Comments Add Comment

उता तातोपानीमा नाकाबन्दी, यता चिनियाँ रेलको सपना !

नेपालीहरुलाई केरुङ नाकामा पनि चीनले दिँदैछ दुःख

समाचार टिप्पणी

५ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकस्थित तातोपानी नाका खोल्न नेपालीहरुले चीन सरकारसँग आग्रह गरेको दुई वर्ष बितिसक्यो ।

अहिलेसम्म चीनले नेपाली पक्षको अनुनय सुनेको छैन । यसैबीच बुधबार बेइजिङमा दुई देशका विदेशमन्त्रीहरुले ‘क्रस हिमालय कनेक्टिभिटी’को गफ गरेका छन् ।

अहिलेसम्मको चिनियाँ रणनीति हेर्दा ऊ तातोपानी नाका खोल्ने पक्षमा देखिँदैैन । चिनियाँ नेताहरु मुखले हुन्छ-हुन्छ भन्छन् तर, व्यवहारतः यो नाका खोल्ने मुडमा अहिलेसम्म देखिएका छैनन् ।

नेपालको उत्तरी सीमामा रहेको महत्वपूर्ण व्यापारिक नाका वर्षौंदेखि थुनेर अन्तर हिमालय रेलमार्गको कुरा गर्नु भारतसँग पानीजहाजको कुरा गर्नुजस्तै हो । यो एकप्रकारले चीनले नेपालमाथि गर्दै आएको नाकाबन्दी नै हो ।

नेपाल-चीन सम्बन्धको पहिलो मानक

नेपाल र चीनबीचको पुरानो व्यापारिक नाका तातोपानी नै बन्द गर्ने हो भने चीनले नेपालप्रति सदभाव राखेको छ भन्ने अर्को कुनै मानक हामीसँग हुने छैन ।

काठमाडौंसँग छोटो दुरीले जोडिएको यो नाका नेपालका लागि निकै नै महत्वपूर्ण छ । भारतसँगको शक्ति सन्तुलनका लागि पनि नेपाललाई यो नाका अपरिहार्य छ ।

विगतमा भारतले नाकाबन्दी गरेका बेलामा चीनले यो नाका सहज बनाइदिएको भए नेपालीहरुले उकुस-मुकुस महसुस गर्नुपर्ने थिएन । तर, चीनले तिब्बतियन पृथकतावादीहरुको घुसपैठको बाहना बनाएर तातोपानी नाका बन्द गर्ने काम अहिलेसम्म गर्दै आएको छ ।

नेपालको उत्तरी सीमामा रहेको महत्वपूर्ण व्यापारिक नाका वर्षौंदेखि थुनेर अन्तर हिमालय रेलमार्गको कुरा गर्नु भारतसँग पानीजहाजको कुरा गर्नुजस्तै हो । यो एकप्रकारले चीनले नेपालमाथि गर्दै आएको नाकाबन्दी नै हो ।

भूकम्पका बेला बाटो भत्किएको बाहना बनाएर यो नाका थुनिएको भए पनि अन्तर्यमा चीनले आफ्नो सुरक्षा मामिलाको बाहनामा महत्वपूर्ण व्यापारिक नाका थुनिरहेको छ ।

केरुङ नाकामा पनि चिनियाँ सास्ती

तातोपानी नाका बन्द भएपछि काठमाडौं र नेपालका अन्य भागमा आउने चिनियाँ मालसामान रसुवाको केरुङ नाकाबाट आइरहेको अवस्था छ । तर, काठमाडौंका लागि तातोपानी भन्दा केरुङको रुट निकै टाढा पर्न जान्छ । यहाँको बाटोको अवस्था पनि निकै खराब छ ।

तर, अहिले केरुङ नाकामा पनि चिनियाँहरुले नेपालीलाई सास्ती दिइरहेका छन् । तातोपानी नाका बन्द नहुँदासम्म केरुङमा नेपालीहरुले पाउँदै आएको वान डे पास (एक दिने इजाजत) अहिलेसम्म रोकिएको छ । रसुवा जिल्ला बाहेकका नेपाली कन्टेनर चालकहरुलाई चीनले मितेरी पुलबाट पारि जान दिँदैन ।

नेपाली पक्षले सीमापारीका चिनियाँ अधिकारीहरुसँग केरुङ नाकामा वान डे पास खोल्न बारम्बार आग्रह गर्दै आइरहेका छन् । तर, उनीहरुले माथ्लो लेबलबाट यसबारे निर्णय हुनुपर्ने बताउँदै बेइजिङ र काठमाडौंबाटै यसको पहल हुनुपर्ने जवाफ दिँदै आएका छन् ।

यसको अर्थ केरुङको वान डे पास बन्द गराएको तिब्बतको प्रान्तीय सरकारले नभएर सी जिनपिङ नेतृत्वको केन्द्र सरकारले नै हो ।

नेपालले चीन सरकारको वान बेल्ट वन रोड प्रोजेक्टलाई समर्थन जनाइसकेको छ । नेपालले एक चीन नीतिलाई मान्दै आएको छ र नेपाली सीमामा उसको सुरक्षा चासोलाई ध्यान दिँदै आएको छ । तर, यसको विपरीत चीन सरकारले उत्तरी सीमामा नेपालीमाथि अझै पनि सास्ती दिन छाडेको छैन । तातोपानी नाका बन्द हुनु र केरुङमा वान डे पास बन्द हुनु चीनले नेपालमाथि गरेको अन्यायका दृष्टान्त हुन् ।

यतिबेला परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पाँचदिने चीन भ्रमणमा छन् । उनले पक्कै पनि तातोपानी नाका खोल्नेबारे चिनियाँ अधिकारीहरुसँग कुरा गरेकै हुनुपर्छ ।

यसका साथै रसुवाका प्रमुख जिल्ला अधिकारीले हरेक संयुक्त बैठकहरुमा सुल्झाउन नसकेको केरुङको ‘वान डे पास’ खोलाउने बारेमा पनि मन्त्री ज्ञवालीले चीन सरकारसँग माग राखेकै हुनुपर्छ ।

मन्त्री ज्ञवालीको भ्रमणपछि पनि केरुङमा वानडे पास खुलेन र तातोपानी नाका खोल्न चीनले तदरुकता देखाएन भने चीन सरकार पनि भारतले जस्तै नेपाललाई सताउन चाहन्छ भनेर निश्कर्ष निकाल्नुपर्ने हुन सक्छ ।

दुबै देशको गतिविधि र व्यवहार हेर्दा चीन र भारत दुबै देशले तातोपानी नाका तराईसँग जोडिएको हेर्न रुचाएका छैनन्, जुन एउटा सार्वभौम देश नेपालमाथिको सँधियारहरुको थिचोमिचो हो ।

हुन त चिनियाँहरुले नेपालको सीमामा रहेका तिब्बती बस्ती र सडकको व्यवस्थापन गरेपछि नाकाहरु सहज रुपमा खोलिने बताउँदै आएको अवस्था छ । तर, त्यो प्राविधिक विषयले मात्रै चिनियाँ नाकाहरुमा उसले कडाइ गरेको जस्तो देखिँदैन ।

नेपालीहरुले चीनको दुहाइ दिँदै भारतसँग चिनियाँ कार्ड खेल्न खोजे पनि चीनले पछिल्ला दिनहरुमा नेपाललाई भन्दा भारतलाई बढ्ता महत्व दिँदै आएको देखिन्छ । लिपुलेक प्रकरण यसैको एउटा उदाहरण हो ।

भारत सडक बनाउन नदिने, चीन नाकाबन्दी गर्ने

काठमाडौंबाट सिन्धुली हुँदै तराई जोड्ने वीपी राजमार्ग चार लेनको बनाउन नदिने भारतीय दबाव आएको सिंहदरबारमा सरकारी अधिकारीहरु बताउने गर्छन् । त्यसैको प्रतिफलस्वरुप त्यहाँको सडक साँगुरो बनेको छ ।

र, सोही सडकले हिमाल र तराईलाई जोड्ने तातोपानी नाका चीनले सदाका लागि बन्द गर्न खोज्नुले सो भूगोलमा भारत र चीन दुबैको स्वार्थ अघोषित रुपमा मिलेको देखिन्छ ।

दुबै देशको गतिविधि र व्यवहार हेर्दा चीन र भारत दुबै देशले तातोपानी नाका तराईसँग जोडिएको हेर्न रुचाएका छैनन्, जुन एउटा सार्वभौम देश नेपालमाथिको सँधियारहरुको थिचोमिचो हो ।

कतै लिपुलेकमा भारत र चीन मिलेजस्तै तातोपानी नाकाबाट नेपाललाई त्रिदेशीय मार्ग नदिनेमा पनि भारत र चीनवीच आपसी समझदारी त भएको छैन ? यो गम्भीर अनुसन्धानको विषय हो ।

आशा गरौं, मन्त्री ज्ञवालीले चीनबाट र्फकंदा रेलको सपनामात्रै मात्रै होइन, तातोपानी र केरुङ नाकामा नेपालीले राख्दै आएका मागहरुको सहजीकरण गरिएको खबर पनि सुनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment