Comments Add Comment

मन्त्री महासेठले व्यवसायीसँग भने-निर्देशिका धर्मग्रन्थ होइन, संशोधन हुन्छ


७ वैशाख, काठमाडौं । सरकारले यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान गरेको छ । सरकारले सिन्डिकेट खारेजी हुने गरी गरेका निर्णयहरु खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका व्यवसायीसँग भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठले वार्तामार्फत नै समस्याको समाधान खोज्न आग्रह गरेका हुन् ।

यसअघि मन्त्री महासेठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएरै छलफल गरेका थिए । महासेठलाई बिहीबार (हिजो) भेटेका वामपन्थी व्यवसायीले मन्त्री लचिलो ढंगमा प्रस्तुत भएको जानकारी दिएका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई घुँडा टेकाउने आक्रामक अभिव्यक्ति दिइरहेका बेला महासेठले व्यवसायी र सरकारको सम्बन्ध नङ र मासुकै जस्तो भएको बताएका थिए ।

मन्त्री व्यवसायीप्रति नरम रुपमा प्रस्तुत भएपछि यातायात व्यवस्था विभागका अधिकारीहरु पनि सिन्डिकेटधारी व्यवसायीले टाउको उठाउनेमा सशंकित छन् ।

शुक्रबार भने मन्त्री महासेठ व्यवसायीसँग कडा ढंगले प्रस्तुत भए । तर पनि विभागले रुट इजाजत प्रक्रियामा कडाइ गर्दै संशोधन गरेको यातायात कार्यविधि निर्देशिका संशोधन गर्न सकिने विषय मन्त्री महासेठले दोहोर्‍याए ।

उनले निर्देशिका संशोधन गर्न सकिने भन्दै व्यवसायीका समितिहरुलाई पहिले कम्पनीमा दर्ता भएर आउन आग्रह गरे । समिति नवीकरण नगर्ने मन्त्रिपरिषदको निर्णयबाट सरकार पछि हट्न नसक्ने भन्दै उनले निर्देशिकाको संशोधनका लागि छलफल गर्न सकिने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले समितिहरुलाई कम्पनीमा दर्ता गर्नुपर्ने व्यवस्थाले आफूहरुको १० खर्बको लगानी जोखिममा परेको बताए ।

त्यसको प्रतिउत्तरमा मन्त्री महासेठले सरकार यातायात व्यवसायीको साथमा रहेको भन्दै निर्देशिका आवश्यक्ताअनुसार अध्ययन गरेर परिमार्जन गर्न सकिने बताए ।

‘विभागले जारी गरेको निर्देशिका कुनै बाइकल, गीता र कुरान जस्तो धर्मग्रन्थ होइन,’ महासेठले भने,’तपाईंहरु कम्पनीमा दर्ता भएर आउनुस्, थप छलफल गरेर संशोधन गरौंला ।’

उनले सरकार कठोर नरहेको भन्दै त्यसैकारण असारसम्मको समय दिइएको बताए । उनले व्यवसायीलाई आन्दोलन फिर्ता लिन आग्रह गर्दै सरकारले गरेको नयाँ व्यवस्थालाई स्वीकार्न आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment