+
+
Shares

सत्तापक्ष र प्रतिपक्ष मिल्नुको विकल्प छैनः प्रकाशमान

'जनताको समृद्धिको चाहना पूरा गर्न कांग्रेस पछि हट्दैन'

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ६ गते १२:०३

६ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको समृद्धिको चाहना पूरा गर्नका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

‘देशलाई आर्थिक रुपमा समृद्ध बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकारमा रहेको दलको हुने भए पनि प्रतिपक्षको पनि भूमिका हुन्छ,’ बानेश्वर बहुमुखी क्याम्पसले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिंहले भने, ‘आर्थिक समृद्धिको चाहना चाँडोभन्दा चाँडो सफलतामा परिणत गर्नका लागि कांग्रेस पछि हट्दैन ।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता सिंहले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि सत्ता पक्ष र विपक्षी दल मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

राजनीतिक दलहरु मिलेर संघर्ष गर्दा ठूला ठूला राजनीतिक परिवर्तन भएको तर, त्यसलाई संस्थागत गर्न नसक्दा फेरि अर्को आन्दोलन हुने गरेको चर्चा गर्दै उनले सबै मिलेर उपलब्धी संस्थागत गर्नुपर्नेमा जोड दिए ।

‘कुनै दल कुनै चुनावपछि सरकारमा जाला, कुनै प्रतिपक्षमा बस्नुपर्ला, यो ठूलो कुरा होइन,’ उनले भने, ‘यो राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नको लागि सत्ता पक्ष र विपक्षी दल मिलेर अगाडि बढ्नुपर्छ ।’

‘पोलिटिकल मुभमेन्ट सफल पनि हुन्छ । तर, सफल भएको केही वर्षमा अर्को परिवर्तनको लागि फेरि बेग्लै किसिमको आन्दोलन हुने गर्दछ,’ उनले भने, ‘हामी दलहरुमा पनि आन्दोलन गर्न सबै मिल्ने र संस्थागत गर्ने क्रममा केही कमीकमजोरी देखिएको छ ।’

संविधान कार्यान्वयन भइसकेको र संघीयता कार्यान्वयन भइसकेकाले अब त्यसलाई सशक्त रुपमा अघि बढाउनुको विकल्प नभएको उनले बताए ।

‘संविधानसभाबाट संविधान जारी भएको छ, हामी संघीयतामा छौं । यसलाई प्रभावकारी कार्यान्वयनको विकल्पै छैन,’ उनले भने, ‘बाधा अड्चनलाई पन्छाएर विधिसम्मत तवरले यो सिस्टमलाई सशक्तरुपमा र संस्थागत रुपमा अघि बढाउनु बाहेक अर्को विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?