Comments Add Comment

रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमा पाइप गाड्न सुरु


४ बैशाख, सिमरा । बहुप्रतिक्षित मोतिहारी-रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण आयोजनामा पाइप गाड्ने काम सुरु भएको छ ।

मंगलबार सिमरामा आयोजित एक कार्यक्रमका बीच बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले पाइप गाड्ने कामको शिल्यान्यास गरेका हुन् ।

गत फागुन २३ गतेदेखि आयोजनाले पाइपको वेल्डिङ सुरु गरेको थियो । भारतबाट आयातित पाइप वेल्डिङ गरी खाडलमा हाल्ने कार्य मंगलबारबाट सुरु भएको हो । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट सोमबार खाडल खन्न सुरु गरिएको थियो ।

भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२०६ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विस्तारको जिम्मा पाएको भारतीय कम्पनी लिखिथा इन्फ्रास्ट्रक्चर प्रालिका प्राविधिकहरुले पाइपलाइन विस्तारको काम गरिरहेका छन् ।

नेपाल आयल निगमको सिमरास्थित पेट्रोलियम पाइपलाइन आयोजना कार्यालयका आयोजना विज्ञ शरदकुमार पौडेलले १५ महिनाभित्र काम सक्ने लक्ष्य रहेको बताए ।

निर्धारित समयमै काम सक्न नेपाल र भारतमा गरी तीन सयभन्दा बढी प्राविधिकहरुले काम गरिरहेका नेपाल आयल निगम क्षेत्रीय डिपो अमलेखगञ्जका प्रमुख इन्जिनियर प्रदीप यादवले बताए ।

उनका अनुसार मोतिहारीदेखि रक्सौलसम्म पाइप बिच्छाउनका लागि २ सय ७५ करोड भारतीय रुपैयाँ लाग्नेछ । जसमा २ सय करोड भारतले र बाँकी नेपाल सरकारले खर्च गर्ने सहमति भएको छ ।

निर्माणस्थलको माटो परीक्षणपछि भारतमा निर्माण गरिएको औसत साढे ११ मिटर लम्बाईका पाईप वेल्डिङ गरी जडान गरिएको छ । पाइपको मोटाई १०.७५ इन्च रहेको छ ।

पाइपलाइनको गहिराई साढे २ मिटर रहने छ । तर खोला तथा अन्य केही भागहरुमा आवश्यकता अनुसार १५ मिटरसम्म गहिरो बनाउन पर्ने देखिएको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment