Comments Add Comment

शिव श्रेष्ठको गलफत्ती: को चरित्र अभिनेता, को हिरो ?

'शोलेका हिरो अमिताभ होइन, गब्बर सिंह'

कुनै जमानामा नेपाली फिल्मका ‘एक्सन किङ’ भनेर चिनिने शिव श्रेष्ठको एक्सन नेपाली दर्शकहरुले हेर्न नपाएको धेरै भयो । चार वर्षअघि बनेको ‘बाग्मति’पछि उनी कुनै फिल्ममा देखिएका छैनन् ।

उनलाई प्रश्न गरियो, ‘तपाईंलाई फिल्मको अफर आउन छोडेको हो कि भूमिका चित्त नबझुेर नखेल्नु भएको ?’

फन्नी मुडमा देखिएका शिवले भने, ‘शिव श्रेष्ठलाई अफर नआउने पनि कुरा हुन्छ ? आजसम्म ३ सय ५४ वटा फिल्मको अफर रिजेक्ट गरिसकेको छु ।’

‘तर, पछिल्लो समयमा हिरोको सट्टा चरित्र अभिनेताको अफर आउन थालेकाले नखेल्नु भएको चर्चा छ नी ?’

यो प्रश्नमा श्रेष्ठले लामो गलफत्ती गरे ।

‘के हो हिरो ? के हो चरित्र अभिनेता ?’ उनले प्रश्न गरे ।

अनि आफैं जवाफ दिए, ‘फिल्ममा जसको महत्वपूर्ण भूमिका जसको हुन्छ उही हो हिरो । हिरोइनलाई बोकेर रुख वरिपरी नाच्दैमा हिरो हुँदैन ।’

त्यसपछि उनले सोधे, ‘हिन्दी फिल्म शोले हेर्नुभएको छ ?’

सकारात्मक जवाफपछि अर्को प्रश्न तेस्र्याए, ‘शोलेमा हिरो को हो ल भन्नुस त ।’

अमिताभ बच्चन र धर्मेन्द्रको नाम लिइयो ।

शिवले ठाडै अस्वीकार गरे ।

भने, ‘शोलेका हिरो त गब्बर सिंहको रोल गर्ने अमजद खान हुन् । फिल्मको सबैभन्दा अहम् भूमिका त उनको छ ।’

उनको प्रश्न सकिएको थिएन । सोधे, ‘छक्का पञ्जाका दिपकराज गिरी, माग्ने बुढा, जितु नेपाल लगायतका मुख्य कलाकारहरु हिरो हुन् कि जोकर ?’

‘खोई, थाहा भएन’

‘उनीहरु सबै हिरो हुन्,’ उनले भने ।

अनि वास्तविक प्रश्नमा फर्किए, ‘मैले हिरो नपाएर फिल्म नखेलेको भन्ने कुरा गलत हो । म हरेक भूमिकालाई उत्तिकै सम्मान गर्छु । तर, मैले खेल्ने भूमिका शशक्त हुनुपर्छ भन्ने मान्यता राख्छु ।’

०००

शिव अहिले आफैं फिल्म बनाउने तयारीमा छन्, जसको घोषणा भइसकेको भएको छ । नाम राखिएको छ, ‘एउटा यस्तो प्रेम कहानी ।

नाम सुन्दा लभस्टोरी फिल्म होला भन्ने अड्कल काट्न सकिन्छ । एक्सनमा कहलिएका अभिनेताले बनाएको फिल्म किन लभस्टोरी ?

‘नाम जेसुकै भए पनि यो लभस्टोरी फिल्म मात्र होइन, यसमा मेरो पुरानो एक्सन पनि दर्शकहरुले हेर्न पाउनुहुनेछ ।’

यो फिल्मबाट उनले छोरा शक्ति श्रेष्ठलाई डेब्यू गराउँदैछन् । अष्ट्रेलियामा विजनेस गरेर बसिरहेका शक्ति यही फिल्म खेल्नलाई नेपाल आएका छन् । फिल्म सकेर फेरि उतै फर्किने शिवले जानकारी दिए ।

शिवलाई धेरैले सोध्ने गरेका छन्, ‘आफ्ना समकालिन हिरो भुवन केसीले आफ्नो छोरा अनमोललाई सुपरस्टार बनाएको देखेर शिवले पनि छोरालाई फिल्ममा होमेका हुन् ?’

शिवको तर्क छ, ‘सुपरस्टार बाबुले बनाउने होइन, आफैं बन्ने हो । बाबुले बनाएर बन्ने भए सबैले आफ्नो छोरालाई सुपरस्टार नै बनाउँथे । अनमोल आफ्नै क्षमताले सुपरस्टार भएको हो ।’

अनि थपे, ‘खासमा मैले यो फिल्मको कथा लेख्दा छोरालाई सोचेर लेखेको थिएँ । त्यसैले उसलाई खेलाएको हुँ । भुवन केसीको सिको गर्न खोजेको होइन ।’

साथै उनले अनमोल भन्दा कयौं वर्ष अगाडि आफ्नो छोराले फिल्म खेलेको पनि सुनाए ।

‘शक्तिले ६ वर्षको उमेरमै फिल्म खेलेको थियो,’ उनले भने । शिवका अनुसार नेपाल, बंगलादेश, पाकिस्तान र श्रीलंकाको संयुक्त लगानीमा बनेको फिल्म ‘टाइगर’ मा शक्तिले बालकलाकारको भूमिका निर्वाह गरेका थिए ।

उनले छोराले फिल्ममै करिअर बनाउने नसोचेको बताए ।

‘उ नेपाली चलचित्रमा करिअर बनाउन भनेर आएको होइन,’ श्रेष्ठले भने, ‘यो फिल्मको काम सकेर अष्ट्रेलिया नै फर्किन्छ ।’

शक्ति कति वर्षका भए भनेर सोध्दा शिवले बताउन मानेनन् ।

‘तपाईंलाई उमेर किन चाहियो, फिल्म आएपछि उसको अभिनय हेर्नुस न,’ उनले जवाफ दिए । यद्यपि आफू ३० वर्षको हुँदा शक्ति जन्मिएको बताए ।

०००

श्रेष्ठले आफ्नो फिल्ममा एउटा प्रयोग गरेका छन् । यसलाई प्रयोग भन्ने कि के भन्ने । उनको फिल्म दुई रियल जोडीहरु अनुबन्ध भएका छन् । प्रियंका कार्की र उनका व्वाईफ्रेन्ड आयूष्मान देशराज तथा वषर्ा राउत र उनका व्वाइप|mेन्ड संजोग कोइरालालाई साइन गराइएको हो ।

रियल जोडीलाई लिनुको कारणबारे सोध्दा ठट्यौली गर्दै भने, ‘सक्कली जोडी हुँदाहुँदै किन नक्कली जोडी लिनु भनेर नी ।’

त्यसपछि गम्भीर जवाफमा फर्किए, ‘खासमा उहाँहरुलाई कथाको मागअनुसार लिइएको हो । प्रेमी-प्रेमिका भनेर होइन ।’

०००

धेरै वर्षदेखि चलचित्रमा सक्रिय नभए पनि शिव नेपाली चलचित्रको पछिल्लो अवस्थाबारे पुरै अपडेट छन् । रिलिज भएका चलचित्रहरु भ्याएसम्म हलमै गएर टिकट काटेर हेर्ने गरेको उनले बताए ।

अहिले नेपाली चलचित्र जुन ट्रेन्डमा गइरहेको छ,’ शिवले भने, ‘म एकदम खुशी छु । समयअनुसार कथा भन्ने शैली परिवर्तन हुनैपर्छ ।’

पछिल्लो समयमा हेरेका चलचित्रहरुमध्ये ‘कान्छी’ र ‘ब्लाइन्ड रक्स’ मन परेको उनले बताए ।

करिब ३९ वर्षदेखि नेपाली फिल्ममा रहेका शिव बाँकी समय पनि फिल्मभन्दा टाढा नरहने बताउँछन् । उनका अरु सन्तान भने अहिले फिल्मबाट टाढा छन् । दुई श्रीमतीबाट उनका ६ सन्तान भए । चार जना छोरीहरु बिहे गरेर दिइसकेका छन् । जेठी छोरी डाक्टर हुन् । दुई छोरामध्ये कान्छा छोरा पढिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment