Comments Add Comment

माया मुटुले गर्छ कि मस्तिष्कले ?

मुटु विशेषज्ञ डा. भगवान कोइराला के भन्छन्

 ‘जति चोट दिन्छौ देउ मायालु, मुटुभित्र साँचेर राख्नेछु ।’ भक्तराज आचार्यले गाएको यो सदावहार गीतको भावअनुसार के मायालुले दिएका चोटहरु मुटुभित्र संगालिएर बसेका हुन्छन् त ? यो प्रश्नले मन सधैँ कुत्कुत्याउँछ, अनि मुटु विशेषज्ञलाई सोधुँसोधुँ हुन्छ ।

जब पहिलोचोटि प्रेमी र प्रेमिका लुकीलुकी भेटेर स्पर्श गर्छन्, मुटुको ढुकढुकी बढ्छ र शरीरभरि अनौठो भावको सञ्चार हुन्छ । त्यसपछिका भेट र भविष्यको परिकल्पनाले आनन्दको भाव सिर्जना गरिदिन्छ ।

जब प्रेम सम्बन्ध टुट्छ अनि भावविह्वल हुँदै भन्छन्, ‘मुटु टुक्रियो, छियाछिया’ भयो । त्यसपछि मधुरो पारेर यही गीत सुनुँसुनुँ हुन्छ- आँखा छोपी नरौं भनी भन्नु पर्‍या छ, मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ……….. ।

मुटुमाथि नै किन राख्ने ? मस्तिष्क त टाउकोमा हुन्छ, माया, प्रेम र पीडाजस्ता भावनात्मक कुराहरु मस्तिष्कबाट उत्पन्न हुने होइनन् र ?

कुनै घटना हुँदा, कुराकानी गरिरहँदा, कुनै कार्य गर्न खोज्दा, कुनै ठाउँमा पुग्दा भावनाहरु उत्पन्न हुन्छन् र अक्सर त्यसलाई शरीरले अनुभव गर्छ । ती भावनाहरुले हाम्रो निर्णय प्रकृयामा पनि प्रभाव पार्छन् । तर, यो कहाँबाट उत्पन्न हुन्छ ? यस विषयमा वैज्ञानिकहरुले पनि कहिलेकाहीँ परस्परविरोधी विचार व्यक्त गर्छन् ।

कतिपय चिकित्सकहरु, ‘भावना र अनुभूतिहरुको सृजना मुटु र मस्तिष्कले संयुक्त रुपमा गर्छ’ भन्छन् । उनीहरुको मान्यतामा, ‘मस्तिष्क एक्लै भावना र अनुभूतिहरुको श्रोत होइन ।’

मुटुका डाक्टरहरु भन्छन्, ‘मुटुमा मस्तिष्क जस्तै बुद्धि प्रयोग गर्ने कुनै अंग नै हुँदैन ।’ आधुनिक चिकित्सा विज्ञानमा मुटुलाई ‘रगत फाल्ने इन्टेलिजेन्ट पम्प’का रुपमा मात्र लिइएको छ ।

बरिष्ठ मुटुसर्जन डा भगवान कोइरालाका अनुसार मुटु मेकानिकल वस्तु नै हो, भावनात्मक वस्तु होइन । मुटु आफैँमा स्वचालित छ र यसले प्रतिक्रिया पनि गर्ने भएकाले इन्टेलिजेन्ट छ जस्तो लाग्छ, तर बाहिरको परिस्थतिको आफैँले मूल्याङ्कन गरेर प्रतिक्रिया दिन सक्तैन । बाहिरको प्रतिकृया मस्तिष्क मार्फत मात्र गर्छ । भावनाहरु मुटुबाट उत्पन्न हुँदैनन्, यो काम मस्तिष्कलेे गर्छ ।

चिकित्सा बैज्ञानिकहरु जेसुकै भनुन्, साहित्य सर्जकहरुले भने दया, माया, प्रेम, पीडा, चिन्ता आदि भावनात्मक अनुभूतिहरुको श्रोत मुटुलाई मानेर त्यसैअनुरुप साहित्य सिर्जना गर्दै आएका छन् ।

नेपाली साहित्यमा मुटुलाई प्रेम र दुःखको प्रतीकका रुपमा व्याख्या गर्ने गरिन्छ । कलाकारहरु मुटुका आकार-प्रकार बनाएर पे्रम भाव प्रकट गर्छन् । साहित्यकारहरु मुटुलाई मायाको पुञ्जका रुपमा व्याख्या गरेर कहिल्यै थाक्दैनन् । साँच्चै भन्ने हो भने साहित्यबाट मुटुसँग जोडिएका भावनात्मक शब्दावलीहरु झिकिदिने हो भने त्यो साहित्य खोक्रो, निरस मात्र होइन मृत जस्तै बन्न पुग्छ ।

प्रशिद्ध गीतकार डा कृष्णहरि बराल लेख्छन्,
ओठभरि गीत, मुटुभरि सम्झना छ
भनिदेउ न मेरो माया, माया मेरो कहाँ छ ?

गोपाल योञ्जनले आफ्नो चर्चित गीतमा लेखेका छन्,
तिम्रोजस्तो मुटु मेरो पनि
तिम्रो जस्तो माया मेरो पनि ।

अहिलेका चर्चित साहित्यकार नयनराज पाण्डेले ‘यार’मा पूर्व प्रेमिकासँगको भेटको सन्दर्भ उल्लेख गर्दै लेखेका छन्-उनका आँखाबाट आँसुका दुईवटा पातला धारा बगिरहेका थिए र सोझै मेेरो मुटुमा प्रवेश गरिरहेका थिए ।

स्मृती शाहीले गाएकी छिन्- मेरो मुटुमा तिमी छौ, मेरो धड्कनमा तिमी छौ ।

अर्का गायक शिव परिवार गुनगुनाउँछन्- मेरो मुटु कलेजीमा थियौ र त रोएँ । एकैचोटि ठूलो चोट दियौ र त रोएँ ।

नेपाली साहित्यमा मात्र होइन, विश्व साहित्यमा पनि प्रेम, दुःखलगायतका भावनात्मक सन्दर्भलाई मुटुसँग जोडेर उल्लेख गर्ने गरिएको पाइन्छ ।

अमेरिकी लेखक हेलनकेलरको भनाइ छ- संसारको सबैभन्दा राम्रो र सुन्दर चिज हेर्न र छुन सकिन्न, त्यसलाई मुटुले महसुस गर्न सकिन्छ । अर्का अमेरिकी लेखक एच ज्याक्सन भन्छन्- कहिलेकाहिँ आँखाले नदेखेको कुरा मुटुले देख्छ ।

यस्ता भनाइहरु साहित्यकारका प्रतीकात्मक प्रस्तुती मात्रै हुन् कि साँच्चिकै भावनात्मक कुराहरुको सम्बन्ध पनि हाम्रो मुटुसँग छ त ?

बरिष्ठ मुटुसर्जन डा भगवान कोइराला भन्छन्, ‘भावनात्मक कुराहरुको उत्पत्ती सबै मस्तिष्कबाट हुन्छ, तर यसको अप्रत्यक्ष सम्बन्ध मुटुसँग हुँदै नभएको चाहिँ होइन ।’

जब हामी नराम्रा समाचार सुन्छौँ, मुटुमा चसक्क भएको अनुभव गर्छौं । कुनै दृश्य वा आवाजका कारण हामीलाई रीस, डर, घृणा, खुसी, उदास, आश्चर्य, चिन्ता, प्रेम, गौरव, लाज, इष्र्या जस्ता भावनाहरु प्रकट हुन्छन् र यी भावनाहरुको असर छाती अर्थात मुटुमा परेको अनुभूति हुन्छ । यस्तै कारण कहिलेकाहीँ मानिसको मृत्यु नै भएको पनि सुनिन्छ, । यस कारणले पनि भावनात्मक अनुभूतिहरुको सम्बन्ध मुटुसँग प्रत्यक्षरुपमा नै छ कि जस्तो पनि लाग्छ ।

तर, डा. कोइराला भन्छन्- ‘प्रत्यक्ष सम्बन्ध त विल्कुलै छैन । बरु भावनात्मक चोटको असर मस्तिष्कमार्फत मुटुमा जान्छ भन्न सकिन्छ । प्राकृतिकरुपमा नै मुटुको आफ्नै स्वचालित प्रणाली त छ । तर, पनि मुटुले जे गर्छ, सामान्यतया मस्तिष्कको निर्देशनमा नै गर्छ । कुनै कुरा देख्दा, सुन्दा मानिसलाई एकदमै पीर पर्न सक्छ । मस्तिष्क आत्तिन सक्छ । मस्तिष्क आत्तिदा मुटु पनि आत्तिन्छ र मुटुमा दबाव पर्छ,, अनि हृदयघात हुन सक्छ । त्यसकारणले पनि मुटु र मस्तिष्कको अन्तरसम्बन्ध चाहिँ छ ।’

डा. कोइराला मस्तिष्क र मुटुको अन्तरसम्बन्धको ब्याख्या गर्दै भन्छन्, ‘मस्तिष्कले बाहिरको परिस्थितिको आंकलन गरेर स्नायु र हर्मोनहरु मार्फत मुटुलाई संकेतहरु पठाउँछ । यी संकेतहरुको आधारमा मुटुले सामान्यतया लड्ने कि, डराउने कि, भाग्ने (फाइट,  फलाइट र फलाइट) भनेर छुट्याउँछ र यसको प्रतिक्रियास्वरुप मुटुको ढुकढुकी बढ्छ ।’

तर, यसो हुने भएता पनि ‘मुटु खासै बुझ्नेखालको अंगचाहिँ होइन’ भन्ने डा कोइरालाको भनाइ छ । ‘किनभने कुनै मानिस धेरै डराउने र केही मानिस नडराउने खालका हुन्छन्, जस्तो- कि डराउनेखालका मानिसहरुको मुटु कहिलेकाहिँ फोन बज्दा, भुईँमा भाँडा खस्दा वा अचानक ठूलो स्वर सुन्दा पनि ढकढक गर्ने गर्छ । तर, नडराउने खालका मानिसहरुमा खासै असर हुँदैन ।’

कुनै डरलाग्दो वा विभत्स किसिमको घटना ‘कमजोर मुटु हुनेले नहेर्नु, नसुन्नु’ भन्ने परम्परागत चलन नै छ । कुनै घटना वा भनाइबाट गहिरो पीडा महसुस भयो भने ‘मुटुमै घोच्यो, मुटु चिसो भयो, मुटुमै प्रहार भयो’ भन्ने गरिन्छ ।

त्यति मात्र होइन, मानिस बेहोस भएर ढलेको पनि देखिन्छ । यस्तो चाहिँ कसरी हुन्छ त ?

भ्रुण अवस्थामा सर्वप्रथम बन्ने महत्वपूर्ण अंग मुटु नै हो । गर्भ रहेको करिब पाँच हप्तादेखि मुटु बन्न थाल्छ । मुटुको मूल काम भनेकै रगत पम्प गर्नु हो

मुटु विशेषज्ञ डा. कोइराला भन्छन्, ‘कुनै घटनाका कारण मस्तिष्कले उत्कर्षरुपमा प्रतिक्रिया गर्दा रक्तनलीहरु अचानक फुल्ने भएकाले मुटुले रगत पम्प गरे पनि पाइप ठूलो बनेका बेला रगतको प्रवाह पर्याप्त हुँदैन अनि रक्तचाप घट्छ र मानिस बेहोस हुन्छ । यस्तोबेला मुटु फेल खाएर बेहोस हुने होइन, मुटुले काम गरिरहेकै हुन्छ । मुटुले जे गर्छ, त्यो मस्तिष्कको निर्देशनमै भइरहेको हुन्छ ।’

भावना र अनुभूतिहरुको उत्पति मुटुबाट नभई मस्तिष्कबाट हुन्छ भन्ने व्याख्या आधुनिक चिकित्सा विज्ञानले गरेको छ । सायद यससम्बन्धी गहिरो अध्ययन नभएकै कारणले होला परम्परागत रुपमा भावनाहरुको श्रोत अंगको रुपमा मुटुलाई व्याख्या गरिएको ।

प्राचीन इजिप्सियनहरुले मुटुलाई सत्यता छुट्याउने अंगका रुपमा व्याख्या गरेका थिए । मुटुले सत्य कुरा के हो भन्ने पत्ता लगाउन सघाउँछ भन्ने विश्वास थियो । कसैले कुनै कुरामा कस्तो अनुभव गरिरहेको छ भन्ने सत्य कुरा मुटुले देखाउँछ भन्ने मान्यता थियो । यदि कसैले ढाँटिरहेको छ भने उसको मुटुको ढुकढुकीको गति बढ्छ । मुटुको ढुकढुकी हेरेर यथार्थ पत्ता लाग्छ भन्ने गरिन्थ्यो ।

पन्ध्रौ शताब्दीका इटालियन दार्शनिक लियोनार्दो दा भिन्चीलाई मानव शरीरका ज्ञाता पनि मानिन्थ्यो । उनले भनेका थिए, ‘आँसु मुटुबाट आउँछ, मस्तिष्कबाट होइन ।’ अर्का दार्शनिक कन्फ्युसियस भन्थे, ‘तिमी जहाँ जान्छौ, सम्पूर्ण मुटुसहित जाऊ ।’ उनीहरुले पनि भावनात्मक पक्षलाई मुटुसँग जोडेर ब्याख्या गरेका थिए ।

यिनै परम्परागत विश्वास, भनाइहरु, र दर्शनको प्रभाव समाज र साहित्यमा पर्दै आएको देखिन्छ ।

अंग्रेजी साहित्यमा पात्रहरुको चरित्र चित्रण गर्दा कसैलाई ‘ब्रोकन हार्टेड’, कसैलाई ‘कोल्ड हार्टेड’ भनेर उल्लेख गरेको पाइन्छ । यस्तै आधारमा साहित्य र बोलीचालीमा मुटुलाई एउटा इन्टेलिजेन्ट अंग मानेर प्रस्तुती गरिँदै आएको छ । प्रेमी प्रेमिकालाई विश्वास दिलाउने हिसावले भन्छौँ, ‘म तिमीलाई मुटुदेखि नै माया गर्छु’ तिमी मेरो मुटुको टुक्रा हौ …..आदि ।’

कुनै हिम्मतीलो काम गर्नका लागि, कुनै आपत पर्दा ‘मुटु दह्रो पार’ भन्ने गरिन्छ, ‘दिमाग दरो पार’ भनेको प्रायः सुनिन्न । शरीरको सम्पूर्ण नियन्त्रण मस्तिष्कले गर्ने भए पनि प्राथमिकता जति मुटुलाई दिएर मस्तिष्कको अवमूल्यन गरेको हो कि जस्तो पनि लाग्छ ।

यसलाई स्पष्ट पार्दै डा. कोइराला भन्छन्, ‘पहिले मानिसहरुले मुटु, मस्तिष्क जस्ता अंगहरुले के काम गर्छ भन्नेे बुझिसकेकै थिएनन् । त्यसकारण यस्ता कार्यहरु मुटुले गर्छ भनिन्थ्यो । बाहिरको परिस्थतिलाई कसले सूचनाको रुपमा ग्रहण गर्छ, कसले कता सूचना पठाउँछ र कसले प्रतिक्रिया दिन्छ भन्ने कुरा थाहा नहुँदा जे कुरामा पनि मुटुलाई जोडेर हेरिन्थ्यो ।’

डा कोइराला अगाडि भन्छन्, ‘मानिसलाई पीर पर्‍यो भने पहिले टाउकैमा असर गर्ने हो टाउको दुखिरहन्छ । मस्तिष्ककै संकेतहरुका आधारमा मुटुले प्रतिक्रिया गर्ने हो । रिसाउँदा, ढाँड्दा पनि बाहिरको कुरालाई लिएर मस्तिष्कले प्रतिक्रियास्वरुप मुटुलाई सन्देश पठाउँछ र मुटु ढुकढुक गर्छ । यसैलाई आधार मानेर जे कुराको असर पनि पहिले मुटुमा नै पर्छ भन्ने हिसावले भावना व्यक्त गरिन्छ ।’

प्रसिद्ध मनोविज्ञ सिग्मन्ड फ्रायडका अनुसार, ‘मस्तिष्कले सोच्ने, कुरा गर्ने, अनुभव गर्ने, हेर्ने, सुन्ने, सम्झने, स्वास फेर्ने, हिड्नेलगायतका कुराहरुमा नियन्त्रण गरिरहेको हुन्छ । मस्तिष्कबाट स्नायुहरु आँखा, कान, नाक, मुटु लगायत शरीरका सम्पूर्ण भागमा फैलिएका हुन्छन् । मस्तिष्कले आफ्नो नियन्त्रण प्रणाली मार्फत विभिन्न अंगहरुमा संकेतहरु पठाउँछ र त्यसैअनुसार सो अंगले प्रतिक्रिया दिन्छ । मुटु पनि त्यस्तै प्रतिक्रिया दिने एउटा अंग मात्रै हो ।’

मानिसको छातीको बीचमा अलिकता बायाँतिर ढल्केर बसेको मुटुको आफ्नै विशेषताहरु छन् । मुटुको आफ्नै स्वचालित विद्युतीय प्रवाह हुन्छ जसका कारण मुटुका मांसपेशीहरु स्वचालितरुपमा खुम्चिने, फुल्ने हुन्छ । मुटुमा पाँच मिलीभोल्टजतिको विद्युत प्राकृतिकरुपमा आफैँ उत्पन्न भइरहेको हुन्छ, जुन स्वतः रिले स्टेसनमार्फत प्रवाह हुन्छ र मुटु घचक-घचक गरेर चल्छ । यसैको भरमा मानिसको जीवन चलिरहेको हुन्छ ।

मुटु निश्चित समयमा ढुकढुक गर्ने हुन्छ । धेरै छिटो छिटो वा धेरै ढीलो चल्न थाल्यो भने मानिस मृत्युनिकट हुँदै जान्छ । त्यसैले मुटुको गति कति हुने भन्ने स्वचालितरुपमा निर्धारण भएको हुन्छ र त्यसैअनुरुप चल्छ ।

मुटु यसरी स्वतः चल्ने भएता पनि माया, दया, रीस, पीडाजस्ता भावनात्मक कुरालाई मुटुले प्रत्यक्षरुपमा बुझ्न सक्तैन । मस्तिष्कले सूचना लिएर संकेतहरु मुटुमा पठाएपछि मुटुले प्रतिक्रिया दिन्छ । डा. कोइरालाका अनुसार, मुटुको रोग लागेको अवस्थामा मुटुले लड्ने, भाग्ने, डराउने जस्ता प्रतिक्रिया दिन सक्तैन, गलेको अनुभव हुन्छ ।

भ्रुण अवस्थामा सर्वप्रथम बन्ने महत्वपूर्ण अंग मुटु नै हो । गर्भ रहेको करिव पाँच हप्तादेखि मुटु बन्न थाल्छ । मुटुको मूल काम भनेकै रगत पम्प गर्नु हो । कुनै कारणले मुटु बन्द भयो भने शरीरमा रगत पम्प हुन छोड्छ । रगत प्रवाह नभएको केही मिनेटमा सबै अंग बन्द हुन्छन् र मानिसको मृत्यु हुन्छ ।

मानिसको जीवन आरम्भदेखि अन्त्यसम्म महत्वपूर्ण भूमिका खेलिरहने भएकैले नै होला, प्राचीन कालदेखि अहिलेसम्म मुटुलाई माया गरेर भावनाहरुको सर्जक पनि मानिँदै आएको छ । भावनात्मक कुराहरुको असर मुटुमा देखिने भएता पनि त्यसका लागि संकेतहरु आउने भनेको मस्तिष्कबाट नै हो । ‘सबै किसिमका अनुभूतिहरु मस्तिष्कको कारणले नै भएको हुन्छ ‘ भन्ने चिकित्सा विज्ञानको निष्कर्ष देखिन्छ ।

तर, विज्ञानले निस्कर्ष जेसुकै निकालोस्, साहित्यकारहरुले ‘मुटु’ शब्द लाई ‘मस्तिष्क’ शब्दले कदापि रिप्लेस गर्ने छैनन् र मानिसहरुले लोकपि्रय गायक नारायाण गोपालले गाएको यो कालजयी गीतका शब्दहरु पनि यसरी नै निरन्तर गुनगुनाइरहने छन्ः
‘प्रेयसीका यादहरु कोरिएको मुटु,
एकान्तमा आज यहाँ फुकाएर हेर
पिरतीका घातहरु भरिएको मुटु ………………..।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment