Comments Add Comment

प्रदेश ४ : नीति तथा कार्यक्रम पारित गर्नै मुश्किल, फोन गरेर बोलाइयो सांसद


५ वैशाख, पोखरा । प्रदेश ४ को सरकारले ल्याएको नीति तथा कार्यक्रम सांसदबाट पारित भएको छ । बुधबार बसेको प्रदेश सभा बैठकले सरकारले पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम २ दिनको छलफलपछि पारित भएको हो ।

एमाले र माओवादी केन्द्रका केही सांसद अनुपस्थित भएपछि नीति तथा कार्यक्रम मुश्किलले पारित भयो । ६० जना सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसद चाहिन्थ्यो । तर, संसदमा त्यति सांसद पनि उपस्थित थिएनन् । नीति तथा कार्यक्रम नै फेल हुने भएपछि सचेतकदेखि मन्त्रीसम्मले फोन नै गरेर बोलाउनुपरेको थियो ।

फोन नै गरेर बोलाएपछि नीति तथा कार्यक्रम फेल हुनबाट जोगियो । सोमबार पेश भएर मंगलबार र बुधबार छलफल भएर नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । तर, पारित गर्न चाहिने सांसद नै अनुपस्थित रहेपछि केहीबेर एमाले-माओवादी मन्त्री तथा सांसदमा तनाब देखियो ।

एमालेका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसमेत संसदमा उपस्थित थिएनन् । किरणसँगै एमालेका अन्य तीन र माओवादीका २ सांसद अनुपस्थित थिए ।

एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले बहुमत नपुग्ने देखेपछि सांसदलाई फोन गरेर बोलाएका थिए । अर्थमन्त्री गुरुङ पारित गर्ने बेला अन्तिममा टुप्लुक्क आइपुगेका थिए । उनलाई एमाले प्रमुख सचेतक अधिकारीले मात्रै नभएर सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले फोन गरेर बोलाएका थिए ।

तनहुँका एमाले सांसद रामबहादुर गुरुङ संसद सकिएपछिमात्र प्रदेश सभामा उपस्थित भए । तर, उनले हस्ताक्षर गर्न पाएनन् । एमाले सांसद राजीव पहारी, मीनबहादुर गुरुङ र पुष्पा कसी भण्डारी संसदमा उपस्थित भएनन् भने माओवादी सांसद दीपक कोइराला र चन्द्रबहादुर बुढा पनि अनुपस्थित रहे ।

एमाले र माओवादीका सचेतकले पार्टीमा हृविप जारी नगर्दा नीति तथा कार्यक्रम पारितमै संकट उत्पन्न हुन पुग्यो । एमालेका २७ र माओवादीका १२ सांसद प्रदेश संसदमा छन् । माओवादीबाट नेत्रनाथ अधिकारी सभामुख छन् ।

संसदमा कांग्रेसका १५, जनमोर्चाका ३ र नयाँ शक्तिका २ जना सांसदको प्रतिनिधित्व छ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ फरार छन् । एमाले-माओवादी गठबन्धनबाहेक अरु दल नीति तथा कार्यक्रमको विपक्षमा थिए ।

वाम गठबन्धनका ३८ जना सांसदमा नीति तथा कार्यक्रमलाई निणयार्थ प्रस्तुत गर्दा ७ जना सांसद अनुपस्थित रहेपछि दुबै पार्टीका सचेतकमाथि दबाब परेको थियो ।

‘मंगलबार छलफलमा मैले पनि आˆनो मत राखेको थिएँ । बिहीबार पनि छलफलमात्र गर्ने भनेर हामीलाई खबर गरियो,’ एक सांसदले भने, ‘नीति तथा कार्यक्रम नै पारित गर्ने भनेर खबर नभएकै कारण म बिहीबार बिहानै काठमाडौं गएको थिएँ । फर्केर आउँदा ढिला भयो ।’

दलका सचेतकले हृविप जारी नै नगरिएका कारण सरकारलाई नै अप्ठेरो परेको एक नेताले बताए । माओवादी प्रमुख सचेतक गायत्री गुरुङले पनि हृविप जारी नगरेको एक माओवादी सांसदले बताए । दुबै दलका सचेतकले नीति तथा कार्यक्रम पारित गर्ने कुरालाई हल्का रुपमा लिँदा यस्तो अवस्था आएको उनले बताए ।

‘कार्यक्रम पारित नै गर्ने भएपछि हृविप जारी गर्नुपथ्र्यो । यही सरकारको नीति नै फेल भएको भए के हुन्थ्यो,’ एक नेताले भने, ‘बिहीबारको घटनाबाट पार्टी, सांसद र सरकारले पाठ सिक्न जरुरी छ ।

एमालेले यही विषयलाई लिएर शुक्रबार प्रदेश संसदीय दलको बैठक नै बोलाएको एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment