Comments Add Comment

बृद्धबृद्धा हुन् घरको गहना, यसरी गरौं हेरचाह


हामी देख्छौं, बृद्धबृद्धाहरु पट्यारलाग्दो दिनहरु बिताइरहेका । उनीहरुसँग कुराकानी गर्ने फुर्सद कसैलाई हुँदैन । बृद्धबृद्धासँग भलाकुसारी गर्ने, उनीहरुको कुरा सुन्ने, उनीहरुको दुख-सुख बुझ्ने, उनीहरुलाई खुसी बनाउने, उनीहरुलाई मिठो-मसिनो ख्वाउने काममा हामीलाई जाँगर चल्दैन । किनभने हामीलाई लाग्छ, बृद्धबृद्धा बोझ हुन् । उनीहरुलाई समय दिनु वा स्यहारसुसार गर्नु व्यार्थ छ ।

बृद्धबृद्धासँग समय बिताउनका लागि हामीसँग समय नै हुँदैन । उनीहरुसँग बस्दा हामीलाई ‘बोर’ लाग्छ । कुरा गर्नु ‘झ्याउ’ लाग्छ । बृद्धबृद्धासँग बस्दा दिक्क लाग्छ ।

कस्तो होला बुढ्यौली ?

जबकी हामी पनि उसैगरी बयस्क हुन्छौं । प्रौड हुन्छौं । हाम्रो छाला चाहुरिन थाल्छ । हातखुट्टा गल्न थाल्छ । आँखाको दृष्टि धमिलिन थाल्छ । हाड-जोर्नी दुख्न थाल्छ । हिँडडुल गर्न कठिन हुन्छ ।

यस्तो अवस्थामा तातो पानी पिउन मन लाग्छ । तातो जाउलो खान मन लाग्छ । न्यानो घाम ताप्न मन लाग्छ । बगैंचामा टहल्न मन लाग्छ । मनका कुराहरु वा आफुले भोगेको, देखेको, बुझेको कुरा सुनाउन मन लाग्छ । तर, आफ्ना सन्तानहरु टाढा भइदिन्छन् । उनीहरु आफुसँग भेट्न, कुरा गर्न आउदैनन् ।
यस्तो अवस्थामा पक्कैपनि बुढ्यौली पट्यारलाग्दो हुन्छ । परिवारका सदस्यहरु आफुसँग झ्याम्मिदैनन् । खेल्दैनन् । रमाउँदैनन् । त्यसैले बुढ्यौली जीवन आफैलाई बोझिलो लाग्न सक्छ । उदास लाग्नसक्छ । पट्यारलाग्दो लाग्नसक्छ ।

बुढाबुढी बोझ होइन गहना हुन्

बुढाबुढी बोझ होइनन् । उनीहरु घरका गहना हुन् । जुन घरमा बुढाबुढी हुन्छन्, त्यहाँ बेग्लै रौनक हुन्छ । बुढाबुढीकै कारण घर उज्यालो हुन्छ ।
उनीहरुले परिवारका सदस्यलाई सही मार्गदर्शन दिन्छन् । पारिवारिक संस्कारको पालना गराउँछन् । सबैलाई सन्तुलित र संयमित राख्छन् । न्यायोचित ढंगले कार्यबिभाजन गरिदिन्छन् । चाडपर्व, कार्जे आदिलाई विधीपूर्वक सम्पन्न गराउँछन् ।

बुढाबुढीसँग आफ्नो जीवन-भोगाईको अथाह अनुभव हुन्छ । विभिन्न उतार-चढाव झेलेका उनीहरुले जीवनलाई कसरी सन्तुलित र संयमित राख्ने भन्ने कुरा सिकेका हुन्छन् । जीवनमा आइपर्ने दुख, सुखमा कसरी सम्हालिने भन्ने कुराको अनुभव गरेका हुन्छन् । धेरै कुरा देखेका हुन्छन् । धेरै कुरा सुनेका हुन्छन् । धेरै कुरा भोगेका हुन्छन् । धेरै कुरा जानेका हुन्छन् ।

बुढाबुढी आफैमा एक विश्वविद्यालय

उनीहरुले भोगेका, बुझेका, सिकेका कुरा भावी पुस्ताको लागि सम्पति हो । जब हामी बुढाबुढीसँग बस्छौ, नजिकिन्छौं, कुराकानी गर्छौ तब धेरै कुरा बुझ्ने अवसर प्राप्त गर्छौं । बुढाबुढीको जीवन-भोगाइ हाम्रो निम्ति अमूल्य पाठ हुनसक्छ । वास्तवमा बुढाबुढी आफैमा खुला विश्वविद्यालय हुन् ।
बुढाबुढीसँग टाढा हुने वा औपचारिकता मात्र निर्वाह गरेर उनीहरुबाट पन्छिने होइन, बरु नजिकिनुपर्छ । उनीहरुलाई सुन्ने, बुझ्ने प्रयास गर्नुपर्छ । वास्तवमा बुढाबुढीबाट हामीले यस्ता ज्ञान/अनुभव आर्जन गर्न सक्छौं, जो कुनै पुस्तकमा खोजेर भेटिदैन ।

के उनीहरु दिक्कलाग्दो हुन्छन् ?

तपाई/हामीले अनुभव गरेका छौं, जब शरीरमा कुनै समस्या हुन्छ, हामीलाई झर्को लाग्छ । दिक्क लाग्छ । मन बेचैन हुन्छ । अरुले बोलेको, हासेको कुरामा पनि हामीलाई नरामाइलो लाग्छ ।

बुढ्यौलीमा त्यसै शरीर सिथिल हुन्छ । कतिपय अंगहरुले राम्ररी कार्य-संचालन गर्दैन । दीर्घ रोगहरुले गाँज्छ । त्यसमाथि उर्जा, उमंग, उत्साह हराउँदै जान्छ । यस्तो अवस्थामा बुढाबुढीहरुले दिक्क मान्नु, झर्को मान्नु स्वभाविक होइन र ?

तर, हामी भन्छौं, ‘ह्या, कति गनगन गर्नु परेको होला ?’

जबकी यो शारीरिक कमजोरी, अस्वस्थ्यताको कारण भएको हो भनेर हामी बुझ्दैनौ । वा बुझ्ने कोशिस गर्दैनौं ।
बुढ्यौली अवस्थाको समस्या, परिस्थिती, प्रवृत्तिलाई बुझेर हामीले त्यही अनुसार बुढाबुढीसँग सौहार्द्धपूर्ण व्यवहार गर्नुपर्छ । उनीहरुलाई सम्मान गर्नुपर्छ । प्रेम गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment