Comments Add Comment

शिशुको समग्र विकासमा अभिभावकको भूमिका 

सुरक्षा सुवेदी, चाइल्ड हेल्थ नर्स

हरेक शिशु विशेष हुन्छन् । उनीहरूलाई विशेष बनाउन उनीहरूको शारीरीक तथा मानसिक विकासले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । शिशुको विकास दुई किसिमले हुन्छ- शारीरिक तथा मानसिक ।

शिशुको शारीरिक तथा मानसिक विकास जन्मनुअघि र जन्मिएपछिको अवस्थाले निर्धारण गर्छ ।

अझ जन्मपछि भन्दा पनि जन्मनुअघिका कुराले शिशुको वृद्धि तथा विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।

गर्भमा रहेको शिशुको वृद्धिविकास दुईटा कुरामा आधारित हुन्छ-  वंशाणुगत र गर्भावस्था ।

कतिपय शिशुको वृद्धिविकास वंशजका आधारमा हुने गर्छ भने गर्भावस्थामा गर्भवती महिलाले आफूलाई कत्तिको ध्यान दिएको छ, गर्भावस्थामा गरिएको क्रियाकलापका आधारमा पनि शिशुको शारीरिक तथा मानसिक विकास हुने गर्छ ।

उदाहरणका लागि, गर्भावस्थामा गर्भवती आमाले आइरन, क्याल्सियम लगायतका पोषणतत्वयुक्त खानेुकराको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ । आइरनको सेवनले गर्भवती महिलाको शरीरमा रगतकेा निर्माण हुन्छ  जसले गर्दा गर्भमा रहेको शिुशको शारीरिक विकास राम्रोसित हुन्छ  ।

त्यसैगरी, गर्भवती महिलाले गर्भमा आफूलाई कत्तिको ध्यान दिएको छ, त्यस कुराले पनि गर्भमा रहेको शिशुको विकास कस्तो हुन्छ भन्ने कुरा  निर्धारण गर्दछ ।

त्यसबाहेक, यस्ता कुराहरू पनि छन्, जसले शिशुको सम्रग विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।

पौष्टिक तत्वको सेवन

गर्भवती अवस्थामा आमाले कत्तिको पौष्टिक खाना सेवन गरेकी छिन्, त्यसको आधारमा पनि शिशुको विकास हुने गर्छ ।

उदाहरणका लागि, गर्भावस्थामा गर्भवती महिलाले जति धेरै आइरन सेवन गर्छिन् शिशुको शारीरिक तथा मानसिक विकास त्यति नै धेरै राम्रो हुने गर्छ ।

जथाभावी औषधीको सेवन नगर्ने 

गर्भवती आमाहरूले गर्भावस्थामा जथाभावी औषधीहरूको सेवन गर्नु हुँदैन । यसले गर्दा पनि शिशुको समग्र विकासमा असर पर्दछ ।

आराम गर्ने

कैयौ गर्भवती आमाहरूले गर्भावस्थामा धेरै शारीरीक परिश्रम गर्नु पर्दछ, जसका कारण गर्भमा रहेको शिशुलाई समेत यसले प्रतिकूल असर पार्नसक्छ । यस्ता असरबाट शिशुलाई हानि नहोस् भन्नका लागि पनि गर्भावस्थामा महिलाहरूले पर्याप्त मात्रामा आराम गर्न जरुरी छ ।

तनाव कम गर्ने

गर्भावस्थामा गर्भवती महिलालाई धेरै तनाव भएमा पनि यसले शिशुलाई असर पार्नसक्छ । गर्भावस्थामा गर्भवती महिलालाई तनाव भएमा गर्भवती महिलाको नसा खुम्चने गर्छ । जसले गर्दा पाठेघरमा रक्तप्रवाह राम्ररी हुन सक्दैन र रगत तथा अक्सिजनको कमी भई शिशुलाई असर पार्छ ।

सकारात्मक सोचको विकास 

गर्भावस्थामा गर्भवती आमाहरूले जति धेरै सकारात्मक सोचको विकास गर्न सक्यो, उनीहरूबाट जन्मने शिशुहरू उत्तिनै स्वस्थ हुने गर्छन् । उनीहरूमा मानसिक समस्या हुने सम्भावना न्यून रहन्छ । शिशुहरूको वृद्धिविकास राम्ररी हुनुका साथै शिशुहरूमा समेत सकारात्मक सोचको विकास राम्ररी हुने गर्छ ।

गर्भावस्थामा नकारात्मक सोचको विकास भएमा तनावका कारण कम तौलको शिशु जन्मने, शिशुको मस्तिष्क राम्ररी विकास नहुने, शिशुमा गम्भीर मानसिक समस्या देखिने, समय अगावै शिशुको जन्म हुनेजस्ता समस्या देखिन सक्छन् ।

विभिन्न रोगको जोखिम 

त्यसैगरी, गर्भवती आमाहरूलाई उच्च रक्तचाप, मधुमेह लगायतका विभिन्न समस्या भएमा पनि यसले गर्भमा रहेको शिशुलाई असर पार्ने गर्छ । गर्भावस्थामा गर्भवती महिलाहरूलाई विभिन्न रोग लाग्नेमा त्यसको संक्रमणका कारण शिशुलाई पनि असर पार्छ ।

शिशु जन्मेपछि 

त्यसबाहेक शिशु जन्मेपछिको अवस्थाले पनि शिशुको वृद्धि विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

जन्मेको छ महिनासम्म शिशुले आमाको दूध राम्ररी सेवन गर्न नपाएको खण्डमा उसको वृद्धि विकास राम्ररी हुनसक्दैन ।

छ महिनादेखि कम्तीमा दुई वर्षसम्म आमाको दूधको साथमा अन्य खानेकुरा पनि सेवन गराउनु पर्छ । अन्यथा बालबालिकालाई आवश्यक पोषण पुग्दैन ।

बालबालिकालाई अन्य खानेकुरा ख्वाउँदा एक पटकमा एउटा खानेकुरा मात्र ख्वाउने गर्नुपर्छ । अन्यथा त्यस्ता खानेकुरा शिशुलाई नपच्न सक्छ । शिशुलाई हुनसक्ने एलर्जीको बारेमा पनि पत्ता लगाउन सकिन्छ ।

बारम्बार विरामी परेमा पनि शिशुको वृद्धिविकासमा असर पर्ने गर्छ । त्यसैले सकेसम्म त्यस्ता रोग निरन्तर लाग्न दिनु हुदैन । आवश्यक परेमा तुरुन्तै अस्पताल लैजानु पर्दछ ।

शिशु जन्मनु अघि आमाको आहारलाई विशेष ध्यान दिनुपर्छ भने जन्मिसकेपछि शिशुको आहारमा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ ।

त्यसको लागि शिशुलाई कुन उमेरमा कति प्रोटिन तथा क्याल्सियम आवश्यक छ, त्यसबारे जान्नु आवश्यक छ ।

शिशुको उमेर अनुसारको तौल तथा उचाइ भए नभएको तथा अन्य शारीरीरक विकासलाई पनि ध्यान राख्नु पर्छ । उमेर अनुसारको खोप लगाएर पनि शिशुको वृद्धि विकास सही तरीकाले गर्न सकिन्छ ।

पर्याप्त मात्रामा सुताउने

बालबालिकाको शारीरिक विकास प्रायः सुतेको अवस्थामा हुने गर्छ । त्यसैले बालबालिकाहरूलाई रातको समयमा पर्याप्त मात्रामा निद्रा, सुताइ तथा आरामको आवश्यकता हुछ । बनलबालिकालाई कम्तीमा १० देखि १२ घण्टासम्म सुताउनु पर्छ ।

सरसफाइमा विशेष ध्यान पुर्‍याउने

शिशुहरूको वृद्धिविकासका लागि सरसफाइमा ध्यान दिनु आवश्यक छ । सरसफाइमा ध्यान दिन सकेको खण्डमा शिशुहरूलाई धेरै रोगहरूबाट जोगाउन सकिन्छ ।

नियमित सरसफाइ तथा स्नानलेे शिशुहरूलाई रुघाखोकी लाग्दैन र विभिन्न खटिराजन्य संक्रमणबाट जोगाउन सकिन्छ । नुहाउँदा बच्चाहरूलाई बनाइएका साबुन तथा सेम्पु प्रयोग गर्ने र राम्ररी पखाल्नु पर्दछ । त्यसैगरि आमाले पनि सरसफाइमा ध्यान दिन जरुरी छ । आमालाई संक्रमण भएमा बालबच्चालाई सरिहाल्ने सम्भावना हुन्छ । स्तनपान गराउने आमाले स्तनको मुन्टा (निप्पल) राम्ररी सफा गर्न विशेष ध्यान दिनुपर्छ ।

-यो लेख चाइल्ड हेल्थ नर्स सुरक्षा सुवेदीसितकेा कुराकानीमा आधारित छ । उनी हाल एसियन कलेज फर एडभान्स स्टडिज, सातदोवाटो, ललितपुरमा कार्यरत छिन् । उनले एसियन इन्टिच्यूट अफ नर्सिङ्ग एजुकेशन, मुम्बई युनिभर्सिटीबाट चाइल्ड हेल्थ नर्सिङ्गमा स्नात्तकोतर गरेकी छिन् । उनले चाइल्ड हेल्थ नर्सिङ्ग सम्बन्धी किताब समेत प्रकाशित गरिसकेकी छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment