Comments Add Comment

एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

१० वैशाख, चितवन । गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सोमबार अपराह्न भरतपुर अस्पताल पुगेर उहाँले सो जानकारी लिएका हुन् । ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले सोमबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी सोही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए ।

खनियाँलाई निलम्बन गरी कारबाही थालिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

पीडित श्रेष्ठले विगतदेखि नै एसिड हान्ने प्रयास गरेको भन्दै कडा कारबाहीको माग गरिन् ।

गृहमन्त्री थापाले दोषीलाई कडा कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । ‘यो दुःखद घटना घटेको हो’ उनले भने, ‘यस घटनाले मन्त्रालयलाई नै स्तब्ध बनाएको छ ।’

गृहमन्त्री थापाले राष्ट्र सेवकबाटै महिलाहरु असुरक्षित हुनु दुःखद भएको भन्दै प्रहरीको आचरण सुधारका लागि सरकारले ठोस कदम चाल्ने बताए ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले घटना तथा खनियाँमाथि गरिएको कानूनी कारबाहीका बारेमा जानकारी गराउँदै खनियाँलाई निलम्बन गरी छ दिनको म्याद थपेर मुद्दा अगाडि बढाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment