Comments Add Comment

सावधान, सिरियाबाट तेस्रो विश्वयुद्ध सुरु हुन सक्छ !

मैले कहिल्यै पनि सोचेको थिइँन कि असामञ्जस्यमा फस्दै गएको यो संसारमा तर्कका लागि मैले कुनै दिन फक्स न्युजका टिप्पणीकर्ताको भनाइ उद्धरण गर्नुपर्नेछ । तर आज म त्यही गर्दै छु ।

किन त ? सिरियामाथि भइरहेको आक्रमण र तेस्रो विश्वयुद्धको सम्भाव्य सुरुवातबारे टिप्पणीकर्ता टकर कार्लसनले यो हप्ता व्यक्त गरेको आक्रोश पूर्णतः तर्कसङ्गत छ । फक्स न्युजका आलोचकहरूले जति घृणा गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नियमित हेर्ने उक्त टेलिभिजनले दिएको सुझाव मानून् भन्ने मेरो कामना छ ।

डेमोक्राट र रिपब्लिकन गरी अमेरिकाका दुबै प्रमुख पार्टी यो भद्रगोलमा कसरी बाँधिएका छन् भन्ने विषयमा कार्लसनले टिप्पणी गरेका छन् । अर्कातर्फ मूल धारका सञ्चार माध्यम पनि सिरियाले हालै गरेको भनिएको रासायनिक आक्रमणका आधारमा अमेरिकाले गरेको सैन्य हस्तक्षेपलाई बल पुर्‍याइरहेकै छन् ।

गत अपि्रल ४मा दुमाको दमास्कसमा ४० जनाभन्दा बढी मानिसको हत्या भएको र यीमध्ये अधिकांश बालबालिका रहेको भनिएको छ । कुनै प्रमाणबिनै पश्चिमा शक्तिले यसमा सिरियाली राष्ट्रपति बसर अल असदको दोष देखेका छन् ।

“गत हप्ता क्लोरिन ग्यास प्रयोग गरिएको आक्रमणबाट असदलाई के फाइदा होला र ? अहँ, केही भएन,” कार्लसनको तर्क छ ।

“सिरियामा असदका सेनाहरू युद्ध जितिरहेकै थिए । इस्लामिक स्टेटलाई हराइसकेपछि अमेरिकी प्रशासनले पनि भर्खरै आफ्नो फौजलाई सिरियाबाट हटाउने घोषणा गरेको थियो । असदका लागि यो सुसमाचार थियो । यो प्रक्रियालाई उल्ट्याउनका लागि अनि आफैलाई घात गर्न मात्र उनी बालबालिकाका विरुद्ध विषालु ग्यासको आक्रमण गर्ने थिए ।”

दर्जनौँको मृत्यु भएको एक रासायनिक हमलामा असदलाई नै दोष दिँदै ट्रम्पले गत वर्ष पनि सिरियामाथि आक्रमण गरेका थिए । क्रूर विद्रोहीहरूले त्यत्तिकै सरकारी सेनामाथि दोष थोपर्न खोजेका हुन सक्छन् भन्ने सम्भाव्यतालाई अमेरिका र यसको पक्षमा रहेका अन्य राष्ट्रले स्वीकार नगरेकाले आक्रमण भएको थियो ।

यथार्थ के हो भने सिरियाको डरलाग्दो गृहयुद्धमा सरकार र विद्रोही दुबै पक्षले रासायनिक हतियार प्रयोग गरेका छन् । पश्चिमा जगत्ले लोकतन्त्रका अभियानकर्मीका रूपमा चित्रित गरे पनि केही विद्रोही समूहको स्वभाव साँच्चै नै घिनलाग्दो र अतिवादी छ । हुन त यस्ता कुरालाई मूल धारले हल्ला भनेर पन्छाइदिन्छ । यद्यपि तथ्य र उपयुक्त शङ्का त आखिर रहि नै रहन्छन् ।

अँ, अब फेरि पनि त्यस्तै हुँदै छ । अमेरिका, बेलायत र प्र|mान्सका सिपाहीहरू सिरियामा सयौँ बम बर्साउँदै छन् । पहिले पनि भएजस्तै लाग्ने अर्को एउटा साँच्चै चिन्तालाग्दो कुरा यस पालि रसियालीहरूको संलग्नता पनि हो । उनीहरू आफ्नो प्रतिशोधका लागि तम्तयार भएर बसेका छन् ।

यो घटना क्रम साँच्चै नै डरलाग्दो छ । मभन्दा अझ राम्ररी सुसूचित टिप्पणीकर्ता तथा यसमा संलग्न वरिष्ठ अधिकारीहरूले पनि तेस्रो विश्वयुद्धको वास्तविक चेतावनीबारे बोलिरहेका छन् ।

“हामी यस्ता प्रत्युत्तर खप्न तयार छौँ,” ट्रम्प भन्छन् । यस बेला उनका साथमा युद्धका पारखी जोन बोल्टन छन् र उनले ट्रम्पलाई विश्वव्यापी युद्ध चर्काउने जोखिम मोल्नका लागि विश्वस्त पार्नेछन् ।

अरूलाई घात गर्न चाहाने उग्र राष्ट्रवादीले स्पष्ट उत्तर दिन नसक्ने अन्य महत्वपूर्ण प्रश्नहरू पनि कार्लसनले सोधेका छन् ः के यसपछि अमेरिका सुरक्षित हुन्छ ? के यसले गर्दा यो क्षेत्रमा स्थायित्व आउँछ ? इराक र लिबियामा सत्ता बदलेर खास के भयो ? असदको पतनसँगै सिरियामा कसले शासन गर्छ ? के हामीसँग उनलाई विस्थापन गर्ने कोही शक्तिमान् तयार छ ? कि लम्बिँदो गुहयुद्धपछि स्थायी लोकतन्त्र जादुमय रूपमा उदाउनेछ भन्ने हाम्रो विश्वास मात्र हो ?

केही वर्ष अगाडि ट्रम्प आफूभन्दा अगाडिका राष्ट्रपति बाराक ओबामालाई सिरियाबाट बाहिरिन वा संसारको अन्त्यको जोखिम मोल्न चेतावनी दिँदै थिए । उनी बारम्बार यस्ता टि्वट गर्थे ः “तयार रहनू । हाम्रो गलत नेतृत्वले हामीलाई थाहा नै नदिई तेस्रो विश्वयुद्धतिर लैजाने सानो सम्भावना छ ।”

तर आज यो सम्भावना ‘सानो’भन्दा केही बढी नै छ भन्ने पर्याप्त आधार छन् । अनि यो पटक यो सम्भावना उनकै ‘गलत नेतृत्व’मा हुँदै छ ।

सायद् ट्रम्पको भुल्ने बालीलाई हामीले बिर्सनुपर्ला । हामीमा झिनो आशा छ कि उनले फक्स न्युजको सुझावलाई मान्नेछन् ।

(योन्देन ल्हातू साउथ चाइना मर्निङ् पोस्टका प्रमुख समाचार सम्पादक हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment