+
+

जब भीमसेन ढले, जनआन्दोलनमा हजारौं थपिए

अमृत सुवेदी अमृत सुवेदी
२०७४ चैत २७ गते ३:४०


२६ चैत, पोखरा । शहरदेखि गाउँसम्म जनआन्दोलनले ततिरहेको थियो । मान्छेहरु चोकचोक र टोलटोलमा भेला हुन थालेका थिए । तत्कालीन निरंकुश राजसंस्था र राजा ज्ञानेन्द्र शाहको विरुद्धमा नारा घन्कँदै थियो ।

चैत २४ गते तत्कालीन सात दलले जनआन्दोलनको घोषणा गर्नुपूर्व नै आन्दोलित थियो पोखरा । सात दलले औपचारिक रुपमै आहृवान गरेपछि जनआन्दोलनमा गाउँगाउँबाट किसान पनि शहर झरेर आन्दोलनमा सहभागी भए ।

‘जनआन्दोलनमा पोखरा काठमाडौंभन्दा पनि अघि थियो । घोषणा हुनुभन्दा पहिले नै पोखरामा आन्दोलन भएको थियो । घोषणापछि चर्को रुप लिएको हो,’ माओवादीका नेता तथा तत्कालीन जनआन्दोलनका एक अगुवा विश्वप्रकाश लामिछानेले भने, ‘गाउँगाउँबाट आन्दोलनकर्मी पोखरा झरेका थिए ।’

दलहरुले आन्दोलनका कार्यक्रम तयार गर्थे, कुन दिन कहाँबाट र्‍याली निकाल्ने सूची बनाउँथे । योजनाअनुसारै चैत २६ गते बिहान पीएन क्याम्पस बगरदेखि राजनीतिक दल र विद्यार्थीको र्‍याली महेन्द्रपुलतिर आउँदै थियो । कोही र्‍यालीमा सहभागी हुन त कोही महेन्द्रपुलमा र्‍यालीको स्वागत गर्दै मिसिने तयारीमा थिए ।

भीमसेनलाई गोली लाग्यो

महेन्द्रपुल चोकमा चारैतिरबाट आन्दोलनकारी भेला हुँदै थिए । चोकमा सेना तैनाथ थियो । चोकमै रहेको नेपाल टेलिकम कार्यालय रहेको भवनको छतमा नेपाली सेनाको टोली थियो ।

सेनाले महेन्द्रपुल चोकबाट आन्दोलनकारीलाई अगाडि बढ्न दिएन । एकाएक भीड आक्रोशित भयो । आन्दोलनकारीले टेलिकमको भवनतिर ढुंगा फ्याँके । टेलिकमका सीसा फुट्यो, उताबाट सेनाले गोली चलायो ।

महेन्द्रपुल चोकनिर आन्दोलनमा मिसिने तयारीमा बसेका एक जना आन्दोलनकारीलाई गोली लाग्यो । भीड छिरलियो । सेनाको गोली लागेर काभ्रे उग्रचण्डीका भीमसेन दाहाल भुइँमा भुक्लुक्क ढले । उनको घटनास्थलमै ज्यान गयो । २०६२ चैत २६ गते अर्थात आजैका दिन उनै भीमसेन दोस्रो जनआन्दोलनमा ज्यान गुमाउने पहिलो सहिद बने ।

भीमसेनको ज्यान गएपछि पोखरामा आन्दोलनले अझै उग्ररुप लिएको थियो । बिहान थोरै संख्यामा रहेका आन्दोलनकारी साँझपख भने हजारौंको संख्यामा सडकमा उत्रिएको एमाले अध्यक्ष तथा प्रदेश सांसद कृष्ण थापा बताउँछन् ।

भीमसेन: समयचेतका जोसिलो युवा

दोस्रो जनआन्दोलनमा ज्यान गुमाउने पहिलो व्यक्ति भीमसेन दाहाल काभ्रेबाट पोखरा आएका थिए । दाहालले पोखराको सभागृहचोक होटल आनन्दको भवनमा साइबर चलाउँथे ।

उनी समयचेत भएका जोशिलो व्यक्ति रहेका उनीसँग लामो समय संगत गरेका शिव पौडेल बताउँछन् । होटल आनन्द त्यतिबेला राजनीतिक व्यक्तिहरुको जमघट हुने थलो थियो । चोकमै भएका कारण पनि मुख्य र्‍याली र आन्दोलनको साक्षी थिए, यहाँ वरपरका मान्छे । होटल आनन्द आन्दोलनकारीको केन्द्रजस्तो पनि थियो । भीमसेनले जहिले पनि परिवर्तनका पक्षमा आवाज उठाउने शिव सम्झन्छन् ।

‘उनी सामान्य परिवारका व्यक्ति थिए । म आनन्द होटल चलाउँथे, उनी त्यही साइबर चलाउँथे,’ शिवले भने, ‘हाम्रो बीचमा कुरा हुँदा उनी खरो उत्रन्थे । उनी आन्दोलनमा होमिँदै थिए । तर, आन्दोलनले ल्याएको परिवर्तन हेर्न पाएनन् ।’

२६ गते बिहान भीमसेनले शिवलाई पनि आन्दोलनमा जान भनेका थिए । तर, शिव खाना खान गएका कारण उनी एक्लै आन्दोलनमा गएका थिए ।

ज्यान गएपछि राजनीति दाबी

जनआन्दोलनको घोषणासँगै भीमसेन आन्दोलनमा गइरहेका थिए । चित्त नबुझेको कुरा सिधै भन्ने उनीसँग कुनै पार्टीको सदस्यता पनि थिएन ।

भीमसेनको ज्यान गएपछि पोखरामा जनसागर ओलँदै थियो । जनआन्दोलनताका र पछि पनि भीमसेनलाई विभिन्न पार्टीले आफ्नो पार्टीको सदस्य भएको दाबी गरे ।

‘उनी पार्टीका कार्यकर्ता भन्दा पनि केही गर्नुपर्छ भन्ने सोच भएका व्यक्ति थिए,’ शिव भन्छन्, ‘तर उनको ज्यान गएपछि भने विभिन्न पार्टीले सदस्य भएको दाबी गरे ।’

स्मृति दिवस औपचारिकतामै सीमित

भीमसेनले जनआन्दोलनमा ज्यान गुमाएको आज १२ वर्ष पूरा भयो । भीमसेनकै मृत्युपछि पोखराको जनआन्दोलन चर्किएको थियो । हजारौं सडकमा ओर्लिएका थिए । जनताको आन्दोलन र आहुतिले राजसंस्था ढल्यो ।

जनआन्दोलन हुँदै लोकतन्त्र, गणतन्त्र, संविधान र संघीय सरकारसम्म आइपुग्दा देशमा धेरै परिवर्तन भएका छन् । आन्दोलनका सारथीहरु गाउँदेखि केन्द्रसम्मका सरकारमा पुगेका छन् । तर, आन्दोलनमा ज्यान गुमाएका व्यक्तिको सम्मान र सम्झानामा पनि उदेक र उराठलाग्दो औपचारिकता मात्रै सीमित भएको छ ।

भीमसेनको १३ औं स्मृति दिवसमा यस्तै उराठलाग्दो देखिएको छ । पोखरा महेन्द्रपुल चोक छेउमै भीमसेनको शालिक छ । १०/१५ जना भेला भएर त्यही शालिकमा माला लगाउने र सामान्य रुपमा उनको सम्झना गर्ने औपचारिकता मात्रै उनको स्मृति दिवस मनाइएको छ ।

केही सांसद, राजनीतिक दलका नेता मुस्कुराउँदै शालिकमा माला चढाएर हिँडे भने केही प्रतिष्ठानले गरेको कार्यक्रममा भाग लिए ।

स्मृति दिवस अब राज्यले मनाओस्

केही वर्षअघि पत्रकार दीपेन्द्र श्रेष्ठलगायतको पहलमा भीमसेन स्मृति प्रतिष्ठान गठन भएको छ । अहिले त्यही प्रतिष्ठानकी अध्यक्ष छन्, भीमसेनपत्नी सविता दाहाल । त्यही प्रतिष्ठानले सोमबार बिहान कार्यक्रम गरेको थियो ।

भीमसेनकी पत्नी सविता दाहाल भन्छिन्, ‘उहाँले साहदत प्राप्त गरेपछि आन्दोलनले चर्को रुप लिएको थियो । उहाँले परिवर्तनका पक्षमा आहुति दिनुभयो । स्मृति दिवस हामीले भन्दा पनि यो राज्यले मनाओस् ।’

सरकारले भीमसेनको स्मृति दिवस मनाउन थाल्ने हो भने उनको बलिदानको सच्चा सम्मान हुनसक्ने सविताको भनाइ छ । ‘मैले पति गुमाएँ, बाआमाले छोरा गुमाए, छोराहरुले बुबा गुमाए । तर त्यसको उचित सम्मान हुन सकिरहेको छैन । उहाँको स्मृति दिवस हामीले होइन अब राज्यले मनाओस्’ उनले भनिन् ।

प्रतिष्ठानका सल्लाहकार विश्वप्रकाश लामिछानेले जनआन्दोलनमा ज्यान गुमाएका भीमसेनको परिवारका मनमा के गुजि्ररहेको छ भन्ने सरकारले नबुझेको बताए । ‘केही व्यक्ति जम्मा भएर शालिकमा माल्यार्पण गरेरमात्र उनको सम्मान हुँदैन,’ उनले भने ।

भीमसेनको सम्मानमा सराङकोटमा शालिकसहित पार्क बनाउन लागिए पनि उक्त ठाउँ पोखरा महानगरपालिकाले अर्कै प्रयोजनमा प्रयोग गर्न लागेको भन्दै उनले दुख व्यक्त गरे ।

माओवादी कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङले भीमसेनजस्ता व्यक्तिको आहुतिकै कारण जनआन्दोलन सफल भएको बताए ।

भीमसेनहरुका सपना संसदमा उठाउँछौं : उससभामुख

स्मृति दिवसको कार्यक्रममा सहभागी हुनेहरुमा प्रदेश ४ का उपसभामुखसहित २ सांसद पनि सहभागी थिए । उपसभामुख सिर्जना शर्मा, सांसद कृष्ण थापा र प्रभा कोइरालाले भीमसेनहरुका सपना पूरा गर्न प्रदेश सरकारमार्फत लागि पर्ने प्रतिवद्धता जनाए ।

जनआन्दोलनमा ज्यान गुमाएका व्यक्तिले देखेको सपना पूरा गर्न आफूहरुले नसकेको उपसभामुख शर्माले बताइन् । ‘भीमसेनहरुकै आहुतिका कारण म अहिले प्रदेश सरकारको उपसभामुख भएकी हुँ,’ शर्माले भनिन्, ‘म भीमसेनजस्ता शहिदका सपना र उनका परिवारका मुद्दा संसदमा उठाउन पहल गर्छु ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?