Comments Add Comment

राजा महेन्द्रभन्दा केपी ओली शक्तिशाली : रञ्जित राय

ओलीको भ्रमणबारे भारतका ७ नेता र कूटनीतिज्ञ के भन्छन् ?

२७ चैत, काठमाडौं । चीनसँगको नेपालको निकटताबाहेक अरु धेरै चासो नराख्ने भारतीय नेता, कुटनीतिज्ञ र पत्रकारहरुको जिज्ञासाको पाटो यसपटक अलि फराकिलो भएको छ ।

नेपालमा बढ्दो चिनियाँ प्रभावबाहेक अरु विषय पनि अब नेपाल मामिलाका जानकार भारतीयहरुका लागि जिज्ञासा बन्न थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमणका क्रममा औपचारिक र अनौपचारिक कुरा गर्ने क्रममा उनीहरुले नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुसँग सोधेको प्रश्न थियो- ओली उहिलेका राजाहरुभन्दा पनि शक्तिशाली नेत बन्न लागेका हुन् ?

ओली दिल्ली पुग्नुअघि नै नयाँदिल्लीको गुलमोह पार्कस्थित आफ्नै निवासमा कुरा गर्दै पूर्वभारतीय राजदूत रञ्जितरायले भनेका थिए- ओलीजी त राजा महेन्द्रभन्दा पनि शक्तिशाली बनेर निस्किए । पार्टी एकता गराउन सके भने उनी शताव्दीकै बलियो नेपाली नेता बन्न सक्छन् ।

केपी ओलीको यसपटकको भ्रमणका क्रममा दिल्लीमा भेटिएका नेपालबारे चासो राख्ने र जानकारी राख्नेहरुको प्रश्न ओलीको आशन्न चीन भ्रमण, पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण र ओली शक्तिशाली बन्दै गइरहेको सन्दर्भमै केन्दि्रत थिए । त्यसबाहेक उनीहरुले अब नेपाल भारत सम्बन्धमा कोर्ष करेक्सन हुन लागेको टिप्पणी गरे ।

रञ्जित रायजस्ता कुटनीतिज्ञहरु अझै पनि नेपालले संविधानलाई परिमार्जन गर्नुपर्ने पक्षमा छन् । तर, अब स्थिर सरकार बनिसकेको अवस्थामा भारतले नेपालको आन्तरिक विषयमा इंगेज हुने भन्दा पनि आर्थिक एजेण्डामा सहकार्य गर्नुपर्ने पक्षमा भारतीयहरु एकमत देखिएका छन् । यद्यपि चीनसँगको नेपालको निकटता भने दिल्लीमा अझैसम्म तनावकै विषय बन्ने गरेको छ ।

भारतीय मिडियाका हेडलाइनमा नेपालका प्रधानमन्त्रीको भ्रमणको न्युज बन्दा पनि चीन जोड्नु अनिवार्य देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोध्ने भारतीय पत्रकारले पनि चीनसँगको निकटतामै केन्दि्रत गरिरहेका थिए । जबकि प्रधानमन्त्रीले उनीहरुलाई यतिमात्र जवाफ दिए-लेट देम टक ।

ओलीको भारत भ्रमणका क्रममा दिल्लीका विभिन्न औपचारिक तथा अनौपचारिक समारोहमा भेट भएका मन्त्री, नेता र कुटनीतिज्ञसँग नेपाल भारत सम्बन्धको अबको चरणबारे लिइएको प्रतिक्रिया जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

ओली र मोदीका नारा परिपूरक

रविशंकर प्रसाद, भारतीय कानूनमन्त्री

प्रधानमन्त्री ओलीजीलाई भारतले उच्च सम्मान दिएको छ, यसको कारण यो पनि हो कि हामी अब नेपालसँगको सम्बन्धलाई नयाँ युग अनुसार एक अर्काको लाभमा विकास गर्न चाहान्छौं । यो सम्बन्ध समय अनुसार अरु प्रगाढ हुनेछ ।

म यो भन्छु, जबसम्म काठमाडौंमा पशुपतिनाथजी विराजमान छन् र हिमालयमा केदारनाथ छन्, तबसम्म भारत र नेपालको दोस्ती र मित्रता हमेशा स्थायित्व हुनेछ ।

जबसम्म नेपालमा पशुपतिनाथ र काशीमा विश्वनाथ छन्, तबसम्म हाम्रो सम्बन्धको गहिराइ अझ बढ्नेछ । जबसम्म नेपालमा पशुपतिनाथ र कश्मिरका पहाडमा अमरनाथ छन्, तबसम्म कुनै समस्या छैन ।

अचेल म पनि टीभीमा नेपाली च्यानल हेर्छु । गणेशको भक्ति संगीतले धेरै प्रभावित पार्छ । हामी यसरी बाँधिएका छौं र अझ हामी मबजुत सम्बन्धमा गाँसिन चाहन्छौं । म एकमात्र भन्न सक्छु, यो भ्रमणले सम्बन्ध अझ माथि लगेको छ । मोदीजीले भनिसक्नुभएको छ-नेपालको प्रधानमन्त्री ओलीजीको नारा र हाम्रो नारा अब परिपूरक भएका छन् ।

रामायण सर्किट र बुद्ध सर्किट बन्छ

सुरेश प्रभु, भारतीय वाणिज्यमन्त्री

प्रधानमन्त्री केपी ओलीको यसपटकको भारत भ्रमण बिगतका भ्रमणहरुको निरन्तरतामात्र होइन । हामीले अब नयाँ ढंगले सोचेका छौं ।

हाम्रो सम्बन्ध अन्त काहिँ पनि तुलनायोग्य छैन । हिजो पनि सम्बन्ध बिग्रिएको थिएन, तर केही समस्या आएका थिए, अब ती बिर्सनलायक छन् । जलमार्ग र रेलमार्गको कनेक्टिभिटीमा हामी नजिक छौं ।

काठमाडौं र रक्सौल रेल बनाउनेलगायतका महत्वपूर्ण सहमति भएका छन् । नेपालमा लगानी बढाएर रोजगारी सिर्जना गर्न, नेपाली युवाको क्षमता विकास गर्न र धार्मिक सर्किट बनाउन हामी खोज्दैछौं । हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किट र बुद्ध सर्किटको कुरा गर्नुभएको छ ।

अब त्यसमा हामी केन्दि्रत हुनेछौं । अर्को साता नेपालका बाणिज्यमन्त्री मात्रिका यादवजीसँग दिल्लीमा हामी कुरा गर्दैछौं । प्रधानमन्त्री ओलीको भ्रमणले सम्बन्धमा नयाँ च्याप्टर ओपन गरेको छ । हामी नेपालसँग विश्वासको सम्बन्ध बनाउन चाहान्छौं ।

ओलीको प्रश्नमा मोदी गम्भीर बन्नुभएको छ

जनरल भिके सिंह, भारतीय विदेश राज्यमन्त्री

नेपालसँगको सम्बन्धलाई नयाँ युगमा प्रवेश गराएको छ, यो पटकका ओलीजीको भ्रमणले । दुवै प्रधानमन्त्रीबीच दुई चरणमा एक्ला एक्लै वार्ता भए । खुलेर कुरा भएका छन् ।

विश्वासको आधार बनाउनुपर्छ भन्ने ओलीजीको भनाइमा मोदीजी गम्भीर हुनुभएको छ । हामीले विगतमा भएका सम्झौता अनुसार किन काम गर्न सकेनौं भन्ने अब दुवै पक्षका मेकानिज्म बसेर समीक्षा हुनेछ ।

नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले कुनै दख्खल अञ्दाजी गर्न चाहँदैन भन्ने कुरा हामीले प्रष्ट पारेका छौं । अब नेपाल र भारतको समृद्ध आर्थिक समृद्धि र विकासमा एक अर्काको सहयोगी बन्नेतर्फ अघि बढेको छ । दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा जे बोल्नुभएको छ, अबको हाम्रो यात्रा त्यसैतर्फ अघि बढ्नेछ ।

कोर्स करेक्सन जरुरी थियो

मणिशंकर ऐयर, पूर्वविदेशमन्त्री तथा कांग्रेस आइ नेता

नेपाल भारत सम्बन्धमा कोर्स करेक्सन जरुरी थियो । हामीले मधेस आन्दोलनको बहानामा मोदी सरकारले नेपालमाथि सीमानामा लगाएको अघोषित नाकाबन्दीको त्यतिबेलै बिरोध गरेका थियौं । त्यो समाधानको बाटो थिएन । मोदीजी अहिले कोर्ष करेक्सनको चरणमा पुगेका हुन् भने त्यो राम्रो कुरा हो ।

हामी सबै छिमेकीसँग सम्बन्ध सुधार हुनुपर्छ भन्छौं, त्यसमा पनि नेपालसँगको सम्बन्ध बिग्रनु भनेको भारतको हितमा हुँदैन भन्ने हाम्रो मान्यता हो ।

ओलीजी जुन जनमत लिएर प्रधानमन्त्री बन्नुभएको छ, उहाँको विकास र समृद्धिको भिजन पूरा गर्न भारतले पनि सहकार्य गर्नुपर्छ ।

ओली राजा महेन्द्र भन्दा शक्तिशाली बन्दैछन्

रञ्जित राय, नेपालका लागि पूर्वभारतीय राजदूत

हामीलाई त खुशी लागेको छ । नेपालका नयाँ प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतबाट सुरु भएको छ । यसले पनि के दर्शाउँछ भने दुई देशबीचको सम्बन्ध कति महत्वपूर्ण छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीजीको सम्बृद्ध नेपाल र सुखी नेपाली भन्ने अभियान आफ्नो सबका साथ सबका विकास भन्ने अभियानसँग परिपूरक भएको बताउनुले धेरै राम्रो संकेत गरेको छ । विगतमा केही महिना पहिले द्वीपक्षीय सम्बन्धमा केही मिस अण्डरस्टाण्डिङ थियो ।

अब यो भ्रमणसँगै नयाँ अध्याय शुरु भएको छ । बिगत बिर्सेर भविष्य निर्माणमा लाग्ने बेला हो यो । ओलीजीलाई संसदमा अपार समर्थन मिलेको छ । उहाँलाई संसदमा ८० प्रतिशत समर्थन प्राप्त भएको छ ।

उहाँ बलियो नेता बन्न चाहिरहनुभएको छ । साँच्चै भन्ने हो भने उहाँ त राजा महेन्द्रपछिकै शक्तिसाली नेता बन्न लागेको देख्छु म त । मलाई लाग्छ अब नेपालमा स्थायित्व हुन्छ । र, विकास हामीहरुको उद्देश्य छ । सबैको साथ, सबैको विकास नै हो । यसमा अब दुवै देश अग्रसर हुन्छन् ।

नेपालको आन्तरिक मामिलामा दख्खल नदिउँ

केभी राजन, नेपालका लागि पूर्व भारतीय राजदूत

प्रधानमन्त्री ओलीको भ्रमण धेरै अर्थमा महत्वपूर्ण थियो । उहाँले जुन जनमत प्राप्त गरेर प्रधानमन्त्री बन्नुभयो,अब नेपाल स्थायित्वतर्फ जानेछ । उहाँ त नेपालका पहिलेका राजाभन्दा पनि बलियो नेता बन्दै हुनुहुन्छ । जनसमर्थन उहाँलाई छ । अब भारतसँग नेपालको सबन्ध बलियो बनेको छ ।

यसबीचमा केही असमझदारी थिए भने पनि अब त्यो कोर्ष करेक्सनको चरणमा पुगेको देखिरहेको छु । म त नेपाललाई सबैभन्दा माया गर्ने मान्छे हुँ । नेपालसँगको मेरो नाता अटुट छ । भारत र नेपालको नाता पनि त्यतिकै अटुट रहनेछ ।

अब नेपालको विकास र सम्बृद्धिको जुन एजेण्डा ओलीजीले अघि सार्नुभएको छ,त्यसमा भारत सहयोगी बन्नुपर्छ । भारतले अब नेपालको राजनीतिक मामिलामा दख्खल अन्दाज गर्नु हुदैन ।

ओली बलियो नेताका रुपमा उदाउँदैछन्

जनरल अशोक मेहता, नेपाल मामिला विज्ञ

मैले यो त धेरै राम्रो देखिरहेको छु कि ओलीजी र मोदीबीच धेरै गहिराईमा पुगेर छलफल भएको छ । मैले सुने अनुसार ओलीजीले भारतले प्रतिवद्धता अनुरुप काम नगरेकोमा अशन्तुष्टि जनाउनुभएको छ ।

मोदीजीले अब विगतलाई भुलेर नयाँ ढंगबाट मिलेर काम गर्ने कुरा गर्नुभएको छ । उहाँले त अब सम्बन्ध नै नयाँ युगमा प्रवेश गरेको भन्नुभएको छ । ओलीजीले प्रश्न गर्ने र मोदीजीले जवाफ दिनुपर्ने स्टेजमा यो भ्रमण भएको छ ।

अब मोदीजी र ओलीजी मिलेर काम गर्ने आधार बनेको छ । नेपालमा अेालीजी बिगतका राजाहरुभन्दा पनि बलियो नेताका रुपमा उदाउनुभएको छ । उहाँलाई झण्डै दुई तिहाई बहुमत प्राप्त भएको छ ।

माओवादीहरुलाई सँगै लिएर जानुभएको छ । दुवैतिर बलियो सरकार र बोल्डर नेतृत्व रहेको अवस्थामा नेपालको विकास हुने सम्भावना देखिन्छ । अब कामको परिणाम हेर्ने बेला छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment