+
+

हात्ती र मान्छे ! कसरी गर्ने द्वन्द्व व्यवस्थापन ?

हात्तीलाई चिनौं, तराईमा हात्तीको बासस्थान जोगाऔं

मिलन मनुवा दाहाल मिलन मनुवा दाहाल
२०७५ वैशाख ६ गते १४:२२

वन्यजन्तु संरक्षणका निम्ति मानिस र वन्यजन्तुवीचको द्वन्द्व पेचिलो बनेको छ । सर्वसाधारणका निम्ति वन्यजन्तु संरक्षण गर्नु भनेको काललाई निम्त्याउनु सरहजस्तै हो । बालीनाली तथा घर नोक्सानी गर्ने कुरा त छँदैछ, वन्यजन्तुले कहिलेकाहिँ मानिसको ज्यानै लिन्छ । जहिल्यै त्राहिमाम हुनुपर्छ ।

वन्यजन्तुमध्ये हात्तीबाट मानिसले सबैभन्दा बढी मर्का व्यहोर्नुपर्छ । हात्तीबाट हुने नोक्शानी सबैभन्दा बढी छ । नेपालको पूर्वी तराई खासगरी झापा जिल्ला हात्तीबाट बढी पीडित छ । बाहुनडाँगीका बासिन्दा हात्तीबाट सबैभन्दा प्रताडित छन् । हात्तीले बालीनाली क्षति गरेको, मानिस घाइते बनाएको र कहिलेकाँही मृत्युसमेत भएको समाचार बारम्बार आइरहन्छ ।

एक तथ्यांकअनुसार झापामा ०६८ सालदेखि ०७४ फागुनसम्म हात्तीको आक्रमणबाट ३५ जनाले ज्यान गुमाए । यसरी नै ३२ जना सख्त घाइते र १० जना घाइते भए ।

झापाको बाहुनडाँगी क्षेत्र हात्तीबाट पहिलेदेखि नै प्रभावित थियो । केही वर्षयता हात्तीको समस्या झापाको अन्य क्षेत्रमा पनि बढ्दो छ । कतिखेर, कहाँ जंगली हात्ती निक्लने हो भन्ने त्रासबाट झापाबासी मर्निङ्गवाकमा कमै निस्कन्छन् । यो दृष्टान्तले हात्तीबाट झापाका बासिन्दा अत्यन्तै प्रभावित छन् भन्ने संकेत गर्छ ।

झापाजस्तै तराईमा चितवन लगायतका विभिन्न जिल्लाका बासिन्दाहरु हात्तीबाट प्रताडीत हुँदै आएका छन् ।

हात्ती कस्तो जीव हो ?

हात्तीको समस्या समाधानका लागि हात्तीबारे जानकारी तथा अध्ययन, अनुसन्धान हुन जरुरी छ । यसमा अन्य देशको अनुभवबाट पनि सिक्न सकिन्छ ।
हात्ती अफ्रिका र एशियामा मात्रै पाइन्छ । हात्तीका मुख्य दुई प्रजाति छन् । एशियामा भारतदेखि इण्डोनेशियाको बोर्नियो टापू र दक्षिणमा श्रीलंकासम्म (१२ देशमा) हात्ती पाइन्छ ।

एशियाली हात्तीको वैज्ञानिक नाम एलेफस म्याक्सिमस हो । हात्ती पानीको नजीक बस्न रुचाउने एक सामाजिक प्राणी हो ।

सबैभन्दा बुढी हात्ती समूहको नाइके हुन्छे । भाले हात्ती वयस्क भएपछि समूह छोडेर एक्लै हिँड्छ ।

हात्ती १८ वर्षमा पूर्ण वयस्क हुन्छ । उसको आयु ६०-७० वर्ष हुन्छ । एशियाली भाले हात्तीे औसत ९ फिट अग्लो र ४ हजार केजी तौलसम्म हुन्छ भने पोथी ८ फिट अग्लो र २७ सय केजीसम्म हुन्छ ।

हात्तीको श्रवण शक्ति राम्रो हुन्छ । उसले सानो तरंगको ध्वनी पनि सुन्न सक्छ । हात्तीको सुँघ्ने शक्ति पनि राम्रो हुन्छ । तर, दृष्टिक्षमता चाँहि कमजोर हुन्छ । हात्तीले चर्को उज्यालोमा कम, मधुरो उज्यालोमा राम्रो देख्न सक्छ । हात्ती ४० किमी प्रतिघण्टाको गतिमा दौड्न र मजाले पौडी खेल्न सक्छ ।

भाले हात्तीको मात्रै दाह्रा हुन्छ, पोथीको हुँदैन वा सारै सानो हुन्छ । हात्तीको छाला बाक्लो एवं खस्रो भए पनि नाजुक हुन्छ । त्यसैले गर्मी सुख्खामा उसले हिलो, पानी खेल्छ ।

हात्तीको गर्भधारण अवधि करिब २२ महिना हुन्छ । अक्सर वर्षायाममा बच्चा जन्माउँछ । प्रजनन समयमा भाले हात्तीको कानबाट कालो लेदो निक्लन्छ, त्योबेला हात्ती उन्मत्त हुन्छ । त्यसबेला घरपालुवा हात्तीले आफ्नै माउतेलाई पनि टेर्दैन । घरपालुवा हात्तीले नियन्त्रण बाहिर गएर उप्रदो गर्न र मान्छे मार्न पनि सक्छ ।

पहिले र अहिले

नेपालको तराईमा लाखौं वर्षदेखि हात्ती घुमफिर गरिरहेको छ । मानिसभन्दा पनि हात्ती पुरानो रैथाने हो । हात्ती बुद्धिमान जनावर हो । उहिल्यैदेखि हात्तीलाई तालिम दिएर काममा लगाउने गरिन्थ्यो । हात्तीलाई युद्धमा पनि प्रयोग गरिन्थ्यो । मोटरगाडी र मेसिनको प्रचलन आएपछि हात्तीको उपयोगिता रहेन । तर, हात्तीको धार्मिक एवं सांस्कृतिक महत्वसमेत छ ।

अफ्रिकामा प्रशस्त हात्ती भए पनि घरपालुवा बनाउने चलन छैन । बरु अफ्रिकामा हात्तीको दाह्राका लागि व्यापक चोरी शिकार हुने गरेको छ ।

नेपालमा गैंडा, बाघको चोरी शिकार भए पनि हात्तीको चोरी शिकारको घटना कमै हुने गरेको छ । राणाकालसम्म नेपालको तराईबाट हात्ती पक्रिएर भारतमा बिक्री गरिन्थ्यो ।

अहिले नेपालमा हात्ती लोप हुने अवस्थामा पुगेको छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ ले हात्तीलाई संरक्षित सूचीमा राखेको छ । विश्व प्रकृति संरक्षण संघ र साइटिसले हात्तीलाई लोपोन्मुख प्रजातिको सूचीमा राखेको छ ।

एशियामा गत ६०/७० वर्षयता ५० प्रतिशतले हात्तीको संख्या घटेको देखिन्छ । एशियाली हात्तीको संख्या घट्नुको प्रमुख कारण बासस्थान अर्थात जंगल विनाश हुुनु नै हो ।

हाल एशियामा ४० देखि ५० हजार हात्तीको संख्या अनुमान गरिएको छ । एशियाली हात्तीमध्ये करिब आधा भारतीय उपमहाद्वीपमा रहेका छन् । नेपालमा भने सुदुरपश्चिमको शुक्लाफाँटामा २ देखि १८ वटा, बर्दिया निकुञ्जमा ४५/५० वटा र पर्सा निकुन्जमा २५ वटासम्म हात्ती रहेको विश्व वन्यजन्तु कोषको अनुमान छ ।

त्यसैगरी, पूर्वी नेपाल र पश्चिम बंगालबीच १० देखि १५ वटा हात्ती ओहोर-दोहोर गर्ने अनुमान छ ।

समाधानका प्रयासहरु

गाउँघर, खेतबारीमा हात्ती देखा पर्‍यो भने स्थानीयबासीले हात्तीलाई तर्साएर लखेटने गरेका छन् । हात्ती तर्साउन राँको बाल्ने, सिठ्ठी बजाउने, पटाका पड्काउने जस्ता कार्य गरिन्छ । यस्ता कार्यले हात्ती झन् उत्तेजित भई आक्रामक हुन्छ । हात्तीले मान्छे मार्ने, घाइते बनाउने घटना यस्तै क्रियाकलापले बढेको बताइन्छ ।

बाहुनडाँगीमा मेची पारिबाट आउने हात्तीलाई रोक्न विद्युतीय तारबार लगाइएको थियो । यो काम निकै खर्चिलो छ । तर, पनि यो कार्य यति प्रभावकारी हुनसकेको छैन । कसैकसैले खेतबारीमा करेन्टको पासो थाप्दा हात्ती मरेर कानूनी दण्डको भागी भएका उदाहरण पनि छन् । मानिस आफैं पनि यसबाट दुर्घटनामा पर्न सक्ने जोखिम छ ।

हात्तीको आवगमन रोक्न हात्तीले नाघ्न नसक्ने गरी नाला (ट्रेन्च) खनेको भारतका विभिन्न ठाउँमा छ । कच्ची नाला वर्षातमा पानीले भत्किने गर्छ र हात्तीले कुल्चिएर नाला पुरेर नाघ्छ । त्यसैले ट्रेन्च पनि प्रभावकारी भएको पाइँदैन ।

जंगल नजिकैको घर वरिपरि ट्रेन्च खनेर हात्तीबाट सुरक्षित हुनचाँहि सकिन्छ । बर्दिया राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा हात्ती लगायत वन्यजन्तुहरुले बालीनाली खाइदिने समस्याबाट मुक्ति पाउन जनावरले नखाने बालीविरुवा लगाइएको छ ।

हात्तीको आवगमनलाई निगरानी गर्न अग्लो टावर पनि उपयोगी हुन सक्छ ।

हामीले मात्रै हात्तीको समस्या भोगेका होइनौं । हात्ती पाइने भारतको पश्चिम बंगाल, आसामदेखि थाइलैण्ड, लाओस लगायत धेरै ठाउँमा हात्ती र मानवबीच द्वन्द्व छ । यो द्वन्द्वको मूल कारण हात्तीको बासस्थान हो ।

जंगल विनाश हुँदै जाँदा हात्तीको बासस्थान घट्दो छ । बचेखुचेको जंगलमा पनि मानवीय गतिविधिले वन्यजन्तुको बासस्थानलाई बाधा पुर्‍याएको छ । जंगलमा वन्यजन्तुलाई पर्याप्त आहारा छैन । हात्ती समस्याको मूल कारण प्राकृतिक बासस्थानको विनाश नै हो । त्यसैले हात्ती समस्याको दिगो समाधानका लागि हात्तीको बासस्थान व्यवस्थापन गर्नुपर्छ ।

सेलायो चुनावी मुद्दा

गत चुनावमा हात्तीको समस्या सम्बोधन गर्नुपर्ने विषय चुनावी एजेण्डा बन्यो । नेताहरुले मेची नदीपारिबाट ओहोर-दोहोर गर्ने हात्तीलाई रोक्न अग्लो तटबन्ध र त्यसमाथि सडक बनाइनेछ भनेर भाषण गरे । भाषणमा जनतालाई जिउने आशा देखाउनु त राम्रै कुरा हो । तर, कुरामात्र होइन, काम पनि हुनुपर्छ ।

चुनाव सकियो । नेताहरु लाखापाखा लागे । तर, झापामा हात्ती समस्या जस्ताको त्यस्तै छ । समाधान गर्ने कुरा त परैजावोस, कतैबाट छलफलसम्म चलाइएको बुझिएको छैन ।

झापा क्षेत्र नं. ३ को मतदाताको हैसियतले हात्तीको समस्या सम्बन्धमा यस पंक्तिकारले ०७४ चैत्र पहिलो साता झापास्थित सरोकारवाला निकाय तथा व्यक्तिहरुसँग अनौपचारिक छलफल गरेको थियो । हात्तीको समस्यालाई सबैजनाले गम्भीरतापूर्वक लिए पनि के गर्दा हात्तीको समस्या समाधान हुन्छ भन्ने कुरामा अलमल रहेको पाइयो ।

दिगो र प्रभावकारी समाधानको प्रस्ताव

वन सर्वेक्षण (एफआरए २०१५) को तथ्यांकअनुसार पूर्वी तराई (सुनसरी, मोरंग र झापा) मा ८३५ वर्ग किलोमिटर वनक्षेत्र बाँकी छ । झापा जिल्लाको कुल क्षेत्रफल १६०६ वर्ग किमीमध्ये वन क्षेत्र १७४ किमी (११ प्रतिशत) छ । ईलामको दक्षिणी भेग चुरे तथा समथर ईलाका पनि अधिकांश वन क्षेत्रले ढाकिएको छ ।

पूर्वीतराईको बाँकी बचेको वन क्षेत्रलाई समेटेर वन्यजन्तु आरक्ष बनाउन सकिन्छ । अधिकांश जंगल चुरे फेदीमा रहेको छ, जुन हात्ती आवगमनको बाटो हो ।

त्यहाँ आरक्ष बनाउँदा हाल अतिक्रमणको चपेटामा परेको जंगल जोगाउन सहज हुनेछ । हात्ती लगायत अन्य वन्यजन्तु तथा वनस्पतिहरुको बासस्थान व्यवस्थापन हुनेछ भने सम्पूर्ण प्रकृतिको संरक्षण हुनेछ । आरक्षमा पर्यटक आकषिर्त गरेर समृद्धि हासिल गर्न सहयोग पुग्नेछ ।

मेचीनदीबाट भारततर्फ करिब ३० किमी दुरीभित्र तीनवटा आरक्ष र दुईवटा राष्ट्रिय निकुञ्जहरु छन् । पश्चिम बंगालमा ६ वटा निकुञ्ज र १५ वटा आरक्ष छन् भने आसाममा ५ वटा निकुञ्ज र १९ वटा आरक्षहरु छन् ।

यो आँकडा हेर्दा नेपालको पूर्वी तराईमा वन्यजन्तु आरक्षको अभाव छर्लङ्ग देखिन्छ ।

झापाको दक्षिण/पूर्वमा करिब ६ हजार हेक्टर क्षेत्रफलमा फैलिएको जलथलको जंगल छ, जुन पूर्वी तराईमा विगतको भव्य जंगलको अन्तिम निशानी हो । जैविक विविधताले भरिपूर्ण र देउनिया नदीले घेरिएको जलथलको जंगल हात्तीका लागि उपयुक्त बासस्थान हो ।

झापाका जिल्ला वन अधिकृत बोधराज सुवेदीको सुझाव अनुसार जलथल, चाराली र बाहुनडाँगीको वनलाई समेटेर हात्ती आवागमनको बाटो -कोरिडोर) एवं बासस्थान सुधार र त्यससँगै इको-कल्चरल टुरिज्म कार्यक्रम अघि बढाउन सकिन्छ ।

समाधानका अल्पकालीन उपाय

हात्तीमा विद्यावारिधि गरेका डा. नरेन्द्रबाबु प्रधानका अनुसार हात्तीपीडित क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्ने हो भने हात्ती आक्रमणबाट मान्छेको मृत्यु तथा घाइते हुने संख्या करिब ५० प्रतिशत न्यूनीकरण गर्न सकिन्छ ।

सामुदायिक वन उपभोक्ता समूह वा स्थानीय समुदायमा आधारित इको क्लव मार्फत हात्तीमैत्री सचेतना कार्यक्रम, साइरन, संकेत बत्ती राख्ने जस्ता कार्य गरेर हात्तीसँग मुठभेड घटाउन डा. प्रधानको सुझाव छ ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार सामान्य घाइतेलाई १० हजार रुपैयाँदेखि मृतकलाई १० लाख र घरगोठ, अन्नबाली क्षतिलाई मूल्यांकन अनुसार क्षतिपूर्ति दिने सरकारी प्रावधान छ ।

झापामा गत ५ वर्षमा हात्तीपीडितलाई २ करोड ७२ लाख राहत वितरण गरिएको छ ।

सरकारी क्षतिपूर्तिको यो व्यवस्थालाई बीमासँग आवद्ध गर्न सकिन्छ । हात्तीपीडितहरुले छिटोछरितो र सहज तरिकाबाट नोक्शानीको पूरा राहत पाउने हो भन्ने जोखिममा मोलेर हात्ती लखेट्न कोही नजाला ।

हात्तीको ओहोर-दोहोर, संख्या, गतिविधि, हानी नोक्सानी आदि सम्बन्धी सम्पूर्ण जानकारी एकत्रितरुपमा प्रवाह गर्न हात्ती सूचना केन्द्र स्थापन गर्न जरुरी छ । यसबाट कुन ठाउँमा कुन महिना के कति हात्ती देखापर्छन् भन्ने जानकारी पाइन्छ । यसले ठाउँ विशेषमा भएका मानवीय तथा आर्थिक क्षतिबारे सरोकार वालाले जानकारी लिन सक्छन् ।

हात्तीको गतिविधि सहीरुपमा जानकारी प्राप्त गर्न सक्ने अवस्थाले पनि त्यसको असरमा केही कमी ल्याउँछ ।

यसका साथै पश्चिम बंगालका वन्यजन्तु आरक्ष र निकायहरुसँग समन्वय गर्ने हो भने पनि हात्तीको समस्या समाधान गर्न सहयोग पुग्न सक्छ ।

(माथिको तस्वीरमा देखिएको मृत हात्ती सुनसरीमा विद्युतीय पासोमा परेर सन् २००३ मा मरेको हो । यो तस्वीर कमल मादेनले खिचेका हुन्)

लेखकको बारेमा
मिलन मनुवा दाहाल

भ्रमणमा रुचि भएका मिलन मनुवा दाहाल प्रकृति र समाजबारे अध्ययन गर्न र लेख्न मन पराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?