Comments Add Comment

राजश्व चुहावटप्रति कठोर बन्दै सरकार, निगरानी बढाउन कानून संशोधनको तयारी

४ बैशाख, काठमाडौं । अपेक्षित रुपमा राजश्व संकलन हुन नसकेपछि चुहावट नियन्त्रणमा सरकारले कठोर कदम चाल्ने तयारी गरेको छ ।

चुहावट नियन्त्रणका लागि कानून संशोधनको तयारीमा लाग्न अर्थमन्त्री डा. युवराज खतिवडाले निर्देशन दिएका हुन् ।

मंगलबार बसेको राजश्व चुहावट नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावटको शूक्ष्म निगरानी गर्ने प्रणालीको विकास गर्न कानून संशोधनको तयारी गर्न निर्देशन दिए ।

चीन र भारत दुवैबाट तोकिएको रकमभन्दा बढीको कारोबार गर्दा बैंकिङ प्रणालीबाट मात्र कारोबार हुने गरी कानून परिमार्जन गर्नुपर्नेसमेत उनले बताए ।

राजश्व चुहावट नियन्त्रणका लागि स्वच्छ र नैतिक कर्मचारीलाई सम्वद्ध क्षेत्रमा खटनपटन र व्यवस्थापन गर्न कानूनी व्यवस्था संशोधनको तयारी मन्त्रालयले गर्ने मन्त्री खतिवडाले बताए ।

नागरिक दायित्वका लागि उत्प्रेरित गर्नका लागि उपभोक्ताले समेत आफूले खरिद गरेको मालवस्तुको बिलविजक अनिवार्य रुपमा लिनुपर्ने तथा तोकिएको समयसम्म कर प्रयोजनका लागि सुरक्षित गरी राख्नुपर्ने गरी आवश्यक कानून परिमार्जन गर्न र छोटी भन्सार नाकाबाट पैठारी गर्न नमिल्ने मालवस्तुको विवरणको होडिङ बोर्ड सम्बन्धित क्षेत्रमा राख्ने व्यवस्था गर्न पनि उनले निर्देशन दिए ।

राजश्व चुहावट नियन्त्रण एवम् राजश्व प्रहरी परिचालन सम्बन्धमा विद्यमान निर्देशिकालाई समय सान्दर्भिक र प्रभावकारीता हासिल गर्न सकिने गरी परिमार्जन गर्नसमेत मन्त्री खतिवडाले बताए ।

अर्थ सचिव राजन खनालले राजश्व चुहावट जोखिमका सम्भाव्य क्षेत्र, वस्तु, स्थान र कर्मचारीको विश्लेषण एवम् पहिचान गरी जोखिममा आधारित अनुसन्धान तथा राजश्व गस्ती परिचालन गर्न निर्देशन दिए ।

अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगानाले अन्तःशूल्कका नक्कली स्टिकरकोे अनुगमन र अनुसन्धानलाई अभियानका रुपमा अघि बढाउन र राजश्वको लक्ष्य हासिल गर्न चुहावट नियन्त्रणका लागि गस्ती परिचालन गर्न निर्देशन दिए ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले राजश्व चुहावट नियन्त्रण गर्न नियमित र संयुक्त बजार अनुगमन गनुपर्ने, मदिरा बिक्री -वितरणलाई व्यवस्थित गर्नुपर्ने, नाफा नकमाउने गैरसरकारी संस्थालाई करको दायरामा ल्याउनुपर्ने, मूल्य अभिवृद्धि कर र अन्तःशूल्क चुहावट नियन्त्रण गर्न विशेष अभियान चलाउनुपर्ने आवश्यकता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment