Comments Add Comment

एकताबारे १-२ दिनभित्रै ‘ब्रेक-थ्रु’ हुन्छ : नेता सापकोटा

एकता गणितको आधारमा होइन, क्षमताको आधारमा हुन्छ : पोखरेल

काठमाडौं, ६ वैशाख । नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले एमाले-माओवादीबीचको एकता वैशाख ९ गतेलाई टरे पनि जेठ १ गतेभित्र एकता घोषणा हुने दाबी गरेका छन् ।

रिपोर्टस क्लबले गरेको साक्षात्कार कार्यक्रममा उनले भने ‘केही गृहकार्य गर्न बाँकी रहेकोले यो वैशाख ९ गते गर्ने भनिएको एकता टरेको छ, तर यो धेरै विलम्ब हुँदैन, हामी चाँडै नै एकता घोषणा गर्छौं ।’

सापकोटाका अनुसार बिहीबार पनि दुई पार्टीका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच गम्भीर र बिहंगम छलफल भएको थियो । उनले भने, ‘केही दिनभित्रै एकताको ‘ब्रेक-थ्रु’ हुन्छ ।’

नेकपा एमालेका नेता आनन्द पोखरेलले एमाले-माओवादी केन्द्रबीचको एकता गणितको आधारमा नहुने बताए । उनले भने, ‘संख्या अर्थात् ५०/५० को आधारमा एकता हुँदैन, अनुपात, गणित वा बराबरीको आधारमा हुँदैन, म स्पष्ट पार्न चाहन्छु ।’

नेता पोखरेलले गणित नभई क्षमताको आधारमा भूमिका पाउने बताए । उनले भने, ‘प्रश्न गणितको होइन, हामी योग्य र सक्षम नेताहरुलाई जिम्मेवारी दिन्छौं, संख्या त १/२ जना तलमाथि हुनसक्छ ।’

पोखरेलले दुई पार्टीबीचको एकता छिट्टै टुंगोमा पुग्ने दाबी गरे । उनले थपे, ‘अब धेरै समय लाग्दैन, चाँडै हामी एकता घोषणा गर्छौ, एकता किन ढिलाइ भैइरहेको छ भनेर अहिले जनताले सोध्न थालिसके, एकताको नाममा अब अलमलिने फुर्सद छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment