Comments Add Comment

यी हुन् २०७४ का टप टेन गीत

इतिहासदेखि नै गीतसंगीत नेपाली चलचित्रको हिस्सा रहँदै आएका छन् । गीतसंगीतकै कारण हिट भएका धेरै चलचित्रहरुको नाम लिन सकिन्छ ।

२०७४ सालका कुरा गर्दा फिल्मी संगीतको दृष्टिकोणले निकै सुखद रह्यो । एकपछि अर्को चलचित्रका गीतहरुले बजार पिटे । पार्टीदेखि पिकनिकसम्म बसदेखि विवाहसम्म नेपाली गीत नै बढि घन्किए । यीमध्ये धेरैजसो लोकलयमा आधारित गीतहरुको बोलबाला यो वर्ष रह्यो ।

संगीतकारको कुरा गर्दा राजनराज सिवाकोटी यो वर्ष अत्यधिक चम्किए । उनले निर्देशन गरेका गीतहरुले यूट्यूवमा रेकर्डमाथि रेकर्ड राखेका छन् ।

हामीले विभिन्न मापदण्डहरुका आधारमा यो वर्षका १० लोकपि्रय गीतको छनोट गरेका छौं, जुन यसप्रकार छन् ।

१. कुटुमा कुटु सुपारी दाना (२ रुपैयाँ)

यो वर्ष नेपाली गीत-संगीतको दुनियामा उधुम मच्चाउने काम गर्‍यो ‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीतले । चलचित्र दुई रुपैंयामा राखिएको उक्त गीत फिल्म रिलिज हुनुअघि नै युट्युवमा सार्वजनिक गरिएको थियो । गीतकै कारण फिल्मलाई समेत ब्यापारिक लाभ मिलेको विष्लेषण गरिएको छ ।

राजनराज शिवाकोटीको शब्द, संगीत रहेको उक्त गीतमा राजनराज, मेलिना राई र राजन इशानको स्वर रहेको छ । स्वस्तिमा खड्का, निश्चल बस्नेत र बुद्धि तामाङले अभिनय गरेका छन् । लोकलयको उक्त गीत विभिन्न समारोहमा अत्याधिक बज्ने गरेको छ । विवाह र पिक्निकदेखी विद्यालयले आयोजना गर्ने कार्यक्रममा पनि धेरै बज्ने गरेको छ कुटुमा कुटु सुपारी दाना ।

साथै यो गीतले यूट्यूवमा सर्वाधिक हेरिएको नेपाली गीतको रेकर्ड पनि राखेको छ । १० महिनाभित्र यो गीतलाई यूट्यूवमा साढे ५ करोड पटक हेरिएको छ ।

२. काले दाई काले दाई (पर्व)

वर्ष २०७४ को प्रारम्भमा हलमा लागेको चलचित्र ‘पर्व’को ‘काले दाई काले दाई..’.बोलको आइटम गीत फिल्म रिलिज हुनु अगाडि नै चर्चाको विषय बनेको थियो । दिनेश राउतको शब्द, कोशिस क्षेत्रीको संगीत रहेको उक्त गीतमा निश्चल बस्नेत र मिना निरौलाले स्वर दिएका छन् । माला लिम्बुले उक्त गीतमा नृत्य गरेकी छिन् । यो डान्सिङ गीत पनि  विभिन्न समारोहहरुमा अत्यधिक बज्ने गर्छ । यूट्यूवमा यसलाई दुई करोड ३६ लाख पटक हेरिएको छ । फिल्म भने खासै सफल भएन ।

३. नाइलनको साडीमा (छक्का पञ्जा २)

दिपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा-२’मा रहेको ‘ए दाजु नसमाउ नारीमा…’ ले राम्रै चर्चा पायो । तर, गीत विवादमा पनि पर्‍यो । सुरुमा अल्मोडा राना उप्रेतीको संगीत भनिएको उक्त गीत सार्वजनिक भएको केही दिनमा चोरिएको पुष्टि भयो ।

कान्छा मगर नेपालीको संगीत रहेको उक्त गीतलाई उप्रेतीले तोडमोड गरेका थिए । कान्छा नेपालीको शब्द र भाकासँग ए दाजु…को शब्द र भाका मिलेपछि अल्मोडाले गीत चोरेको पुष्टि भयो । पछि युट्युवमा संगीतकारको नाम पि्रन्स नेपाली र कान्छा मगर नेपाली उल्लेख गरिएको छ । दिपकराज गिरीको शब्द भनिएको उक्त गीतका शब्द समेत चोरी भएको पुष्टि भएपछि गीतकारका रुपमा पछि पि्रन्स नेपालीको नाम राखिएको थियो । चोरीकै भएपनि गीतलाई दर्शकले मन पराए । यूट्यूवमा यो गीत २ करोड १९ लाख पटक हेरिएको छ ।

४. कसम हो कसम (ए मेरो हजुर २)

लामो समय अभिनयमा सक्रिय झरना थापाको डेब्यु निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर-२’ ले दर्शकलाई राम्रै मनोरञ्जन दियो । साम्राज्ञी राज्य लक्ष्मी शाह, सलोन बस्नेत, सलिनमान वानियालगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेको उक्त चलचित्रमा रहेको शीर्ष गीत ‘कशम हो कसम…’लाई दर्शकले सर्वाधिक मन पराए । कृष्णहरी बरालको शब्द रहेको उक्त गीतमा कल्याण सिंहको संगीत र सुगम पोखरेलको स्वर रहेको छ ।

साम्राज्ञी र सलिनमान फिचरिङ उक्त गीतमा शब्द र संगीतको कुशल संयोजनको अतिरिक्त भिज्युलाइजेशनले पनि दर्शक बढाउन भुमिका खेलेको थियो । यूट्यूवमा यो गीत एक करोड २६ लाख पटक हेरिएको छ ।

५. पर्ख पर्ख मायालु (मंगलम)

यस वर्षको सफल चलचित्र ‘मंगलम’ मा रहेको ‘पर्ख पर्ख मायालु…’ बोलको गीत गाउँदेखि शहरसम्म लोकपि्रय भयो । यूट्यूवमा यो गीत एक करोड ४३ लाख पटक हेरिएको छ ।

दिपक शर्माको संगीत रहेको उक्त गीतमा कृष्ण काफ्ले र बिन्दु परियारको स्वर रहेको छ भने शिल्पा पोखरेल र पुष्प खड्काले अभिनय गरेका छन् । कविराज गहतराजको कोरियोग्राफीले गीतको भिडियो आकर्षक बनेको छ । यो गीतलाई यूट्यूवमा एक करोड ४३ लाख पटक हेरिएको छ ।

६. तिमी रोएको पल (ऐश्वर्य)

मेलोडी संगीतमा अब्बल मानिने अर्जुन पोखरेलको शब्द/संगीत रहेको ‘तिमी रोएको पल…’ शीर्षकको गीत दर्शकले निकै मन पराए । चलचित्र ऐश्वर्यामा रहेको उक्त गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । यो गीतलाई यूट्यूवमा एक करोड ४७ लाख पटक हेरिएको छ ।

रमेश उप्रेती र दिपिका प्रशाइको मुख्य भुमिका रहेको उक्त फिल्मले लामो समयपछि अभिनयमा फर्किएका उप्रेतीलाई कमब्याक हुन सघायो भने दिपिकालाई स्थापित नायिकाको श्रेणीमा उभ्यायो ।

७. रुपै मोहनी (सत्रु गते)

वर्षको अन्त्यतिर प्रदर्शनमा आएको चलचित्र ‘शुत्रु गते’ को रुपै मोहनी…बोलको गीत दर्शकका लागि मनोरञ्जनको खुराक बनेको छ । टंक बुढाथोकीको संगीत रहेको उक्त गीतमा लोकराज अधिकारीको शब्द रहेको छ भने टंक बुढाथोकी र मिना निरौलाको स्वर रहेको छ ।

लोक परिवेशका शब्द शैली रहेकै कारण गीतको यति धेरै प्रशंसा भएको स्रोताहरुको भनाई छ । हरिबंश आचार्य, दीपाश्री निरौला, पि्रयंका कार्की, दिपकराज गिरी, आँचल शर्मा, पल शाह लगायतले गीतमा अभिनय गरेका छन् । यूट्यूवमा यो गीत एक करोड ५४ लाख पटक हेरिएको छ ।

८ भन्छु आज (म यस्तो गीत गाउँछु)

सुगम पोखरेलको संगीत रहेको भन्छु आज…बोलको गीत पनि यस वर्ष निकै मन पराइयो । सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु’ मा राखिएको उक्त गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । पल शाह र पूजा शर्माको मुख्य भुमिका रहेको उक्त गीतको पनि कोरियोग्राफी अब्बल छ । यो गीतलाई यूट्यूवमा एक करोड ४५ लाखपटक हेरिएको छ ।

९. आइ एम सरी (फाटेको जुत्ता)

चलचित्र ‘फाटेको जुत्ता’ मा रहेको ‘आइएम सरी…’ बोलको गीत दर्शकलाई मन परेको अर्को गीत हो । प्रविण मल्लिकको शब्द, संगीत र स्वर रहेको उक्त गीतमा पि्रयंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया र रबिन्द्र झाले अभिनय गरेका छन् । यो गीतले यूट्यूवमा एक करोड २४ लाख भ्यूज पाएको छ ।

१०. चरी चट्ट परी (कान्छी)

श्वेता खड्काले बनाएको चलचित्र कान्छीको ‘चरी चट्ट परी भुरुरु…’ले दर्शकलाई राम्रै प्रभाव पार्‍यो । राजनराज शिवाकोटीको शब्द, संगीत रहेको उक्त गीतमा राजनराज र अञ्जु पन्तको स्वर रहेको छ । यो गीतलाई यूट्यूवमा एक करोड ३९ लाख पटक हेरिएको छ । आकास अधिकारीको निर्देशन रहेको उक्त चलचित्रमा श्वेता खड्का र दयाहाङ राइले मुख्य भुमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment