Comments Add Comment

यातायात व्यवसायीले कर्जा नतिरे बैंकले गाडी लिलामी गर्ने

सार्वजनिक गाडी र ट्रकमा बैंकको साढे ३१ अर्ब लगानी

५ वैशाख, काठमाडौं । यातायात व्यवसायीहरुले सिन्डिकेट लाद्न नपाए बैंकको कर्जा नतिर्ने धम्कि दिएपनि बैंकहरु भने आफुहरुलाई समस्या नपर्ने बताएका छन् ।

‘हामीले डराउनुपर्ने अवस्था छैन्, केही भएन भने गाडी लिलामी गरेरै पनि ऋण उठाउन सक्छौं,’ नेपार बैंकर्स एशोसिएशनका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए ।

हालै गण्डकी धौलागिरि अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराले कार्यक्रम आयोजना गरेरै सिन्डिकेट विरुद्ध सरकार उत्रिए आफुहरु बैंकको कर्जा नतिर्ने धम्कि दिएका छन् ।

चालु आवको आठ महिना (फागुन) सम्ममा बैंक तथा वित्तीय संस्थाले सार्वजनिक यात्रु बाहक यातायातमा १६ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यी सबै बस व्यवसायीलाई मात्र गएको कर्जा भने होइन ।

यो ट्याक्सी, रिक्सा जस्ता अन्य यात्रु वाहक यातायातमा समेत गएको कर्जा हो । हालै सिन्डिकेटको विरुद्धमा उत्रिएको मयुर यातायात जस्ता कम्पनीमा पनि बैंकको कर्जा लगानी छ । यीनबाट भने बैंकलाई कुनै किसिमको दबाब नपर्ने देखिएको छ ।

त्यस्तै, ट्रक सेवा र भण्डारण व्यवस्थापनमा १४ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी भएको छ । सरकारले सिन्डिकेट तोड्न यातायात सम्बन्धि सबै संघ, महासंघ लगायतलाई नविकरण नगर्ने बताएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

वैशाख २० गते यातायात व्यवसायीहरुले सांकेतिक बन्द गर्ने र सरकारले माग पुरा नगरे वैशाख २७ अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् । सार्वजनिक बस, ट्रक, दुग्ध बोक्ने ट्याक्र लगायत सबै यो बन्दमा सहभागी हुने भएका हुन् ।

हाल यातायात व्यवसायीहरुमा आधाभन्दा धेरैले घर, जग्गाको धरौटी राखेर बैंकबाट कर्जा लिएको बैंकर ढुंगानाले बताए । त्यसैले व्यवसायीहरुले कर्जा नतिरेर खराब भएमा घर जग्गाको लिलामीबाट पनि असुल्न सकिने व्यवस्था छ ।

केही व्यवसायीहरुले भने व्यक्तिगत जमानीमा, यातायात संघको जमानीमा समेत कर्जा लिएका छन् । यस्ता कर्जाको बीमा समेत गरिएको हुने भएकोले बैंकहरु डराउन पर्ने अवस्था छैन । कुनै उपायबाट कर्जा उठाउन गाह्रो भएमा बैंकहरुले गाडी नै लिलाम बिक्री गरेर पनि असुल गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment