१२ वैशाख, काठमाडौं । चीनबाट तस्करीको सुन नेपाल पठाउने मुख्य व्यक्ति मध्येकी एक चिनियाँ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
चीनबाट नेपाल आउने क्रममा ४० वर्षकी उनलाई प्रहरीले मंगलबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
०७४ भदौ १४ गते काठमाडौंको सामाखुशीबाट बरामद गरिएको १४ किलो सुन तस्करीमा उनको संलग्नता देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ ।
उनी धेरै पटक नेपाल आउने जाने गरिरहने र चीनबाट राजकुमार पौडेलको सम्पर्कमा रहेर नेपालमा सुन पठाउने गरेको सीआईबीले जानकारी दिएको छ । प्रहरीले १४ किलो सुन तस्करीमा उनको संलग्नताको आशंकामा अनुसन्धान अघि बढाएको छ ।
उक्त मुद्दामा प्रहरीले ७ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । हाल सो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको छ । चिनियाँ नागरिक जेझोङ मुद्दाका मुख्य फरार प्रतिवादी हुन् ।
प्रहरीले उनीविरुद्ध संगठित अपराध (अवैध सुन ओसार पसार) मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया 4