Comments Add Comment

गाउँपालिका अध्यक्षका छोराछोरी बोर्डिङबाट सरकारी स्कूलमा सरुवा !

फेदिखोलाका अध्यक्ष भन्छन्-जनतालाई भरोसा दिलाउन आफैं अघि सरें

३ वैशाख, काठमाडौं । परिवर्तनको शुरुआत आफैबाट गर्नुपर्छ भन्दै स्याङ्जाका एक गाउँपालिका अध्यक्षले बोर्डिङ स्कूलमा अध्ययनरत आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेर विद्यार्थी भर्ना अभियान थालेका छन् ।

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जिल्लाको लिटिल फवार्ड बोर्डिङ स्कूलमा अध्ययनरत छोरी र छोरालाई गाउँकै सामुदायिक विद्यालयमा सारेका हुन् ।

सरकारले शुरु गरेको विद्यार्थी भर्ना अभियानको शुरुआत गर्दै सुवेदीले अरु जनतालाई आह्वान गर्नुअघि आफैंले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका हुन् । उनले सिद्धार्थ माविको कक्षा ४ मा छोरी स्वेच्छा र छोरा सयल सुवेदीलाई कक्षा १ मा भर्ना गरेका छन् ।

गाउँपालिका अध्यक्षले नै सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गरेपछि अरुलाई पनि भरोसा हुने र सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर पनि बढाउन सकिने उनले बताए । उनले आफ्नो गाउँपालिकाभित्रका सामुदयिक विद्यालयको पठनपाठन सुधार गर्न अभियान थाल्ने बताए ।

सार्वजनिक विद्यालयको स्तर सुधार्ने हो भने नीति निर्माण तहमा रहेका व्यक्तिहरुले आफ्ना बालबालिकालाई ती स्कूलमा भर्ना गरेपछि मात्र जनतामा सरकारी प्रयासप्रति भरोसा बढ्ने गाउँपालिका अध्यक्ष सुवेदीले बताए । आफ्ना सन्तान पढ्ने स्कूलको पठनपाठनको नियमित अनुगमन गरिने भएकाले जनप्रतिनिधि र कर्मचारीले सार्वजनिक विद्यालयमा भर्ना गर्नुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment