Comments Add Comment

तरकारीवाली भन्छिन्- अहिले नै प्रेममा पर्नु छैन

मास्क लगाएर हिँड्छु, तैपनि चिन्छन्


‘तरकारीवाली’को नामले भाइरल भएकी चितवनकी कुसुम श्रेष्ठ कुरा सुरु गर्नुअगाडि लजाइरहेकी थिइन् । यद्यपि, उनी अहिले आफ्नो लजाउने बानी कम भएको बताउँछिन् ।

‘पहिले पहिले त म कलेजमा केटाहरुको अनुहार पनि हेर्न सक्दिनथ्यँ । अहिले भने डर कम भएको छ,’ उनी भन्छिन् । उनको बोलीमा हिजोआज अलि बढि आत्मविश्वास देख्न सकिन्छ । तर, हरेक कुरालाई छोटो उत्तरमा टुङ्ग्याउने बानी यथावत् छ ।

कुसुम चलचित्र ‘लम्फू’मा काम गरेपछि मिडियाका लागि इन्टरभ्यू दिन दौडधुप गरिरहेकी छिन् । यो चलचित्रको निर्माणपक्षले पनि कुसुमलाई प्रचारमा अगाडि सारेको छ ।

उनलाई हिजोआज आफ्नो भाग्य फेरिएको जस्तो लाग्छ । उनलाई कहिले पनि आफू यसरी भाइरल हुन्छु भन्ने लागेको थिएन । उनले भनिन्-‘राम्री त धेरै जना हुन्छन् नी । अब, त्यो दिन मेरो तस्बिर त्यसरी क्लिक भयो र म भाइरल भएँ । यसैले म यो भाग्यको कुरा हो भन्छु ।’

उनलाई अहिले आफू यसरी चर्चित भएकोमा कुनै घमण्ड छैन । उनको जीवनशैली उस्तै छ । मात्र फेरिएको छ, मानिसले उनलाई हेर्ने नजर । रमाइलो कुराकानीमा उनले थपिन्-‘अहिले त मलाई मुखमा माक्स लगाएर हिड्नुपर्छ । तर, माक्स लगाउँदा पनि मान्छेले चिनिहाल्छन् ।’

उनी, भारइल भएपछि धेरैले चलचित्र र मोडलिङका लागि अफर गरे । तर, उनी आफ्ना लागि पढाई नै महत्वपूर्ण हो भन्छिन् । तर, पनि उनले डान्स, अभिनय सिक्ने बताइन् ।

उनलाई लाग्छ, उनको अभिनय हेर्नका लागि दर्शक आतुर छन् । कुसुमले ‘लम्फू’को बारेमा भनिन्-‘यो चलचित्रमा मेरो लामो भूमिका छैन । म जस्ती छु त्यस्तै खालको भूमिका छ । म पनि दर्शकलाई आफ्नो काम देखाउन आतुर छु ।’

उनी पढिरहेको कलेजमा अहिले उनी निशुल्क अध्ययन गरिरहेकी छिन् । ‘लम्फू’ टिमको पहलमा उनलाई स्नातकोत्तरसम्म कलेजले निशुल्क पढाउने व्यवस्था गरेको छ ।

केटाहरुको प्रेम प्रस्ताव कति आउँछ भन्ने प्रश्नमा उनले भनिन्-‘केटाहरुले प्रस्ताव गर्नु त ठूलो कुरा होइन । तर, म अहिले नै प्रेममा पर्न चाहन्नँ । पहिला आफ्नो करिअर बनाउनु छ ।’

धेरै चलचित्र र म्यूजिक भिडियोको अफर अस्विकार गरेकी कुुसुमले किन ‘लम्फू’मा काम गरिन् होला ? उनले भनिन्-‘यो टिमको सरहरु निकै राम्रो हुनुहुन्छ । उहाँहरुले मलाई समाजसेवाका लागि सहयोग पनि गर्नुभयो । मैले, आफूले पाएको पारिश्रमिक अनाथ बालबालिकालाई दिने निर्णय समेत गरेकी छु ।’

कुसुमलाई ‘तरकारीवाली’ भनेर बोलाउँदा रिस उठ्दैन । यही नामबाट आफू परिचित भएको भन्दै उनले जे नामले बोलाए पनि खुशी हुने खुलाइन् । कुराकानीका क्रममा कुसुमले धेरै पटक वैशाख २८ गते चलचित्र लाग्ने भन्दै सबैलाई हेरिदिन आग्रह गरिन् । उनले चलचित्र ‘लम्फू’ निकै राम्रो बनेको समेत बताइन् ।

कुसुमले अब आफू चलचित्रमै जम्ने सोच बनाएकी छिन् । उनले भनिन्-‘पढाई पनि एकातिर छ । तर, अब म चलचित्रकी नायिका नै बन्छु । जस्तो भूमिका आए पनि गर्न सक्छु भन्ने हिम्मत बढेको छ । अब त हिरोइन नै बन्ने हो ।’

उनलाई, हिरोहरुमा पुष्पल खड्का र प्रदिप खड्का निकै मनपर्छ । उनलाई चलचित्र खेल्ने चाहना पहिले थिएन । तर, जब उनी ‘तरकारीवाली’को नामले भाइरल भइन् त्यसपछि उनलाई चलचित्र र म्यूजिक भिडियोबाट नै अफर धेरै आउन थाले । यसपछि, उनको मनमा नायिका बन्ने चाहना पलाएको हो ।

कुसुमलाई आफू राम्री छु भन्ने लाग्दैन । तर, आफ्नो विचार र सोच राम्रो रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment