Comments Add Comment

कलकत्तामा बनाइँदै ‘नेपाल भवन’, लागत १२ करोड

३ वैशाख, वीरगञ्ज । भारत पश्चिमबंगालको कलकत्ता शहरमा बस्ने नेपालीहरुले ‘नेपाल भवन’ बनाउने लक्ष्य लिएका छन् । उनीहरुले कलकत्तामा बसेर नेपाली भाषा, संस्कृतिको संरक्षणका लागि विविध कामहरु गर्न सामुदायिक भवन बनाउन लागेका हुन् ।

भारतको पुरानो राजधानी समेत रहेको कलकत्तामा बसोबास गर्ने नेपालीहरुले भवन निर्माणको लागत झण्डै १२ करोड हुने अनुमान गरेका छन् । नेपालीहरुले नोतुन हाट, विवेकानन्द पार्क रोड महेशतला कोलकत्ता १४१ मा ८ हजार २ सय वर्ग फिटको जग्गामा नेपाली भवन बनाउन आवश्यक तयारी शुरु गरिसकेका छन् ।

सबै पक्षको सहयोग भयो भने कलकत्तामा बस्ने नेपालीहरुको नेपाल भवन बनाउने सपना पुरा हुने संयुक्त नेपाली वेयलफेयर ट्रष्टका अध्यक्ष खिमराज बराल बताउँछन् । ‘जग्गाको माटो परीक्षणको काम भइसकेको छ । अब एक साताभित्र कलकत्ता महानगरपालिकाले भवन निर्माणका लागि स्वीकृति पनि दिन्छ,’ उनले भने, ‘त्यसपछि भवन निर्माणका लागि बाटो खुल्छ ।’

कलत्तामा नेपाल भवन बनाउने सोच सन १९९३ बाटै शुरु भएको हो । त्यतिखेर विविध कारणले सफल हुन सकेन । पछि भवन निर्माणकै लागि संयुक्त नेपाली केन्द्रीय सेवा संघले २००३ मा जग्गा खरिद गर्न सफल भयो । जग्गा खरिद गर्नका लागि सन् २००२ मा नेपाल सरकारले वाणिज्य मन्त्रालय मार्फत ६ लाख छुट्याएको थियो भने ४ लाख रुपैयाँ संघले जुटाएको थियो । संघ सीमित व्यक्तिहरुको मात्रै भएको भनी विरोधपछि काममा अवरोध आएको थियो । अहिले सोही जग्गा ट्रष्टको नाममा नामसारी गरेर काम अघि बढाइएको छ ।

ट्रष्टका अध्यक्ष बरालका अनुसार भवन निर्माणका लागि ट्रष्टसँग आवश्यक रकमको भने अभाव छ । ‘हामीसँग ट्रष्टमा २० लाख जति मात्रै रकम छ । नेपाली र भारतीय दाताहरुसँग पनि हार गुहार गर्छौं, स्थानीय स्तरमा ट्रष्टीहरुले पनि सकेको सहयोग गर्ने नै छन्,’ अध्यक्ष बरालले भने, ‘नेपाल सरकारबाट राम्रै सहयोग हुने अपेक्षा हामीले लिएका छौं । त्यसका लागि सबै सरोकारवाला मन्त्रालयमा छिट्टै डेलिगेशन लिएर जाने सोचमा छौं ।’

कलकत्ता स्थित नेपाली महावाणिज्य दुतावासका महावाणिज्य दूत एकनारायण अर्याल कलकत्तामा रहेका नेपालीहरु एकदमे सक्रिय रहेको र सकारात्मक सोचका साथ अघि बढी रहेको बताउँछन् । ‘कलकत्तामा बसोबास गर्ने नेपालीहरु नेपाली कला, भाषा, साहित्यको संरक्षणमा निकै सक्रिय छन् । पहिले विभिन्न ध्रुवमा बाँडिएको भएपनि अहिले एक भएर काम गर्न थालेका छन्,’ उनले भने, ‘कलकत्तामा बस्ने नेपालीहरुले गर्ने कार्यक्रममा दूतावासले सधैं सहयोग गर्दै आएको छ । नेपाल भवन निर्माण गर्ने काममा पनि सकेको सहयोग गर्ने आश्वासन दिएका छौं ।’

किन चाहियो नेपाल भवन ?

कलकत्तामा मात्रै ३ लाख नेपाली रहेको अनुमान छ । कतिपयले कलत्तामै घर जग्गा जोडिसकेका छन्, भने कतिपय डेरामा बसोबास गर्दै आएका छन् । उनीहरु आफ्नो पेशा व्यवसाय र नोकरीबाट बचेको समय नेपाली भाषा, कला, सँस्कृतिको संरक्षण, संवर्द्धनमा खर्च गर्छन् । भानु जयन्ती, मोति जयन्ति, दुर्गा पुजा, सत्य नारायणको पुजा जस्ता कार्यक्रमहरु हुने गर्छन् । यस्ता कार्यक्रम गर्नका लागि अन्य समुदायको आफ्नै भवन छन् । तर नेपालीहरुको छुट्टै सामुदायिक भवन छैन । त्यसले गर्दा कुनै सामाजिक, साँस्कृतिक कार्यक्रमहरु गर्न निकै समस्या हुने गरेको उनीहरुको अनुभव छ ।

संयुक्त नेपाली वेयलफेयर ट्रष्टका उपाध्यक्ष नारायण होमागाई नेपाल भवन निर्माणपछि कलकत्तामा बस्ने नेपालीका लागि मात्रै नभएर नेपालबाट कलकत्ता जाने नेपालीहरुलाई समेत फाइदा पुग्ने बताउँछन् ।

त्यतिमात्रै नभएर नेपालीहरुले भवनको प्रयोग स्थानीय स्तरमा हुने विवाह, ब्रतबन्ध वा कुनै धार्मिक अनुष्ठानका कार्यक्रमहरु गर्दा सस्तो र सुलभ मूल्यमा गर्न सक्ने नेपाली जनकल्याण समितिका सभापति बद्री बिक्रम थापाले बताए ।

स्तो बन्छ भवन ?

नेपाल भवन ४ तल्लाको बन्नेछ । भवनको लागत मात्रै १० करोड ६४ लाख अनुमान गरिएको छ । त्यसको डिजाइन कलकत्ता महानगरपालिकाका इन्जिनियर प्रान्तिक चौधरीले गरिसकेका छन् ।

भुइँ तल्लामा पार्किङ, सेक्युरिटी र इलेक्ट्रोनिक्स रुमहरु बन्नेछन् । पहिलो तल्लामा १ सय जना जति अटाउने कन्फरेन्स हल, लाइब्रेरी, अफिसका लागि आवश्यक कोठाहरु डिजाइन गरिएको छ ।

दोस्रो तल्लामा पाहुनाहरुलाई राख्न विभिन्नखाले कोठाहरुको डिजाइन गरिएको छ ।

तेस्रो तथा अन्तिम तल्लामा ठूलो कम्युनिटी हल बनाइनेछ । जसमा ५ सय भन्दा बढी मानिसहरु अटाउन सक्नेछन् । भवनमा लिफ्ट र सिँढी दुवैको व्यवस्था हुने छ । साथमा भवन बाहिर पशुपति नाथको मन्दिर निर्माण गर्ने लक्ष्य पनि ट्रष्टले लिएको छ । जग्गामा कम्पाउन्ड वाल लगाउने काम ट्रष्टले नै शुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment