Comments Add Comment

पत्रकार महासंघ प्रदेश ४ मा अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध

९ बैशाख, पोखरा । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ मा अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध भएका छन् ।

विभिन्न संगठनहरुको आन्दोलनका बाबजुद भएको मनोनयनमा आवश्यक सबै पदमा एक/एक जनाको मात्रै उम्मेद्वारी परेकाले अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध भएका हुन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को अध्यक्षमा त्रिभूवन पौडेल (कास्की) निर्बिरोध निर्वाचित भएका छन् ।

पत्रकार महासंघ कास्कीको उपाध्यक्ष रहेका उनले केही दिनअघि राजीनामा दिएर प्रदेशको अध्यक्षमा उम्मेदवार बनेका हुन् ।

उपाध्यक्ष खुलामा नारायणप्रसाद शर्मा (नवलपुर), समावेशी उपाध्यक्षमा शान्ती गुरुङ, महासचिवमा गणेश पौडेल (पर्वत), सचिवमा इन्द्रप्रसाद पौडेल (कास्की), समावेशी सचिवमा रुद्र श्रीस मगर (कास्की) र कोषाध्यक्षमा दीपक भट्टराई (नवलपुर) चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा खुल्ला तर्फ खेमबहादुर सारु (कास्की), गोविन्दप्रसाद सुवेदी (कास्की), बसन्तप्रसाद अधिकारी (कास्की), राजेन्द्र न्यौपाने (गोरखा), रामजीप्रसाद लम्साल (कास्की), सन्तोष गौतम (म्याग्दी), सुशीलबाबु श्रेष्ठ (गोरखा) चयन भएका छन् ।

खुल्ला सदस्य ५ जनाको मात्रै भएपनि मधेशी कोटामा कसैको पनि उम्मेदवारी नपरेकाले सो कोटा खुल्लामा थपिएकाले सातै जना निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी महिला सदस्यमा अञ्जना तिमिल्सिना (तनहुँ), कमला केसी (लमजुङ) र रबिना ढकाल पौडेल (तनहुँ), दलित सदस्यमा राजेश सोनाम (नवलपुर), आदिवासी जनजाति सदस्यमा शिला गुरुङ (कास्की), संगमकुमार घर्ती (बागलुङ) र अल्प संख्यक सदस्यमा शेष मोहम्मद हनिफ (गोरा मिया) तनहुँ चयन भएका छन् ।

महासंघको प्रदेश ४ मा अध्यक्षसहित समावेशी सचिव, कोषाध्यक्ष र ४ सदस्य प्रेस सेन्टर, उपाध्यक्ष र ४ सदस्य प्रेस युनियन र समावेशी उपाध्यक्ष, महासचिव, खुल्ला सचिव र ६ सदस्य प्रेस चौतारीले लिने गरी बाँडफाँड गरेका थिए । तर, प्रेस सेन्टरले आदिवासी जनजाति सदस्यमा उम्मेदवारी नदिएपछि स्वतन्त्र पत्रकार संघले उम्मेदवारी दर्ता गर्दा निर्विरोध निर्वाचित भएको छ ।

यसअघि क्रान्तिकारी संगठनलगायत साना संगठनहरुले सिण्डिकेट गरेर तीन ठूला संगठनले मात्र पद बाँडफाँड गरेको भन्दै निर्वाचन कार्यालय तोकिएको पत्रकार महासंघ कास्कीको भवनमा तालाबन्दी गरेपछि बाहिर चौरमै राखेर मनोनयन गरिएको थियो ।

निर्वाचन कार्यतालिका अनुसार सोमबार दाबी बिरोधमा कसैको उजुरी नपरे अपराहृन ४ बजेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिने निर्वाचन समितिले जनाएको छ । यसअघि प्रदेश महासंघको चुनाव वैशाख २२ गतेलाई तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment