Comments Add Comment

घर बेचेर थालिन ब्यापार, बनिन् अर्बपति


११ वैशाख, काठमाडौं । मेकअपका सामान खरिद गर्ने हरेक महिलालाई थाहा छ यो कति अप्ठेरो काम हो भन्ने कुरा । पसल सञ्चालक आफ्नो सामान ग्राहकलाई भिडाउन तल्लीन हुन्छन् चाहे त्यो ग्राहकको छालालाई उपयुक्त होस् या नहोस् ।

बिक्रेताको यो जोर जबर्जस्तीबाट जो हरगन हैरान भइन् र यस्ता क्रियाकलापलाई बदल्ने संकल्प लिइन् । फ्रान्सको एक ठूलो कस्मेटिक कम्पनी लोरियलको प्रोजेक्ट म्यानेजरको रुपमा काम गर्ने उनले नोकरी नै त्यागिन् । उनले आफ्नो घर बेचिन् र आफ्नै पसल खोलिन् ।

मेक्का नामको यस कस्मेटिक बुटिकबाट नार्स र अरबन डिके जस्ता राम्रा कम्पनीका मेकअपका सामाग्री बिक्री हुन्छ । साथै सामानको राम्रो र नराम्रो पक्षबारे स्पष्टरुपमा ग्राहकलाई जानकारी दिइन्छ ताकि ग्राहक आफैंले सोच समझदारीका साथै निर्णय लिउन् ।

सन् १९९७ मा यो बिल्कुल नयाँ कन्सेप्ट थियो । यसैको कारण यसको लोकप्रियता यति धेरै बढ्यो कि केबल दुई दशकमा अस्ट्रेलिया र न्यूजिल्याण्डमा मेक्काका ८७ स्टोर खुले । यसबाट बर्सेनि २८७ मिलियन अस्ट्रेलियाई डलर कमाइ हुन्छ ।

सही समयमा सही मौका पहिल्याएकी जो होरगन अस्ट्रेलियाको व्यूटी इन्डस्ट्रीमा सबैभन्दा ठूलो स्थान प्राप्त गर्नेमध्येकी एक हुन् ।

जब आमाको सिंगारपटार देखिन्

उनको बाल्यकाल लण्डनमा बितेको थियो । त्यहाँ उनले आफ्नी आमाले सिंगार पटार गरेको देखेकी थिइन् । मेकअपमा त्यति बेलादेखि नै उनको मन बस्यो ।

उनी भन्छिन्, ‘हामी हाम्रो पुराना डिजाइनको ड्रेसिङ टेबुलमा बसेर कुरा गर्थ्यौं । त्यो हाम्रोलागि निकै खास समय हुन्थ्यो ।’

जब होरगन १४ वर्ष पुगिन्, उनको परिवार लण्डन छाडेर अस्ट्रेलियाको पर्थमा बस्न थाल्यो । आफ्नो उमेरका सबै केटीहरुजस्तै जोलाई पनि मेकअप मन पर्थ्यो तर उनले सोचेकी थिइनन् कि मेकअपलाई नै करियर बनाउँछु भनेर ।

पर्थको स्कुलको पढाइ सकेपछि जो पश्चिमी अस्ट्रेलियाबाट अंग्रेजी साहित्य पढिन् । फेरि अमेरिकाको बोस्टन विश्वविद्यालयबाट कम्युनिकेसनमा मास्टर्स गरिन् । त्यसपछि उनले लण्डनमा लोरियल कम्पनीबाट काम सुरु गरेकी थिइन् । पछि उनको सरुवा मेलबर्नस्थित अफिसमा भयो ।

जोका अनुसार उनले लोरियललाई मेकअपको कारणले नभइ मार्केटिङ सिक्नका लागि चुनेकी थिइन् । उनी भन्छिन्, ‘लोरियलको जागिर निकै अप्ठेरो थियो । त्यसमा सुरुआतदेखि नै नतिजा दिन दबाव थियो र कुनै प्रकारको सम्झौता हुँदैनथ्यो ।’

जुन समयमा जो लोरियल कम्पनी छाडेर मेक्का खोल्ने निर्णयमा पुगिन् उनको उमेर केबल २९ वर्ष थियो । जोका अनुसार उनको उमेर उनका लागि फाइदाजनक नै रह्यो किनकी उनलाई थाहा थियो कि युवाहरुलाई के चाहिन्छ भन्ने कुरा ।

‘म आफै ग्राहक थिएँ । जब तपाईं ग्राहकलाई राम्रोसँग जान्नुहुन्छ भने काम अझै सजिलो हुन्छ,’ जो भन्छिन् ।

तर सधैं सहज हुँदैन यात्रा


मेक्का शुरु गरेको केही वर्षपछि नै अस्ट्रेलियन डलरको मूल्यमा गिरावट आयो जसको कारण विदेशी कम्पनीको सामान खरिद गर्दा महंगो पर्न गयो । यसको सीधा घाटा जोलाई पर्‍यो । उनी सम्झिन्छिन्, ‘त्यो निकै मुस्किल समय थियो, किनकी तपाईं आफै दुई गुणा मूल्य दिएर सामान किन्नु हुन्छ तर आफ्ना ग्राहकहरुलाई भन्न सक्नु हुँदैन की माफ गर्नुहोला, हामीले यस सामानको मूल्य बढाउनु पर्छ भनेर ।’

यसबाट ठूलो पाठ सिकेको बताउँदै जो भन्छिन्, ‘फर्किएर हेर्‍यो भने त यो एक पुरस्कारको सामान थियो । यसबाट मेरो दिमागमा अविश्वसनीय धार मिल्यो । मलाई थाहा भयो कि आफ्नो व्यापार जारी राख्नका लागि मलाई के परिवर्तन गर्नुपर्छ भनेर ।’

जोले करिब डेढ दशकसम्म बजारमा एकछत्र राज गरिन् । तर सन् २०१४ मा सफोरा अस्ट्रेलिया प्रवेश गरेपछि उनी सामू एक ठूलो चुनौति आइलाग्यो ।

सफोरा फ्रान्सको निकै ठूलो व्यापारीक समूह एलभीएमएच (लुई विताm मोवेत एनेसी)को स्टोर हो जसमा ठूला कम्पनीहरुका सौन्दर्य सामग्री पाइन्छ । अस्ट्रेलियामा सफोराका १३ स्टोर छन् ।

तर जोलाई डर लागेन । उनी भन्छिन्, ‘हाम्रो उद्देश्य प्रतिस्पर्धामा धेरै समयसम्म टिकीरहने र त्यसलाई माथ दिने हो ।’

२००१ मा नै इन्टरनेटमा आइसकेको उनको कम्पनी मेक्कालाई छिटो सुरुआत गर्नेको फाइदा पनि मिल्यो । मेक्काको वेबसाइट हरेक महिना ९० लाख पटक हेरिन्छ । यसका अलावा फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सन्जालमार्फत् पनि प्रचार हुन्छ ।

जो होरगनका अनुसार प्रतिस्पर्धालाई माथ दिनका लागि उनले सबैभन्दा पहिले ग्राहक सेवालाई अझै राम्रो बनाउने नीति लिइन् । यसका लागि कम्पनीले आफ्नो टर्नओभरको तीन प्रतिशत आफ्ना २५ हजारभन्दा धेरै कर्मचारीहरुलाई तालिम दिन खर्च गर्‍यो ।

कम्पनीमा पतिको साथ


जोका पति पीटर वेटनहलले पनि सघाउँछन् । उनी २००५ मा कम्पनीमा को–चिफ एक्जिक्युटिभ बने ।

जो र पिटरको चिनजान हार्वर्डमा पढ्ने बेला भएको थियो । हाल उनीहरुका दुई सन्तान छन् ।

जोका अनुसार उनी आफ्नो पतिलाई सहायक कार्यकारी प्रमुखको रुपमा लिन्छिन् किनकी उनीहरु दुवै कम्पनीमा आफ्नो–आफ्नो तरिकाले योगदान गर्दछन् ।

उनी स्पष्टताका साथ भन्छिन्, ‘म राम्रो बोस होइन । मलाई थाहा छ यस्ता धेरै काम छन् जो म राम्रोसँग गर्न सक्दिनँ ।’

उनी थप्छिन्, ‘म ति क्षेत्रबारे जानकारी भएकाहरुलाई राख्छु र उनीहरुलाई पनि त्यसैगरी अगाडि बढ्ने अवसर दिन्छु, जसरी मैले सिकें ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment