Comments Add Comment

धुर्मुसले बनाउने रंगशाला बहुउपयोगी हुने, तेक्वान्दोदेखि भलिवलसम्मलाई सुविधा

फाइल फोटो

२६ चैत, काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्ने रंगशाला ‘बहुउपयोगी’ प्रकृतिको हुने भएको छ । नाम भने लर्ड वुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम नै रहने छ ।

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने धेरैजसो इन्डोर तथा आउटडोर खेलहरु अटाउने गरी स्पोर्टस् भिलेजको अवधारणामा रंगशालाको निर्माण गरिने धुर्मुसले बताए ।

‘भलिबल, तेक्वान्दो, ब्याडमिन्टन, टेबलटेनिस, स्वीमिङलगायत धेरै खेलहरुका लागि सुविधायुक्त रंगशाला हुनेछ,’ उनले भने, ‘साथै आउटडोर खेलहरु पनि समेट्नेछौं । मैदानको उपलब्धताका आधारमा सम्भवतः फुटबल ग्राउन्ड पनि हुनेछ ।’

क्रिकेटका साथसाथै सबै विधाका खेलकुदलाई सुविधायुक्त रंगशालाको दुख भएकाले यो निर्णय लिइएको धुर्मुस बताउँछन् ।

‘सुरुमा क्रिकेट रंगशालाको मात्रै सोच बनाएका थियौं, तर बहुउपयोगी बनाउन सके अरु खेलहरुमा पनि योगदान पुग्न सक्ने भनेर हाम्रो टिममा छलफल भयो,’ उनले भने । बाहिरबाट पनि धेरैले उनलाई बहुउपयोगी रंगशाला निर्माणको लागि सुझाव दिएका थिए ।

धुर्मुसको टिमले रंगशाला कहाँ बनाउने भनेर निर्णय सार्वजनिक गरेको छैन । पछिल्लो पटक खेलकुद मन्त्रालयको सुझावमा धुर्मुसको टोली पोखरामा जग्गा हेरेर फर्किएको थियो । तर, पोखरामा अत्यधिक वषर्ा भइरहने कारणले त्यहाँ क्रिकेट रंगशाला बनाउनु उपयुक्त नहुने उनलाई धेरैले सुझाव दिएका छन् ।

अरु विधाका खेलाडी पनि आकर्षित 

धुर्मुसको रंगशाला निर्माण अभियानमा क्रिकेट मात्र नभएर अन्य विधाका खेलाडीहरुलाई पनि आकर्षित गरिरहेको छ । पछिल्लो पटक फुटबलर अनिल गुरुङ र तेक्वान्दो खेलाडी दिपक विष्ट उनको अभियानमा जोडिएका छन् ।

दुवैले धुर्मुसलाई भेटेर रंगशाला निर्माणमा आफूहरुको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।

धुर्मुसले आफूहरुको अभियानमा जिम्मेवार र विज्ञ व्यक्तिहरु जोडिदै र टिम ठूलो हुँदै गएकाले हौसला बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment