Comments Add Comment

पूर्वडीआईजी निरौलालाई विराटनगर ल्याइयो, संगठित अपराधमा अनुसन्धान सुरु


१० वैशाख, विराटनगर । साढे ३३ केजी सुन प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्द निरौलालाई विराटनगर ल्याइएको छ ।

आइतबार काठमाडौंमा पक्राउ परेका पूर्वडिआईजी निरौलालाई सोमबार काठमाडौंबाट ल्याएर जिल्ला अदालत मोरङमा उपस्थित गराइएको थियो ।

उनीमाथि ‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान’ मुद्दामा अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद लिएको छ ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण विसीले संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान अन्तरर्गत अनुसन्धानका लागि म्याद मिलान गरिएको जानकारी दिए ।

पूर्वडीआइजी निरौलालाई जिल्ला प्रहरी कार्यालय विराटनगरमा राखिएको छ । वुद्ध एयर मार्फत उनलाई दिउँसो २ः३० बजे विराटनगर ल्याएको थियो ।

विराटनगर विमानस्थलमा उनलाई लिन प्रहरी नायव उपरीक्षक निशान्त थापा पुगेका थिए । निरौलालाई जिल्ला प्रहरी कार्यालय मोरङको बा १ झ १२९१ नम्बरको भ्यानमा राखेर प्रहरी कार्यालयमा ल्याइएको थियो ।

निरौलालाई गृह मन्त्रालयको छानबिन समितिले आइतबार पक्राउ काठमाडौंमा गरेको थियो । तस्करहरुलाई सहयोग गरेको देखिएपछि उनी पक्राउ परेका हुन् । निरौलाले गत चैत २८ मा अवकाश पाएका थिए ।

निरौला गत वर्ष विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा कार्यरत थिए । तस्करीमा सघाएको खुलेपछि उनलाई त्यहाँबाट हटाइएको थियो । तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा गत फागुन १८ गते मोरङका सनम शाक्यको हत्या भएको थियो ।

सो घटनाको अनुसन्धानमा महानगरीय अपराध महाशाखाले लापरबाही गरेर तस्करलाई जोगाएको खुलेपछि गृह मन्त्रालयले छानबिन थालेको थियो ।

गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेल नेतृत्वको समितिले छानविन गर्दै आएको छ ।

जसक्रममा विगत ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी हुँदै आएको खुलेको हो । घटनामा संलग्न उनीसहित २३ जना पक्राउ परिसकेका छन् । उनीहरुलाई पनि संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान अन्तरर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको छ । यही घटनामा ३८ जनाको सम्पत्ति रोक्का गरिएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विमानस्थल प्रहरी प्रमुख रहेका बेला निरौला निरन्तर सुन तस्करी गर्ने गिरोहसँग सम्पर्कमा रहेका थिए ।

गत ७ माघमा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो ।

त्यो सुन खोज्ने क्रममा भरिया सनम शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानबिनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका थिए ।

यसअघि सोही प्रकरणमा जोडिएका बर्दियाको राजापुर नगरपालिका-७ का प्रेमराज चौधरीले महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमै आत्महत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment