Comments Add Comment

धनकुटाको ल्याण्डफिलः फोहोरमाथि सेल्फी !


२९ चैत, इटहरी । ल्याण्डफिल साइट । जब जब यो शब्द आउँछ शब्दसँगै भन्किरहेका झिँगा र गन्हाइरहेको फोहोरको डंगुरको सम्झना आउँछ । मास्कबिना छिर्न नसक्ने अवस्था हुन्छ त्यहाँ । वरपरका स्थानीयले चर्को विरोध गर्छन् । नेपालका औसत ल्याण्डफिल साइटको अवस्था यही हो ।

तर, धनकुटा नगरपालिकाको ल्याण्डफिल साइटको सवालमा भने यो सबै असत्य हुन्छ । त्यहाँ झिगाँ भन्किदैनन् । माहुरी र पुलतीहरु नाच्छन् । फोहोरको ह्वास्सै गन्ध आउँदैन । बगैँचाका केही वास्नादार फूलहरूको सुगन्ध नाकमा ठोकिन्छ । र, स्थानीयहरूको कुनै अवरोध छैन । ल्याण्डफिड साइटसँग सबै खुसी छन् ।

न्यूनतम १ सय ५० मिटरदेखि साढे तीन सय मिटर मात्रै पर रहेको बस्तीबाट कुनै अवरोध आएको छैन । बरु साथ आएको छ । यसका कारणहरूमा व्यवस्थित ल्याण्डफिल साइटले नै हो ।

तर धनकुटामा यो व्यवस्थित ल्याण्डफिल साइट बन्यो कसरी ? यो प्रश्नको उत्तर छ धनकुटा नगरपालिकाको फोहोर व्यवस्थापनमा खटिएका पुराना कर्मचारी तथा हालका वातावरण शाखा अधिकृत उपेन्द्र खनालसँग ।

फोहोर घरमै व्यवस्थापन भएपछि सजिलो

‘हामीले पहिले त ल्याण्डफिल साइटको दुर्गन्ध कम गर्ने दिमाग लाँयौँ ताकि बस्तीबाट विरोध नहोस’, खनाल भन्छन, ‘त्यसका लागि हामीले कुहिने फोहोर घरमै व्यवस्थापन गर्ने वातावरण बनायौँ र तत्काल नकुहिने नगन्हाउने फोहोरमात्रै सङ्कलन गर्यौ ।’ फोहोर दुर्गन्ध अन्त्य गर्न घरमै फोहोर विसर्जन तीन तरिका अपनाइयो ।

पहिलो तरिका, गाईबस्तु वा सुँगुरले खाने फोहोर सङ्कलन गरेर व्यवस्थापन गर्ने । दोस्रो तरिका, मल बन्न सक्ने फोहोर कुहाएर घरकै कौशीखेती र फूलबारीमा प्रयोग गर्ने । र, तेस्रो तरिका चाहिँ सम्भव हुनेले प्रांगारिक मल तथा गड्यौला खेती गरेर मल बिक्री गर्ने वा आफै ऊर्जा उत्पादन गर्ने । यी तीन उपायमा तिनै उपाय आफैंले अवलम्बन गरेका छन् वातावरण शाखाका अधिकृत खनालले ।

खनाल धनकुटा–४ देब्रेवासमा रहेको आफ्नो घरमा आफैंले उत्पादन गरेको फोहोरबाट ऊर्जा निकाल्छन् । आगन्तुकहरुलाई चियानास्ता त्यही उर्जामा पकाएर दिन्छन् ।

‘फोहोर व्यवस्थापन गर्ने र ऊर्जा उत्पादन गर्ने कुरामा अरूलाई भन्न मात्रै भन्दा गरेर देखाउँदा सबैलाई सन्देश हुँदोरहेछ’, खनाल भन्छन, ‘म वातावरण शाखा प्रमुख र यहीँको स्थानीय भएर लागु गरेपछि अरूहरूले पनि ऊर्जा उत्पादन नसके पनि कुहिने फोहोर घरैमा व्यवस्थापन गर्नुहुन्छ ।’

आम्दानी केन्द्र बन्यो ल्याण्डफिल साइड

३० रोपनी क्षेत्रफलमा ०६६ सालदेखि फोहोर व्यवस्थापनको सुरु गरिएको हो धनकुटाको ल्याण्डफिलमा । धनकुटा–६ सल्लेरीमा रहेको यो ल्याण्डफिल साइट अहिले धनकुटाको इज्जत भएको छ । कारण–यसको व्यवस्थापकीय सफलताले धनकुटा सबैभन्दा सफा नगरमा नेपालकै दोस्रो नगर भयो ०७३ सालमा । नगरपालिकाले ७ लाख पुरस्कार सरकारबाट पायो । नेपालमै प्रथम भयो ०७४ सालमा । अनि, १० लाख पुरस्कार पायो ।

सफा नगर भएर पाएको पुरस्कार पनि नगरका टोलटोलमा डस्टविन राख्नलाई प्रयोग गरिएकाले फोहोर नदेखिएको नगरपालिकाका कर्मचारीहरू बताउँछन् ।

कुहिएको फोहोर घरैमा व्यवस्थापन हुने र नकुहिने फोहोर गाडी आएपछि मात्रै सडकमा निकाल्न पाइने नियम छ धनकुटामा । यही नियम भएकाले सडक किनारमा फोहोरका डंगुर नदेखिएको धनकुटा बजार घर भएका कवि मुकुन्द प्रयास बताउँछन् । उनी भन्छन, ‘गर्दा हुँदोरहेछ । १० वर्ष अगाडि र अहिलेको धनकुटामा फोहोर व्यवस्थापन विल्कुल फरक छ । अरूले सिक्ने ठाउँ भएको छ धनकुटा ।’

हाल यो ल्याण्डफिल साइटले वार्षिक ४० हजार राजस्व पनि कमाउँछ । यहाँबाट पुनः प्रयोग हुने सामान टिपेर कौशल थापाले थप कमाउँछन् । उनले यहाँ १० जनालाई रोजगारी दिएका छन् । ल्याण्डफिलका पुनः प्रयोग हुन मिल्ने समान उठाएपछि ल्याण्डफिलको आयु पनि बढ्ने र कमाइ पनि हुने राम्रो विकल्प भएको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ बताउँछन् ।

ल्याण्डफिल्ड साइटको वरिपरि बगैँचा बनाइएको छ । वातावरण शाखा अधिकृत उपेन्द्र खनाल यहाँ ४० बढी जातका फूलहरू रहेको बताउँछन् । ‘यो दायाँ र बायाँको बगैँचा छ नि’, खनालले बगैँचा बारेमा बताउँदै भने, ‘यी सबै फोहोरमाथि बनेका वानास्दार बगैँचा हुन् । आज यहीँ दर्जनौँ आगन्तुकहरु टहलिन दैनिक आउँछन ।’

सुन्दर ल्याण्डफिल बनाउन खोज्दाखोज्दै आफैं यो ठाउँ पर्यटकीय क्षेत्र बनेको बताउँछन् धनकुटा नगरपालिकाको पर्यटन शाखाका प्रमुख विकास अधिकारी । अधिकारीका अनुसार यो चैत्र महिनासम्म मात्रै १८० समूहहरू ल्याण्डफिल साइट हेर्न आएका छन् । जसमा सय बढी त स्थानीय तहका जनप्रतिनिध र कर्मचारीहरु नै छन् ।

विभिन्न मन्त्री तथा उपप्रधानमन्त्रीहरुले पनि यो साइट भ्रमण गरेको पर्यटक शाखा प्रमुख अधिकारी बताउँछन् । धनकुटाको एक सामान्य स्थानमा सुन्दर ल्याण्डफिल साइट बनाएका कारणले नै यहाँका वातावरण शाखा र पर्यटक शाखाका कर्मचारीहरू अन्य स्थानीय निकायका लागि श्रोतव्याक्ति बनेका छन् ।

विभिन्न स्थानीय सरकारका कर्मचारी र जनप्रतिनिधिहरू आएर कर्मचारीहरूलाई व्यवस्थापनका बारेमा सुझाव लिन्छन् । सुझाव माग्दा अवलोकन भ्रमणमा आएकाहरुलाई सुझाव दिँदा धेरै कन्भिन्स भए पनि केही भने हुँदैनन् । यसको अनुभव छ वातावरण शाखाका अधिकृत उपेन्द्र खनालसँग ।

‘एकजना धनुषा जिल्लाका मेयरले तपाईलाई भूगोलले साथ दिएकाले मात्रै यस्तो राम्रो भयो भन्नुभयो’, भिरालो क्षेत्र हुँदैमा ल्याण्डफिल साइटमा गन्ध नआएको बुझेर प्रतिक्रिया दिएका ती मेयरलाई सुझाएको सम्झँदै खनाल भन्छन, ‘उहाँलाई मैले भूगोलले हैन भिजनले यो यस्तो भएको भनेर बताएँ । कुहिने फोहोर घरमै व्यवस्थापन र नकुहिनेको ल्याण्डफिल्डमा व्यवस्थापनका बारेमा बताएँ । अनिमात्रै उहाँले बुझ्नुभयो तर आफ्नो ठाउँमा लागु गर्नुभयो भएन, थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment