Comments Add Comment

डोटेली युवाले बनाए प्रदेश ७ को लोगो

टेकबहादुर किमाडी । उनले बनाएको प्रदेश ७ को लोगो इन्सेटमा ।

२८ चैत, डोटी । ७ नं. प्रदेशको लोगो तयार गर्नका लागि भएको प्रतिस्पर्धामा डोटीका युवा टेकबहादुर किमाडीले बनाएको लोगो उत्कृष्ट भएको छ ।

प्रदेश सभाले लोगो छनौट गर्न प्रदेश सभा सदस्यहरुको समिति बनाएको थियो । सो समितिले सार्वजनिक सूचनामार्फत लोगो तयार गर्न आह्वान गरेको थियो । पाँच जनाले भाग लिएको लोगो बनाउने प्रतिस्पर्धामा डोटी शिखर नगरपालिका-११ किमडा गाउँका टेकबहादुर किमाडी सर्वोत्कृष्ट भएका हुन् ।

लोगो निर्धारण समितिले केही परिमार्जनसहित किमाडीले बनाएको लोगो प्रदेश सभामा पेश गरेको थियो । उक्त लोगोलाई आइतबार बसेको प्रदेश सभाको बैठकले अनुमोदन गरेको छ ।

लोगो डिजाइनर किमाडी प्रदेश सभा सचिवालयका सहायक कम्प्युटर अपरेटर हुन् । लोगोको अर्थ झल्काउने गरेर आठ बुँदामा लोगोको व्याख्या गरिएको छ । लोगोको माथिपट्टी रहेको नेपालको झण्डाले राष्ट्रियता झल्काउने, राष्ट्रिय झण्डामुनि रहेको निलो र सेतो रंगको हिमालले प्रदेशभित्रका दुई उच्च हिमाल अपि र सैपाललाई दर्शाउने र मध्यभागमा रहेको हरियो रंगको पहाडले प्राकृतिक श्रोतले सम्पन्न समग्र पहाडी भू-भाग र चुरे पहाडलाई जनाउने लोगो निर्माणकर्ता किमाडीले गरेको व्याख्यामा उल्लेख छ ।

यस्तै तलपट्टी रहेको समतल फाँटले प्रदेशको अन्नको भण्डारका साथै सांस्कृतिक विविधताले भरिएको तराईलाई इंगित गर्ने, राष्ट्रिय झण्डाको दायाँबायाँतर्फ रहेका नौ वटा लालीगुँरासले प्राकृतिक, सांस्कृतिक सुन्दरता तथा विविधताले भरिपूर्ण यस प्रदेशका नौ जिल्लाहरूको प्रतिनिधित्व गर्ने, अग्रभागमा रहेको नक्साले ७ नं. प्रदेशको नक्सा जनाउने, नक्साको तलपट्टी रहेको सुनौलो रंगको क्रस धानको बालाले हाम्रो प्रदेश कृषि उपजको धनी रहेको सन्देश दिने किमाडीले बताउँछन् ।

प्राकृतिक, साँस्कृतिक तथा भौगोलिक रुपमा सम्पन्न हामी प्रदेश सातको चालचलन, रितिरिवाज, भेषभुषा तथा भाषालाई सम्मान गर्न एकताको प्रतिकको रुपमा सुनौलो गोलो घेराभित्र प्रदेशको लोगो देखाइएको किमाडीले बताए ।

लोगो निर्धारण समितिका संयोजक तथा प्रदेश सभा सदस्य बलदेव रेग्मीले लोगो निर्माता किमाडीलाई प्रमाणपत्र दिएर सम्मान गरिने बताएका छन् । प्रदेश सभा सचिवालयका नायव सुब्बा युवराज जैशीका अनुसार संघीय संसदको सहयोगमा बहुमूल्य धातु मिलाएर चाँडै लोगो बनाइने भएको छ ।

प्रदेश ७ मा ५३ जना सांसद छन् ।

लोगो बनाउने प्रतिस्पर्धाहरुमा प्रदेश सभाका सदस्य श्यामलाल रानाथारू, धनगढी उपमहानगरपालिका-१ का हरिप्रसाद सिन्हा, धनगढी-४ का कृष्ण बोहरा र भजनी नगरपालिका-१ का चन्द्रराज पाण्डे पनि सामेल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment