Comments Add Comment

नेपाल-चीन जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति

५ वैशाख, बेइजिङ । नेपाल र चीन महत्वकांक्षी परियोजना वान बेल्ट वान रोडमार्फत क्रस-हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमत भएका छन् । चीनले यसमा सहभागी हुने अर्को छिमेकी भारतलाई पनि आहृवान गरेको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार बेइजिङमा भएको वार्तामा ओबरमा पर्ने परियोजनाको सूची सार्वजनिक गर्ने सहमति पनि भएको छ । परियोजना छनोट गर्न तथा चिनियाँ सरकारको सहयोगमा बन्ने परियोजनाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संयन्त्र निर्माण गर्ने सहमति भएको छ ।

भेटपछि चिनियाँ विदेशमन्त्री वाङले भने, ‘हामीलाई विश्वास छ जब यो बन्छ, यसले चीन, नेपाल र भारतबीच आर्थिक करिडोरका लागि वातावरण बनाउँछ ।’
अघि भने, आशा छ, यस्तो सहकार्यले तीन देशको विकास र समृद्धिमा सहयोग गर्नेछ ।’

नेपाल र चीनबीच नेपाल र चीनलाई जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ ।

दुई देशका परराष्ट्रमन्त्रीबीच केरुङदेखि काठमाडौंसम्म नेपाल-चीन सीमापार रेलमार्ग तथा काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र डीपीआर गर्नेबारे छलफल भएको छ ।

चिनियाँ समकक्षी वाङसँगको संयुक्त पत्रकार सम्मेलनमा परराष्टमन्त्री ज्ञवालीले भने, ‘नेपालबाट आधुनिक रेल चढेर हिमालको प्रकृतिक सौदर्य अवलोकन गर्दै चीन आउने मेरो सपना छ ।’

चीनले नेपालको विकासका लागि दुई ठूला छिमेकीबीच साझा धारणा हुनु पर्नेमा जोड दिएको छ । विदेशमन्त्री वाङले भने, ‘मलाई लाग्छ, चीन, नेपाल र भारत प्राकृतिक रुपमा नै मित्र र साझेदार हुन् । हामी एकै पहाड र नदीसँग जोडिएका छिमेकी हो । जसरी हामी चीनमा भन्छौं, परिवारका सदस्य र छिमेकीले एकअर्काको भलो चाहन्छन् ।’

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल चीन सम्वन्ध नयाँ सुरुवातको विन्दुमा पुगेको बताए । उनले भने, नेपालले आपसी विश्वास बढाउन काम गर्छ र भौतिक पूर्वाधार, ब्यापार, पर्यटन, सास्कृत लगायतका क्षेत्रमा ‘विन विन’ सहमतिका लागि काम गर्छौं ।’

नेपालले ‘कनेक्टिभिटी’ लाई मुख्य प्राथमिकता दिएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले रेल र सडकका साथै ट्रान्समिसन लाइनमा चीनसँग साझेदारी गर्न चाहेको बताए ।

सम्झौता कार्यान्वयनको समीक्षा

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार भेटमा मार्च २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको सहमति कार्यान्वयनमा भएको प्रगतिको समिक्षा भएको छ ।

‘हामीले पारवहन सम्झौताबारे विमर्श गर्‍यौं र आगामी दिनमा यसलाई अन्तिम रुप दिन छलफल अझ तीव्र बनाउन सहमत भयौं’ उनले भने, ‘चीनसँगको व्यापार घाटा कम गर्ने सहयोगी उपाय अपनाउन विदेशमन्त्री वाङसँग आग्रह गरेँ ।’

नेपालले तातोपानी नाका खोल्ने र अरु नाकाहरु स्तरोन्नतीबारे कुरा उठाएको छ । अहिलेका सीमा नाकाहरुस्तरोन्नति गर्न दुबै पक्ष सहमत भएको मन्त्री ज्ञवालीले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगतै बेइजिङ पुगेका ज्ञवालीले उपराष्ट्रपतिलाई पनि भेटेका छन् । उनले ओलीको चीन भ्रमणका साथै चिनियाँ राष्ट्रपति शी जिनपिङलाई पनि नेपाल भ्रमणका लागि परामर्श गर्नेछन् ।

उच्चस्तरीय भ्रमण र स्थापित संयन्त्रहरुबीच नियमित बैठकलाई निरन्तरता दिने सहमति भएको ज्ञवालीले बताए । उनले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्ता पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment