Comments Add Comment

पाँच जनाले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी कसरी आइपुग्यो दुई तिहाइसम्म ?

९ वैशाख, काठमाडौं । मुलुकका दुई ठूला वामपन्थी पार्टी नेकपा एमाले र माओवादी केन्द्रले पहिलो पटक नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस संयुक्त रुपमा मनाउँदैछन् । ६८ वर्षअघि आजकै दिन अर्थात २२ अप्रिल १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेता निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ थिए । यद्यपि यो पार्टी स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगायतका नेताहरु पनि जोडिएका थिए ।

नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सामान्तवाद, दलाल-नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो ।

कम्युनिस्ट पार्टीका दोस्रो महासचिव मनमोहन अधिकारी बने भने तेस्रो महासचिव तुलसीलाल अमात्य बने । यसबीचमा कांग्रेस नेतृत्वमा रहेको सरकारले २०११ सालमा नेेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध समेत लगाएको थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिस्ट पार्टीले ४ सिट जितेको थियो ।

तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर पन्चायती व्यवस्था लागु गरेपछि नेपाल कम्युनिस्ट पार्टी पुनः प्रतिबन्धित भयो । त्यसक्रममा केशरजंग रायमाझी पक्षले पन्चायती व्यवस्थाको समर्थन गरेपछि कम्युनिस्ट पार्टी बिभाजन भयो ।

बिभाजनका बीच झापामा तत्कालिन झापाली क्रान्तिकारीले ‘वर्गशत्रु सफाया’ अभियान चलाउँदै झापा क्रान्ति मार्फत नेकपा माले र हालको एमालेको रुप लिए । पुष्पलाल मनमोहनहरुको समूह अन्ततः एमालेको धारमा २०४७ पछि एकीकृत भयो ।

मोहनविक्रम सिंह, निर्मल लामाहरुले नेतृत्व गरेका बिभिन्न समूह नेकपा चौम, नेकपा मोटो मशाल, नेकपा पातलो मसाल, नेकपा एकताकेन्द्र हुँदै हालको माओवादी धारा बन्यो । यद्यपी मोहनविक्रम सिंह भने अहिले पनि पातलो मसाल बोकेर बसिरहेका छन् ।

२०१५ सालमा ४ सिट जितेर अस्तित्वमा आएको नेपाल कम्युनिस्ट पार्टी पन्चायतकालमा बिभिन्न चिरामा बिभाजित भएको थियो । २०४६ सालको जनआन्दोलनपछि तत्कालिन माले र मार्क्सवादी मिलेर बनेको एमाले संसदमा ६९ सिटसहित सशक्त प्रतिपक्ष बनेको थियो भने तत्कालिन जनमोर्चा र हालको माओवादी ९ सिटसहित तेस्रो दल बन्यो ।

२०५२ सालमा माओवादीले जनयुद्ध शुरु गरेपछि उसले संसदीय राजनीति परित्याग गर्‍यो । माओवादीले २०५१ सालमा आम निर्वाचन बहिस्कार गर्दा एमाले ८८ सिटसहित पहिलो पार्टी बनेर दक्षिण एशियामै पहिलो कम्युनिस्ट एकल सरकार गठन गरेको थियो ।

२०५४ सालमा एमाले बिभाजित भएपछि २०५६ सालको आमनिर्वाचनमा ७० सिटसहित एमाले पुनः दोस्रो दल बन्यो । ऐतिहासिक जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी प्रत्यक्षतर्फ बहुमतसहित सबैभन्दा ठूलो दल बन्यो ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो दल बने । यसबीचमा नेपाल कम्युनिस्ट पार्टीबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली प्रधानमन्त्री बने । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर लडेका दुई कम्युनिस्ट पार्टी एमाले र माओवादीले करीव दुई तिहाइ बहुमत सिट जित्न सफल भएका छन् । यो नेपाल कम्युनिस्ट पार्टी स्थापनाको करीव ७० वर्षकै इतिहासमै सबैभन्दा ठूलो सफलता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment