमुख सचिव लक्ष्मण अर्यालले गाउँपालिकाले आन्तरिक स्रोतको प्रयोग, ऋण, राजश्व संकलन, अनुदानको सदुपयोग गरेर कसरी व्यवस्थित गर्ने भन्ने कुरामा विषय विज्ञहरुसँगको मिहिन छलफल गरी योजना तयार पार्न आग्रह गरे । गाउँपालिकाको आर्थिक नीति, बैंक तथा तथा वित्तीय अवस्था, साधन र स्रोतको पहिचान तथा प्रयोगबारे उनले बुझाएका थिए ।

अब कर्मचारीलाई दोष दिने अधिकार छैनः प्रजिअ

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले प्रत्येक वडाध्यक्षसँग आˆनो वडाको हरेक तथ्यांक हुनुपर्ने बताए । तथ्यांक नभइ कुनै पनि योजना तयार पार्न नसकिने उनको भनाइ थियो । ‘हिजो केही नभए कर्मचारीलाई दोष दिन पाइन्थ्यो, अब त्यो अधिकार छैन,’ अधिकारीले भने, ‘कर्मचारी हुँदाभन्दा जनप्रतिनिधिले नेतृत्व गरेपछि केके कुरामा सुधार र फड्को मारियो ? उत्तर तयार हुनुपर्छ ।’

अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै पोखराबाट बिस्थापित हुने प्याराग्लाइडिङलाई मादीले चलाउन सक्ने अधिकारीको भनाइ थियो ।

मादी गाउँपालिकाले विज्ञहरुसँग राय, सुझाव संकलन गरी नीति तथा कार्यक्रममा समावेस गर्ने छ । आउँदो नीति तथा कार्यक्रममा प्रदेशका पञ्चवर्षीय आवधिक योजनालाई समावेश गरी कार्यान्वयनको चरणमा लाग्ने अध्यक्ष गुरुङले बताए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?