Comments Add Comment

मुसिकोट नगरबासीको गुनासो : फोहोर कहाँ फाल्ने, कहाँको पानी खाने ?

४ बैशाख, गुल्मी । मुसिकोट नगरपालिकाले गरेको सार्वजनिक सुनुवाइमा नगरबासीले फोहोर ब्यबस्थापन, सरसफाइ, खानेपानी, सडकलगायतका पूर्वाधार विकास र करवृद्धि, शिक्षा, कृषिजस्ता विषयमा गुनासो गरेका छन् ।

वामीका सरसफाइ अभियन्ता हरि सापकोटाले अहिलेसम्म नगरपालिकाले डम्पिङ साइट नखोजेकोमा असन्तुष्टी व्यक्त गरे । ‘नगरपालिका स्थापना भएको यति समय भइसक्दा पनि अहिलेसम्म डम्पिङ साइटको टुङ्गो लागेको छैन’ उनले भने ‘नगरपालिका क्षेत्रको फोहोर, प्लास्टिक, सीसा, ढल ब्यवस्थापन कसरी गर्ने ?’

मुसिकोट नगरपालिका ७ कि रुपकला खरालले खानेपानीको समस्या समाधानको निम्ति पहल हुन नसकेको बताइन् । ‘हामी जनताले बलेनी पानीको प्रयोग गर्नुपर्ने बाध्यता छ’ उनले भनिन् ‘अरुले दिएको पानीले जीविका चलाएको कसले हेर्ने ?’ मुसिकोटका रामु कार्कीले नदी ब्यवस्थापनको पहल गर्न आग्रह गरे ।

शारदा विद्यामन्दिर मावि वामी मैदानका प्रधानाध्यापक ज्ञानहरि सापकोटाले जटिल बिषय अध्यापन गर्ने शिक्षक पाउन गाह्रो भएको भन्दै शिक्षण अनुमति पत्र बिना पनि शिक्षक नियुक्ति गर्ने ब्यवस्था मिलाउन नगरपालिकालाई आग्रग गरे ।

‘गाँउघरमा सिंहदरबार भनेर त भनियो’ उनले भने ‘तर गाँउघरमै सिँहदरवार आउने जसरी काम सहज भएन ।’

नेपाली कांग्रेसका नेता झविलाल भण्डारीले जताततै अनावश्यक रुपमा मोटरबाटो खनिएको, शिक्षा नियमावलीमा राजनीति गरिएको, नगरपालिकाले बनाएको कर न्यायोचित नभएको गुनासो गरे ।

कुनै गल्ती भएमा सुधारिन चाहन्छौ : नगरप्रमुख

नगरबासीको गुनासो सुनेपछि नगरप्रमुख सोमनाथ सापकोटाले कमी कमजोरी भए सुधार गर्दै जाने बताए । ‘कुनै गल्ती भएमा हामी सुधारिन चाहन्छौ’ नगरप्रमुख सापकोटाले भने ‘गलत कुराको विरुद्धमा जस्तो सुकै लडाइ लड्न पनि हामी तयार छौ, हामीलाइ गुनासा र सुझाव राख्दै गर्नुहोला ।’

सार्वजनिक सुनुवाइमा नगरपालिकाले बनाएका ३१ कानुनहरु केही दिन भित्रनै राजपत्रमा प्रकाशन गर्ने जानकारुी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment