Comments Add Comment

एमाले अग्रगामी, माओवादी पछौटे : झलनाथ खनाल

'पार्टी एकतापछि पनि असंगति कायमै रहन्छ'


३० चैत, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अग्रगामी पार्टी भएको बताएका छन् । तर, माओवादी भने एमालेभन्दा ‘एक स्टेप पछाडि’ रहेको खनालको विश्लेषण छ ।

एमाले र माओवादीबीच साझा घोषणापत्र र विधान तयार भइरहेको बताउँदै नेता खनालले सो साझा दस्तावेजबाट पनि असंगति नहट्ने दाबी गरे ।

शुक्रबार राजधानीमा आयोजित नेपाल अध्ययन केन्द्रको एक अन्तरक्रियामा प्रमुख अतिथि बनेका खनालले भने- ‘नेकपा एमाले अलि अग्रगामी छ, माओवादी अलिकति केही स्टेप पछाडि छ । अब एउटै लेबलमा आउनुपर्‍यो ।’

तर, पार्टी एकता हुनासाथ दुई पार्टीभित्रको असंगति नसकिने र माओवादी र एमाले एउटै लेबलमा नआउने खनालले तर्क गरे । उनले भने- ‘हामीले एउटा लेबलमा ल्याउनका लागि अब आउने जुन घोषणापत्र छ, त्यसपछि पनि म के ठान्छु भने यो असंगति केही न केही रुपमा बाँकी रहनेछ ।’

नेकपा एमालेकै दस्तावेजहरुमा कतिपय असंगतिहरु भेटिएको भन्दै डा. खगेन्द्र प्रसाईले पेश गरेको डकुमेन्टमाथि टिप्पणी गर्दै एमाले नेता खनालले पार्टीभित्र पर्याप्त छलफल नभएका कारण त्यस्ता असंगतिहरु रहेको स्वीकार गरे ।

एमाले नेता खनालले भने- ‘हामी अझै पनि असंगतिहरुबाट मुक्त छैनौं । किनभने हामी गहन ढंगले बहस छलफल गरिरहेका हुँदैनौं । पार्टीभित्र पनि जतिमात्रामा सैद्धान्तिक, वैचारिक विषयहरुमा गहनतापूर्वक बहस हुनुपर्छ, त्यो यथोचित रुपमा नहुनुको कारणले हाम्रा दस्तावेजहरुमा कतिपय असंगतिहरु रहने गरेका छन् ।’

नेता खनालले थपे- ‘अझै म तपाईहरुलाई भनौं, अब हामी दुईवटा पार्टीहरु एकीकृत हुँदैछौं । दुईवटा पार्टीको एउटै घोषणापत्र निस्कँदैछ । त्यो दस्तावेजमा पनि अहिलेको जस्तो असंगति तपाईहरुले पाउनुहुनेछ । त्यो जारी रहनेछ । असंगतिहरु केही समयसम्म जारी रहनेछन् । भोलि त्यो दस्तावेज पास भएपछि असंगतिका बुँदाहरु फेरि लेख्नुपर्ने हुन सक्छ । हामी बहस जारी राखौंला । बहस र छलफलबाट कोही पनि भाग्नुहुँदैन ।’

एमाले र माओवादीवीचको मिल्ने कुरा के हो भन्ने बारेमा चर्चा गर्दै खनालले अगाडि भने- ‘केचाहिँ कुरा प्रष्ट छ भने नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो, यसमा दुबै पार्टीहरु एकै मतोमा आइपुगेका छन् ।’

नेपालमा २००७ सालदेखि ०६२/०६३ सालसम्म लडेपछि सामन्तवादको अन्त्य भएको खनालले विश्लेषण गरे । र, अब आफूहरु समाजवादी क्रान्तिको रुपान्तरणको नयाँ चरणमा आइपुगेको उनले बताए ।

नेपाली समाजमा वर्ग विश्लेषण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै एमालेका पूर्वअध्यक्ष समेत रहेका नेता खनालले भने- ‘नेपाली समाज अब प्रारम्भिकरुपमा पुँजीवादी समाज भयो । यो विकसित पुँजीवादी मुलुक हैन, प्रारम्भिक नै हो । अब यो ग्लाबेल क्यापिटलिज्मसँग लड्दै नेपाली समाजलाई समाजवादमा रुपान्तरण गर्नुपर्ने कालखण्डमा हामी आइपुगेका छौं ।’

यो पनि पढ्नुहोस्

पानीजहाज चढेर मोदीवाद नआओस् : घनश्याम भुसाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment