Comments Add Comment

बुटवलमा सडक मिचेका घर भत्काउन सुरु, ३ सय सुरक्षाकर्मी परिचालन

१२ वैशाख, बुटवल । पटक-पटकको आग्रह अटेर गरेपछि बुटवल-बेलहिया ब्यापारिक मार्ग आयोजनाले सडक क्षेत्र मिचेर घर/संरचनाहरु डोजरको प्रयोग गरेर भत्काउन सुरु गरेको छ ।

बुटवलको नयाँ बसपार्कबाट सुरु भएको घर भत्काउन तीन सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बैशाख ४ गते आयोजनाले डोजर चलाउन थालेपछि घरधनीले अन्तिमपटकका लागि भन्दै एक हप्ताको समय मागेका थिए ।

एक हप्ताको समय हिजो सकिएको थियो । अघिल्लोपटक डोजर चल्न थाल्दा विरोधमा उत्रिएका घरधनीहरु आज भने चुपचाप देखिए । घर भत्किने जानकारी हुँदा पनि व्यवसायीहरु भने पसल सञ्चालन गरेर बसिरहेका थिए । एक्कासी आयोजनाका कर्मचारी सुरक्षाकर्मीलाई लिएर जाँदा व्यवसायीहरु अन्योलमा परेका थिए ।

राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको साढे तीन किलोमिटर सडक खण्डमा तीन सय २५ घर सडक क्षेत्र मिचेर बनेका छन्् । सडक मिचेर बनेका सबै संरचना हटाउन केही दिन लाग्ने आयोजना प्रमुख जिवेन्द्र मिश्रले बताए ।

अहिले ४ लेन फराकिलो सडकलाई ६ लेनमा विस्तार गर्ने प्रक्रिया सुरु गरेसंगै घरधनीहरुले विस्तार रोक्न कहिले अदालत, कहिले सरकार त कहिले दलहरुको शरणमा पुगेर अवरोध सिर्जना गर्दै आएका थिए ।

दुई हप्ताअघि घरधनीको पक्षमा प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी तथा चार वटा व्यवसायिक संस्थाले विज्ञप्ति निकालेर सडक विस्तार रोक्न माग गरेका थिए । उनीहरुले रुपन्देही २ का प्रतिनिधिसभा सदस्य एवं एमाले उपमहासचिव विष्णु पौडेललाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

यो सडकमा २ लेयर अर्थात १० सेन्टिमिटर कालोपत्रे थपिने छ । दायाँ बायाँ १-१ लेनको सर्भिस लेन र नाली पनि बनाइने छ । कुल ५० मिटर सडक क्षेत्रमध्ये बीचमा डिभाइडर, दायाँ बायाँ साढे १०-साढे १० मिटर चौडाइको मुख्य लेन, त्यसबाहिर ६-६ मिटरको सर्भिस लेन हुने छ ।

बाँकी फुटपाथ र नाली हुनेछ । ३० महिनामा सडक विस्तार सम्पन्न गर्नुपर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ । यसको कुल लागत ४२ करोड रुपैयाँ अनुमान गरिएको छ ।

बुटवल-बेलहिया ६ लेनको सडक निर्माण गर्न हालसम्म निर्माण व्यवसायीहरूलाई ३ अर्ब ७५ करोड भुक्तानी दिइसकेको आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०६८/६९ देखि निर्माण सुरु भएको यो सडकको ११ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।

करिब १३ किलोमिटर सडक निर्माण हुन बाँकी छ । आर्थिक वर्ष २०७०/७१ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालदेखि बुटवल राजमार्ग चौराहादेखि बेलहिया नाकासम्म २४ किलोमिटर सडक निर्माण सुरु भएको थियो ।

व्यापारिक मार्ग विस्तार आयोजनाका लागि ३ अर्ब ३ करोड ८३ लाखमा ठेक्का दिइएको थियो । आर्थिक वर्ष २०७३/७४ देखि राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर सडक आयोजनामा थपिएको हो ।

योसमेत गरी ५ अर्ब ८६ करोड रुपैयाँमा बुटवलदेखि बेलहिया नाकासम्मको साढे २७ किलोमिटर सडक ६ लेनको बनाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment