Comments Add Comment

अवरोधपछि एक हप्ताका लागि स्थगित भयो बुटवलको ६ लेन सडक बिस्तार

कर्मचारीको कमिसन लोभले हचुवामा निर्णयः स्थानीयवासी

४ वैशाख, बुटवल । प्रमुख तीन दल र स्थानीयको अवरोधपछि बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडक क्षेत्र ६ लेनमा विस्तार कार्य एक हप्ताका लागि स्थगित भएको छ ।

सार्वजनिक सूचना निकालेर पटकपटक सडक मिचेर बनाइएका संरचना हटाउन अनुरोध गर्दापनि अटेर गरेपछि बुटवल-बेलहिया ब्यापारिक मार्ग आयोजनाले मंगलबार बिहान डोजर चलाएर सडक क्षेत्र खाली गराउन सुरु गरेको थियो ।

राजमार्ग चौराहाको उत्तरतर्फ पुर्वका तीनवटा घरमा आयोजनाले डोजर चलाउन सुरु गरेपछि घरधनीहरुले अवरोध गर्दै एक हप्ताको समय माग गरेपछि सडक विस्तार स्थगित भएको हो । ‘घरधनीहरुले एक हप्ताको समय मागेपछि हामीले विभागसंग सम्पर्क गर्‍यौं, उताबाट पनि एक हप्तासम्म स्थगित गर्नू भन्ने निर्देशन आएपछि हामीले घर भत्काउने काम रोक्यौं’-बुटवल-बेलहिया ब्यापारिक मार्ग आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठले भने-‘केन्द्रबाट कुनै विकल्प आएन भने एक हप्तापछि फेरि भत्काउन सुरु हुन्छ ।’

घरधनीहरुले एक हप्ताको समयमा संघीय सरकारसंग विकल्पबारे पहल गर्ने बताएका छन् ।मन्त्रिपरिषद वैठकबाट निर्णय भएमात्रै सडक विस्तार रोकिन सक्छ ।

घरधनीहरुले ४ वर्षअघि मात्र ४ लेनमा विस्तार भएको सडकलाई कर्मचारीको कमिसन लोभका कारण हचुवाका भरमा ६ लेनमा विस्तार गर्ने निर्णय भएको आरोप लगाएका छन् । ‘चिडियाखोलाबाट माथि सिद्धबाबा सडक खण्डमा पुगेपछि राजमार्ग दुई लेन पनि छैन,कि त पोखरासम्म नै ६ लेन बनाउनुपर्‍यो’-घरधनीको तर्फबाट आन्दोलनको अगुवाई गरेका किशोर विकले भने-‘हामी विकासका विरोधी होइनौं, तर विकास निर्माणका योजना दीर्घकालीन सोंच अनुसार हुनुपर्‍यो, तर यहां कर्मचारी -डीई) लाई कति कमिसन आउंछ भन्ने हिसाबले चार लेन बनेको ४-५ वर्ष नपुग्दै ६ लेनको निर्णय भयो ।’

करोडौंका आयोजनामा कर्मचारीलाई वैधानिकरुपमै लाखौं रकम कमिसन आउने भएकाले घरधनी र व्यवसायीमाथि समस्यामाथि खेलवाड भइरहेको विकले आरेप लगाए ।

चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर क्षेत्रमा ३ सय २५ घर सडक क्षेत्र मिचेर बनेका छन् ।

चौराहादेखि चिडियाखोलासम्म अहिले ४ लेनको मात्र सडक छ । यो सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने कार्यको प्रमुख तीन ठूला राजनीतिक दल र व्यवसायिक संघसंस्थाले विरोध गरेका छन् ।

एमाले, कांग्रेस र माओवादी केन्द्र पार्टीका बुटवल उपमहानगर समिति सडक विस्तार गर्ने सरकारी प्रयासको विरुद्ध उभिएका हुन् ।

तीन दलसँगै बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ,रुपन्देही व्यापार संघ, राष्ट्रिय उद्योग व्यापार संगठनले संयुक्त रुपमा विज्ञप्ति निकालेर सडक विस्तार नगर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । यो सडक क्षेत्रमा १४ सय व्यवसायी छन् ।

राजमार्ग चौराहा देखि चिडियाखोला सम्मको सडक ८२ फुट कायम गर्दा पुनः घर निर्माण गर्ने क्रममा १०५ फुट पछि मात्र नक्सा पास हुने हुदा नगरपालिकाको पहिलेकै नक्सा बमोजिम सडकलाई ७५ फुट नै कायम राखी शहरी क्षेत्र संरक्षण गर्नुपर्ने उनीहरुको माग छ ।

घरधनीहरुले यसअघि हेटौंडा,नारयणघाट,कुश्मा,गोर्खा,रुपैडिया,आंपटारी र दुहबीमा पनि सडक क्षेत्र ७५ फुट नै कायम गरिएकाले बुटवलमा सयौं घर भत्काएर र हजारौं व्यवसायीलाई विस्थापित गरेर ६ लेन बनाउन उपयुक्त र न्यायसंगत नभएको तर्क गरेका छन् ।

झण्डै परिवार र १४ सय व्यवसायी विस्थापित हुने तथा कैयौंको रोजगार खोसिने अवस्था रहेको हुदा बुटवलबाट बैकल्पिक सडक निर्माण गरी हालको समस्या समाधान गर्न सकिने उनीहरुले सरकारलाई सुझाएका छन् । उनीहरुले वैकल्पिक सडक निर्माण, बाइपास रोड र फ्लाई ओभर निर्माण गरी बजार क्षेत्रलाई जोगाउन सरकारसंग आग्रह गरेका छन् ।

यो पनि पढ्नुस् 

बुटवल सडक विस्तारः प्रमुख दल र व्यवसायीबाटै अवरोध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment