Comments Add Comment

यस्ता बानीले गर्नसक्छ हानि, छन् भने छोडिहाल्ने कि ?

मानिसको पहिचान हो बानी अनि व्यवहार । व्यवहार राम्रो छ भने सबैले राम्रो गर्छन्, आफ्नै व्यवहारमा समस्या छ भने आफ्ना लागि संसारै समस्या बन्नसक्छन् ।

व्यासजीले लेखेका १८ पुराणमध्ये एक हो पद्मपुराण । उक्त पुराणमा ४ वटा बानीको चर्चा गरिएको छ जसका कारण मानिसको जीवन बर्बादीतिर धकेलिन सक्छ । जीवनमा सदैन उन्नति एवं सुखको चाहना गर्ने व्यक्तिले त्यस्ता बानी छन् भने त्यागिहाल्नु बुद्धिमानी हुन्छ ।

पद्म पुराणमा भनिएको छ-
न चात्मानं प्रशंसेद्वा परनिन्दां च वर्जयेत् ।
वेदनिन्दां देवनिन्दां प्रयत्नेन विवर्जयेत् ।।

१) आफ्नो प्रशंसा गर्ने बानी

कतिपय व्यक्तिमा आत्मप्रशंसा गर्ने बानी हुन्छ । यस्तो बानिले मानिसलाई मतलबी तथा घमण्डी बनाइदिन्छ । यस्ता मानिस हरेक अवस्थामा आफूलाई अरूभन्दा माथि राखेर देखाउने प्रयास गर्छन् । यस्तो बानीले जतिसुकै बेला पनि हानि गर्नसक्छ तसर्थ त्यस्तो बानीलाई त्याग्नु नै हितकारक हुन्छ ।

२) अर्काको निन्दा गर्ने बानी

कसैको पनि निन्दा वा अपमान गर्नु शास्त्रका दृष्टिले सार्‍है खराब काम हो । यस्तो गर्ने मानिस आफ्नो काम नै छाडेर अर्काको कमजोरी खोतल्न लागिपर्ने गर्छ । जीवनमा सफलता प्राप्त गर्ने चाहना छ भने यस्तो बानीलाई कहिल्यै अँगाल्नु हुँदैन ।

३) वेदादि शास्त्रको अपमान गर्ने बानी

वेद, उपनिषद्, पुराण आदिलाई हिन्दू धर्ममा पूजनीय मानिन्छ । वर्तमान समयमा मानिसहरूबीच यसको महत्व कम हुँदै गइरहेको देख्न सकिन्छ । यस्ता शास्त्रको मर्म नबुझी, अध्ययन नगरी कथित रूपमा जथाभावी बोल्नेहरूको जमात जतासुकै देख्न सकिन्छ । यस्तो बानीले मानिसको जीवनलाई प्रकारान्तरले बर्बादीतिर नै धकेलिरहेको हुन्छ । त्यसकारण जीवनमा आनन्द चाहने व्यक्तिले भुलेर पनि वेदादि शास्त्रको अपमान गर्नुहुँदैन ।

४) भगवान् तथा देवीदेवताको निन्दा गर्ने बानी

कतिपय मानिसलाई धर्मप्रति आस्था हुँदैन । उनीहरूलाई धर्मज्ञानप्रति कुनै रुचि हुँदैन र उनीहरू शास्त्रमा विश्वास पनि गर्दैनन् । यस्ता व्यक्तिलाई शास्त्रले पापी भनेको छ । यस्तो बानी भएको व्यक्ति जीवनमा कहिल्यै पनि सुखी हुन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment