Comments Add Comment

के नीति, नियम, नैतिकता नै धर्म हो त ?

हरेक व्यक्ति धर्मको परिभाषा फरक ढंगले गर्छन् । विद्वान्हरू विभिन्न ग्रन्थको हवाला दिँदै धर्मको परिभाषा बताउँछन् जसमा पर्याप्त विरोधाभाष पाइन्छ । यहाँ तिनलाई गलत भन्न खोजिएको होइन, मनोमानी ढंगको भन्न खोजिएको पनि होइन । धर्म के हो त भनेर बताउन खोजिएको पनि होइन तर धर्म के हो भन्ने विषयमाथि जिज्ञासा राखिएको भने पक्कै पनि हो । जे. कृष्णमूर्ति भन्दथे-ज्ञानका लागि संवादपूर्ण छलफल गर, बहस होइन, प्रवचन पनि होइन । छलफलले प्रश्नहरूको जवाफ खोज्छ भने बहसले नयाँ प्रश्न जन्माउँछ । प्रवचनचाहिँ एकतर्फी विचार हो ।

सम्प्रदाय धर्म हो त ?

धेरै मानिसहरू हिन्दू, बौद्ध, जैन, शिख, यहुदी, ईसाई एवं इस्लामलाई धर्म मान्दछन् । यी सबैसँग आआफ्नै धर्मग्रन्थ पनि छन् । धर्मग्रन्थमा साँच्चै धर्मको कुरा छ त ? पढ्दाखेरी थाहा पाइन्छ कि तिनमा छन् इतिहास, नैतिकता, राजनीति, युद्ध तथा ईश्वर एवं व्यक्ति विशेषको गुणगान । के यिनलाई किताबी धर्म भने हुँदैन ? भनिन्छ पनि यी सबै किताबी कुरा हुन् । बिरालाको धर्मको किताबमा लेखिएको थियो रे, जुन दिन आकाशबाट मुसाको वर्षा हुन्छ त्यस दिन पृथ्वीमा स्वर्गको साम्राज्य स्थापित हुन्छ । बिरालाको सपनामा मुसो देखिनुको अर्थ हुन्छ, आज दिन राम्रो बित्छ । हुनसक्छ, सिंहको धर्मको किताबलाई सबैभन्दा महान् मानियोस् । जंगलको कानुन त धेरैलाई थाहा नै छ ।

धार्मिक व्यवस्थाहरू धर्म हुन् त ?

धर्म र व्यवस्थामा फरक हुन्छ । यो कुरा सायद कमैले मात्र पत्तो पाउँछन् । भनिन्छ कि व्यवस्था राजनीतिक एवं समाजको हिस्सा हो न कि धर्मको । सोचौं कानुनको धर्मसँग के सम्बन्ध ? यम र नियम यसकारण धार्मिक व्यक्तिका लागि विहित हुन्छन् कि ऊ स्वयंलाई साधनाको कसीमा घोटेर अघि बढोस्, मोक्ष एवं ईश्वरप्राप्तिको मार्गबाट नभट्कियोस् । तसर्थ यम र नियम राजनीतिक एवं सामाजिक व्यवस्थाको हिस्सा हुन सक्दैन ।

मत धर्म हो त ?

मतको अर्थ हुन्छ विशिष्ट विचार । कतिपय व्यक्तिले यसलाई सम्प्रदाय वा पन्थ मान्न थालेका छन्, जब कि मतको अर्थ हुन्छ कुनै विषयप्रतिको विचार । के धर्म मत हो त ? जब कि भन्ने गरिन्छ, धर्म मतमतान्तरदेखि पर हुन्छ । धर्म विशिष्ट विचार हो भने त लाखौं विशिष्ट विचारहरू छन् । हरेकलाई आफ्नो विचारप्रति आसक्ति हुन्छ र ऊ त्यसैलाई सत्य मान्दछ । गिलास आधा खाली छ वा आधा भरी छ भन्नु नकारात्मक र सकारात्मक विचारभन्दा बढी केही होइन । दृष्टिविहिनहरूले हात्ती छामेर अलग-अलग व्याख्या गर्छन् तर वास्तविकता ती सबै व्याख्याभन्दा फरक हुन्छ । यसबाट के सिद्ध हुन्छ भने मत वा विचार धर्म होइन ।

के नीति, नियम, नैतिकता आदि धर्म हुन् त ?

केही व्यक्तिहरूको भनाइ छ, प्रत्येक व्यक्तिको धर्म फरक हुन्छ । जस्तो, सरकारको धर्म हो जनताको ध्यान राख्नु, सैनिकको धर्म युद्ध लड्नु, व्यापारीको धर्म व्यापार गर्नु, शिक्षकको धर्म हो शिक्षा दिनु । जब यसरी परिभाषा दिँदै गइन्छ तब प्रश्न उठ्छ, उसो भए चोरको धर्म हो चोरी गर्नु ?

फेरि तर्क दिन सकिन्छ कि होइन, जुन कुरा नीति नियमसम्मत आचरण छ त्यही नै धर्म हो । यसमा फेरि नैतिकताको कुरा आयो । यसबाट त सिद्ध हुन्छ कि नैतिकता नै धर्म हो । श्रेष्ठ आचरण नै धर्म हो । त्यसो हो भने दाँत माझ्नु नैतिकता हो, तर एक हिसाबले दाँत माझ्नु हिंसा पनि हो किनभने यसो गर्दा हजारौं कीटाणुहरू मारिन्छन् । यो एक हिसाबले नैतिकता हो भने अर्को हिसाबले अनैतिकता पनि हो ।

धर्मका नाममा हजारौं, लाखौं मानिसको हत्या गरिन्छ र त्यसलाई नीतिको जामा ओढाइन्छ र भन्ने गरिन्छ, यो त धर्मयुद्ध हो । त्यसो हो भने कसरी मान्न सकिन्छ कि नीति वा नैतिकता धर्म हो ?

के स्वभाव वा गुण नै धर्म हो ?

एकाथरी ज्ञानीहरू भन्छन्, धर्मको परिभाषा माथि भनिएजसरी गर्न सकिँदैन । उनीहरू भन्छन्, आगोको धर्महो पोल्नु, पानीको धर्म हो शीतलता प्रदान गर्नु, पृथ्वीको धर्म हो धारण गर्नु र जन्म दिनु, हावाको धर्म हो सुकाउनु अनि जीवन दिनु । यसैगरी प्रत्येक व्यक्तिको धर्म गुणबोधक हुन्छ अर्थात् गुण वा स्वभाव नै धर्म हो । यसको मतलब हुन्छ-बिच्छीको धर्म डस्नु, बाघको धर्म हुन्छ मार्नु ।

त्यसो भए प्रत्येक व्यक्तिको गुण तथा स्वभावलाई नै धर्म मानिन्छ । कोही हिंस्रक स्वभावको छ भने उसको धर्म हो हिंसा गर्नु । त्यसो भए माथि नै भनेजस्तो चोरको स्वभाव चोरी गर्नु हो भन्ने कुरालाई चाहिँ किन नमान्ने ? अनि बिच्छीको धर्म डस्नु होइन भनियो भने बिच्छीलाई धर्मको शिक्षा दिएर उसलाई पनि नैतिक बनाउनु आवश्यक हुन्छ ।

केही व्यक्तिको भनाइ छ, धारयति इति धर्म अर्थात् जसले सबैको धारण गरेको छ, सबैलाई सम्हालेको छ त्यो नै धर्म हो । अब प्रश्न उठ्छ, कसले के धारण गरेको छ ? धारण गर्नु ठीक हुन पनि सक्छ र बेठीक हुन पनि ।

संस्कार हो त धर्म ?

कतिपय व्यक्ति भन्ने गर्छन्- धार्मिक संस्कारहरूबाट नै धर्मको पहिचान हुन्छ अर्थात् संस्कार नै धर्म हो । संस्कारबाटै संस्कृति एवं धर्मको जन्म हुन्छ । संस्कार नै सभ्यताको चिनारी हो । संस्कारहीन व्यक्ति असभ्य हुन्छ, पशुवत् हुन्छ ।

त्यसो हो भने महोदय, कुनै स्थान वा सम्प्रदायमा पशु बलि दिने संस्कार छ, रक्सी पिउने संस्कार छ, बहुविवाह गर्ने संस्कार छ । के यी सबै धर्म हुन् ? यस्तो पनि देखिएको छ कि कुनै एक सम्प्रदायको संस्कार अर्को धर्मको व्यक्तिका लागि रुढि हुन्छ, असभ्यताको निशानी हुन्छ । वास्तवमा संस्कारहरू हुनु नै रुढ हुनु हो !

ज्ञानीजन भन्ने गर्छन्- धर्म भनेको सबै प्रकारका संस्कारहरूबाट मुक्ति दिलाउने मार्ग हो । त्यसो भए संस्कारलाई कसरी धर्म मान्न सकिन्छ त ? हिजोको संस्कार आज रुढि हुन्छ, आजको संस्कार भोलि रुढि बन्छ । आज नेपालमा कतिजना ब्राह्मण छन् जो जनै लगाउँछन्, दैनिक गायत्री जप्छन्, चन्दन लगाउँछन् वा टुपी पाल्छन् ? पश्चिमाहरूले आफ्नो संस्कार र परिधानमा परिवर्तन ल्याएर त्यत्रो उन्नति गरिसके भने हामीले मात्र किन त्यसो नगर्ने ? यसो भन्दै आफ्नो संस्कार छोड्न जरुरी छ ? संस्कारमाथि वा संस्कारको परिभाषामा प्रश्न उठाउन सकिन्छ ।

धर्म के हो त ?

माक्र्सवादीहरूलाई सोध्ने हो भने उनीहरू भन्छन्- धर्म अफीम हो, नशा हो । यो पनि मानवतालाई शोषण गर्ने माक्र्सवादी सभ्य तरिका हो । उनीहरू भन्छन्- धर्म कहिल्यै पनि प्रगतिशील हुन सक्दैन । जब कि उनीहरू नै धेरै ठाउँमा विकासका बाधक बनेका अनेकौं दृष्टांश छन् ।

धर्म निरपेक्षतावादीहरूसँग सोधियो भने उत्तर आउँछ, दुःखी-दरिद्रीको सेवा नै धर्म हो । देशमा साम्प्रदायिक शक्तिहरूलाई बढावा दिनु हुँदैन । यो पनि एक प्रकारको राजनीति मात्र हो । उनीहरू दुःखी-दरिद्रीहरूको सेवा गर्ने नाममा आफूलाई सम्पन्न पार्दै छन् । उनीहरूकै शोषण गर्दै छन् ।

कथित साम्प्रदायिक शक्तिहरूसँग धर्म के हो भनेर सोधियो भने उनीहरू भन्लान्- हामी साम्प्रदायिक होइनौं, राष्ट्रवादी हौं र सर्वधर्म समभावको भावना राख्नु नै धर्म हो ।

अब कुरा गरौं साम्प्रदायिकहरू तथा कट्टरपन्थीहरूको । पहिलो दोस्राको विरुद्ध छ किनभने दोस्रो पहिलोको विरुद्धमा छ । उनीहरू दुवैथरी भन्ने गर्छन्- हाम्रो धर्ममा जे लेखिएको छ त्यो तिमीहरूको धर्ममा भन्दा निकै महान्, साँचो एवं पवित्र छ । जब कि उनीहरू एकअर्काको धर्मग्रन्थ पढेकै हुँदैनन् तर पनि के दाबी गर्छन् भने आफ्नो धर्मग्रन्थ अरूको भन्दा महान् छ ।

के यो धर्म हो ?

धर्म एक रहस्य हो, संवेदना हो, संवाद हो र आत्माको खोज हो । स्वयंलाई खोज्नुको नाम नै धर्म हो । जब कसैले धर्म भन्छ तब के ध्वनित हुन्छ भने त्यस्तो केही छ जसलाई जान्नु आवश्यक छ । कुनै शक्ति छ, कुनै रहस्य छ । अज्ञात वा अनन्तमा छलाङ मार्नु नै धर्म हो । जन्म, मृत्यु तथा जीवनलाई जान्नु नै धर्म हो ।

धर्मको मर्म

रहस्य के हो भने सबै आध्यात्मिक पुरुषहरूले आआफ्नै तरिकाले आत्मज्ञान प्राप्त गर्ने तथा नैतिक रूपले बाँच्ने बाटो बताएका छन् । वास्तवमा धर्मको अर्थ सत्य, अहिंसा, न्याय, प्रेम, व्यक्तिगत स्वतन्त्रता एवं मुक्तिको मार्ग मानिन्छ । तर धर्मका ठेकेदार भनाउँदाहरूको बढ्दो जगजगीले धर्मको अर्थलाई नै अधर्मको अर्थ बनाइदिएका छन् ।

कसैलाई संसारका सबै सम्प्रदायले एकै प्रकारको शिक्षा दिन्छन्, उनीहरूको इतिहास पनि एउटै छ भनेर जति सम्झाए पनि उसले आफू इतरको सम्प्रदायप्रति नकारात्मक भाव नै राख्छ, विद्वेष नै राख्छ । झन् भर्खरै एउटा सम्प्रदाय छाडेर अर्को सम्प्रदायमा गएको छ भने त उसले पुरानो सम्प्रदायप्रति यति धेरै विद्वेष राख्छ कि त्यसको कुनै लेखाजोखा नै हुन सक्दैन । यसको सीधा कारण के हो भने प्रत्येक अधार्मिक व्यवस्थालाई धर्म मानिएको छ ।

हिन्दू धर्ममा धर्मलाई जीवनशैलीका रूपमा धारण गर्ने, बुझ्ने तथा परिष्कृत गर्ने विधि बताइएको छ । धर्मलाई परिभाषित गर्नु त्यति नै कठिन छ जति ईश्वरलाई । संसारका हरेक विचारकले, जसजसले धर्ममाथि आफ्नो विचार राखेका छन्, उनीहरू सबैको परिभाषा फरक छन् । यस दृष्टिले हेर्दा वैदिक ऋषिहरूको विचार बढी उपयुक्त देखिन्छ, उनीहरूको भनाइमा सृष्टि तथा स्वयंको हित एवं विकासका लागि गरिने सबै कर्म धर्म हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment