Comments Add Comment

साढे ३३ केजी सुनकाण्ड : को हुन् ‘गोल्ड डन’ गोरे ?

२६ चैत, काठमाडौं । नेपाल प्रहरी नयाँ नेतृत्व पाउने संघारमा छ । तीन दिनपछि वर्तमान प्रहरी प्रमुख प्रकाश अर्यालको कार्यकाल सकिँदैछ र सर्वेन्द्र खनाल, रमेश खरेल, पुस्कर कार्की, उत्तम कार्कीहरु मध्येबाट एक महानिरीक्षक बन्नेछन् ।

तर, अहिले प्रहरी बृत्तमा नयाँ आईजीपी भन्दा साढे ३३ केजी सुनकाण्डको चासो र चर्चा बढी छ ।

यसमा प्रहरीको माथिल्लो दर्जाकै अधिकारीहरु समेत मुछिएका छन्, जसको थप खुलासा हुन बाँकी छ ।

के हो साढे ३३ किलो सुनकाण्ड ?

माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको गाइगुइ चलेको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वाटर तानिएका छन् ।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह-सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको छ भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।

प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए

भारतको भगौडा आर्मीदेखि सुन तस्करीसम्म

प्रहरी वृत्तमै हलचल मच्चाएका साढे ३३ केजी सुनका मालिक हुन्, मोरङ, उर्लाबारीका चुडामणि उप्रेती । ‘गोरे’ उपनामले चिनिने उनलाई ‘गोल्ड डन’ पनि भन्ने गरिन्छ ।

प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए । यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा छन् ।

उनी मध्यम वर्गीय परिवारमा हुर्किएका थिए । नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागेका थिए ।

त्यहाँबाट भागेर उनी दूबई पुगेका थिए । त्यहाँ पनि उनले दूबई प्रहरीमा पनि जागिर खाए । स्वदेशमा छँदा मोरङ-११ फुटबल क्लबमा समेत आबद्ध उनको जीवनमा दूबई गएपछि भने एकाएक परिवर्तन आएको थियो ।

उनी निकट उर्लाबारीका एक व्यवसायी भन्छन्, ‘दूबई गएपछि एकाएक आर्थिक हैसियत फेरियो ।’

दूबई प्रहरीमा काम गर्दा नै उनले सुन तस्करी उपायको बारेमा जानकारी लिएको देखिन्छ । त्यसपछि दूबई प्रहरीको जागिर छाडेर तस्करीलाई धन्दा बनाएका थिए ।

जसलाई सफल बनाउन उनले प्रहरी अधिकारीसँग सम्बन्ध बढाए । दूबईमा प्रहरीको जागिर छाडेपछि निरन्तर नेपाल आउजाउ गर्न थाले ।

नेपालमा रहेका वेला उर्लाबारीका प्रतिष्ठित भनिएकाहरुसँग ‘मन्डे होटल’ मा दिनहुँ पार्टी चल्ने गरेको थियो । ‘उसले हाम्रो लागि प्रायः एउटा कोठा रिजर्भ गर्ने गरेको थियो’, स्रोतले भनेको छ, ‘उनले कतिपयलाई स्कोर्पियो गाडीमा दिएका थिए ।’

देखिने गरी उनको उर्लाबारीमा डेढ विगा जग्गा र दुई तले पक्की घर बनाएका थिए । काठमाडौंको गुह्येश्वरीमा पनि आलिसान बंगला ठड्याएका उनले बानेश्वरमा दुई वटा कोठा भाडामा लिएर सुन स्टोर गर्ने गोदाम बनाएका थिए ।

हाल उनका भाइ र श्रीमति दुवै यूएईमा छन् । उनका परिवारका अधिकांश सदस्य उर्लाबारीबाट हिँडिसकेका छन् । उनको घरमा भाडामा बसेकाहरु घटना सार्वजनिक भएलगत्तै घर छोडेर निस्किएका छन् । गोरेसँगै सम्बन्ध भएकाहरु तैं चुप मैं चुप भएका छन् । गोरे भने भारतमा लुकेको प्रहरीको आशंका छ ।

स्थानीय मोहन काफ्लेको घरमा पुराण लागेका वेला पुरन भनिने पण्डितलाई सुनको औंठी दिएका थिए

पण्डितलाई सुनको औँठी, नेतालाई स्कोर्पियो !

सुन तस्करीबाट रातारात करोडपती भएका उनले स्थानीय तह र आम चुनावका बेला राजनीतिक दलका उम्मेदवारहरुलाई सहयोग समेत गरेको पाइएको छ । स्थानीय केही नेतालाई उनले स्कोर्पियो गाडी किनिदिएका थिए ।

लामो कपाल पालेर चुल्ठो बाध्ने गरेका उनले केही समयअघि स्थानीय मोहन काफ्लेको घरमा पुराण लागेका वेला पुरन भनिने पण्डितलाई सुनको औंठी दिएका थिए । स्थानीय भजन कीर्तन मण्डलीलाई दिनको ३० हजारको दरले रकम बाँडे ।

घटना हुनु केही दिनअघि उर्लाबारीमा भएको मेयर कप फुटबलमा समेत उनी सहभागी भएका थिए । उर्लाबारी-७ को प्रतिनिधित्व गर्दै खेलेका उनी बारे त्यसवेला कसैले चाल पाएनन् । खेलमा उनको टोली उपविजेता बनेको थियो ।

०५७ सालमा एसएलसी दिएका उनले उर्लाबारी क्याम्पसबाट आईए पढ्दा पढ्दै छोडेका थिए ।

सुन तस्करीमा प्रयोग हुने भरियालाई सामाजिक सञ्जाल प्रयोग गर्न निषेध गर्ने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । कतिसम्म भने सम्बन्धित ठाउँसम्म सुन डेलिभरी नहुञ्जेलसम्म मोबाइल पनि चलाउन दिँदैनथे ।

प्रहरीकै संलग्नतामा गोरे भागे ?

प्रहरी हिमचिमका कारण आफ्नो अपराध धन्दा लुकाउन सफल गोरे सनम हत्यामा फसे । सुन गायब भएपछि यातना दिने क्रममा सनमको मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, यो घटनाका प्रहरी पनि आफैं फस्न पुग्यो ।

१९ फागुनमा महानगरीय अपराध अनुसन्धान महाशाखाले एउटा सूचना पठायो, ‘अपराध महाशाखा र मोरङ प्रहरीको टोलीले विराटनगर-३, पोखरिया कन्यामार्गमा बा १२ च ५९६३ नम्बरको स्कर्पिओ गाडीको डिकीमा म्याट्रेस, त्रिपालले बेरेको अवस्थामा एक युवकको शव बरामद गरेको छ ।’

साँझ अपडेट दियो- तस्करीको सुनका कारण अपहरण गरी सिराहाको दक्षिण भेगमा सनमको हत्या भयो ।

त्यति नै वेला प्रदेश १ को संघीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङले पनि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिरहेको थियो । भोलिपल्ट २० गते मोरङमा पत्रकार त भयो तर, घटना विवरण फरक आयो ।

महाशाखाले सनमको हत्या सिराहमा भएको बताइरहँदा मोरङमा आयोजित पत्रकार सम्मेलनमा उर्लाबारी-१, सोल्टी खोलामा उनको हत्या भएको बताएको थियो ।

घटनामा संलग्न भएको आरोपमा त्यसवेलै काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, उर्लाबारीकै ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र ३७ वर्षीय मोहन काफ्ले पक्राउ परेका थिए । यद्यपि, अनुुसन्धानका क्रममा उनीहरु आफैं पनि तस्करीमा प्रयोग भएका भरिया भएको खुलेको छ ।

घटनामा गम्भीरतापूर्वक अनुसन्धान नगरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि अनुसन्धान समिति गठन भयो । घटनामा प्रहरी अधिकारीकै संलग्नता रहेको भेटिएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि चासो देखाएका थिए । र, गृहमन्त्रालयले छुट्टै छानबनि समिति गठन गरेको थियो ।

छानबिन समिति गरेको अनुसन्धान समितिले भने सनम शाक्यको शव १९ फागुनमा धरानको भानु चोकबाट बरामद गरेको तथ्य फेला पारेको स्रोतको भनाइ छ । सुन मालिक गोरेलाई भगाउन बिराटनगरबाट बरामद गरेको नाटक गरिएको बताइन्छ ।

११ जना समातिए

घटनाको अनुसन्धान गर्न गठित समितिले अहिलेसम्म ११ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भुजुङ गुरुङ, थाई एयरवेजका कर्मचारी बालकृष्ण श्रेष्ठ लगायत छन् । श्रेष्ठले नै एयरपोर्टबाट सुन भित्र्याउन सहयोग गरेको अनुसन्धान समिति स्रोतको भनाइ छ ।

यसअघि शुक्रबार प्रहरीले गोरे सुन राख्ने गरेको बानेश्वरस्थित घरमा छापा मारेको थियो । त्यहाँबाट प्रहरीले सुनको विस्कुट बोक्न प्रयोग हुने वेस्टकोट र पैसा गन्ने मेसिन भेट्टाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment